काठमाडौँ । हुन्डाईको क्रेटा ईभी नेपाली बजारमा छिट्टै उपलब्ध हुने भएको छ । कम्पनीले आफ्नो बेश भेरिएन्ट ‘एक्ज्युकेटिभ’ को बुकिङ खुला गरेको हो ।
आगामी जनवरी १७ मा हुने भारत मोबिलिटी एक्सपोमा लन्च गरिने तयारी भएको यसलाई डिलरहरूले २५ हजार भारु लिएर बुकिङ लिन थालेको जनाइएको छ ।
भारतमा लन्च भएलगत्तै सो नयाँ ईभी नेपाली बजारमा समेत आउनेछ । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माघ महिनाभित्रै क्रेटा ईभी ल्याउने गरी तयारी गरिरहेको छ । नेपाली बजारमा यसको कुन–कुन भेरिएन्ट आउँछ भन्ने विषय हालसम्म खुलाइएको छैन ।
क्रेटा ईभी ४२ र ५१।४ किलोवाट आवर क्षमताको ब्याट्री विकल्पमा उपलब्ध हुने जनाइएको छ । जसले क्रमशः ३९० र ४७३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै, लङ रेन्ज भर्सनले ७.९ सेकेन्डमा ०–१०० किमी प्रतिघन्टाको गतिमा स्प्रिन्ट गर्न सक्ने दाबी गरेको छ ।
सो नयाँ ईभीको ब्याट्रीलाई फास्ट चार्जर प्रयोग गरेर ५८ मिनेटमा १० देखी ८० प्रतिशत र ११ किलोवाटको स्मार्ट कनेक्टेड वाल बक्स चार्जर प्रयोग गरेर ४ घण्टामा १० देखि १०० प्रतिशत चार्ज गर्न सकिन्छ । भेहिकल टु लोड समेत उपलब्ध यस कारले प्रयोगकर्ताहरूलाई बाह्य उपकरणहरू पावर गर्न सक्षम पार्छ ।
एक्जिक्यूटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स गरी कुल चार भेरिएन्टमा उपलब्ध हुने सो विद्युतीय एसयूभीमा सिफ्ट–बाय–वायर प्रणाली रहेको छ । डिजिटल चाबीका साथ आउने यसले प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोन वा स्मार्टवाच प्रयोग गरेर गाडी लक, अनलक र स्टार्ट गर्न अनुमति दिन्छ ।





























प्रतिक्रिया