काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) का सदस्य कुवेरमणि नेपालले नेपालमा सौर्य ऊर्जा उत्पादनको सम्भावना अथाह रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा ग्रीड जडित सौर्य विद्युतकाे सम्भावना, अवसर तथा चुनौतीका विषयमा आफ्नो प्रस्तुति दिँदै सदस्य नेपालले यस्तो बताएका हुन् । ‘सौर्य ऊर्जा उत्पादनको सम्भावनाबारे अहिलेसम्म स्पष्ट नीति छैन, यसका बारेमा सरकारले खासै चासो दिएको देखिँदैन, यसको उत्पादनलाई बढाएर दिउँसोको पिक समयमा प्रयोग गर्न सकिन्छ,’ उनले भने ।
१.५ विद्या जमिनमा १ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना गर्न सकिने नेपालले बताए । उनका अनुसार १ मेगावाट सौर्य विद्युत् आयोजनाबाट १४ लाख ५० हजार देखि २ लाख युनिट विद्युत् उत्पादन हुन्छ । सौर्य आयोजनाबाट तापक्रम क्रम र खुल्ला आकाश भएको समयमा बढी विद्युत् उत्पादन हुने गर्छ ।
नेपालले अहिलेको अवस्थामा ११८८.९४ मेगावाटको सौर्य आयोजना उत्पादन साथै विभिन्न चरणमा रहेको जानकारी दिए । नेपालमा अहिले २१ वटा आयोजनाबाट १०६.७४ मेगावाट सौर्य विद्युत् ग्रीडमा जडान छ ।
यस्तै, ६ वटा सौर्य आयोजनाहरू अहिले निर्माणाधीन चरणमा छन् । उक्त आयोजनाको काम सम्पन्न भएपछि उक्त सौर्य आयोजनाबाट ५१.७ मेगावाटको विद्युत् उत्पादन हुनेछ ।
यसैगरी ७१.५ मेगावाट सौर्य उत्पादन गर्ने क्षमताको ८ वटा आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)को पर्खाइमा रहेको नेपालले जानकारी दिए । अहिलेको अवस्थामा ९९ वटा आयोजना नेपाल विद्युत प्राधिकरणसँगको सम्झौता र साझेदारीको पर्खाइमा छन् ।
सो आयोजनाले करिव ९६० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताइएको छ । यी सबै सौर्य ऊर्जा सञ्चालनमा आएको खण्डमा वार्षिक १३ अर्ब बढी आम्दानी हुने नेपालले जानकारी दिए ।
नेपालमा सौर्य विद्युत् स्थापित क्षमता १४ करोड ३१ लाख २० हजार ८३४ मेगावाट रहेको छ । नेपालको कुल क्षेत्रफलको ०.५ प्रतिशत भूभागमा ४ लाख २९ हजार ३६२ मेगावाट गर्न सकिने नेपालको भनाइ छ ।
‘नेपालको खेती योग्य जमिनमा सौर्य आयोजना बनाउन पाइँदैन, यसलाई खेती योग्य जमिन नभएको ठाउँमा बनाउने हो, यसलाई कहाँ विकास गर्न सकिन्छ, त्यस्तो ठाउँको पहिचान गरी विकास गरे यसले ऊर्जामा नयाँ आयाम थप्छ ।’































प्रतिक्रिया