काठमाडौं । नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ताहाचलस्थित होटल ह्यात प्यालेसमा शनिबार सम्पन्न साधारण सभाले सबै पक्ष मिलेर विज्ञापन बजारलाई चलायनमान बनाउने निष्कर्ष निकाल्दै साधारण सभा सकिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साधारण सभा तीन सत्रमा सञ्चालन भएको थियो । पहिलो सत्रमा संघका महासचिव र कोषाध्यक्षले छुट्टा-छुट्टै वार्षिक तथा आर्थिक एवम् आगामी वर्षको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा ‘स्टेइंग रेलिभेन्टः रिसेपिङ नेपाल्स एडभरटाइजिङ ल्यान्डस्केप’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
अन्तर्क्रियामा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल, नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापा लगायतले आ–आफ्नो क्षेत्रबारे धारणा राखेका थिए ।
वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरेका थिए।
विज्ञापन व्यवसायी तथा मिडियाहरू समय सापेक्ष रुपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरूले पनि विज्ञापनलाई खर्चभन्दा लगानीको रुपमा लिनु पर्ने र विज्ञापनले गर्दा मिडियाहरूलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरूले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीति लगायत विज्ञापनलाई बन्देज गर्ने कानुनहरूलाई समेत पुनर्विचार गर्न सम्बद्ध सबै पक्षहरूले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निश्कर्ष र प्रतिबद्धता भएका थिए।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानका अध्यक्ष आर के मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अवस्थामा आइपुग्न उनीहरूले आ–आफ्नो क्षेत्रबाट गरेको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी वर्षेनी एड फेष्टको अवसरमा थाइल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगायत एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरूका प्रतिनिधिहरूबीच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँचभित्र पर्न सफल भई विश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रशन्न श्रेष्ठ र साइष्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।





























प्रतिक्रिया