विराटनगर । नेपाल डिस्टिलरीज प्रा.लि. (एनडीपीएल)ले एक बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दिगो विकास प्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न निरन्तर क्रियाशील छ ।
गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवा क्षेत्रभित्रका समुदायहरूमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन क्रियाशील रहेको छ ।
किसानहरूलाई उत्पादकत्व र लचिलोपन सुधार गर्न दिगो कृषि प्रविधिहरूको ज्ञानको विकास गर्ने उद्देश्यले २०८१ मंसिर १० र ११ गते एनडीपीएलले विराटनगर र सर्लाहीको लालवन्दीमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरेको थियो ।
विराटनगरमा सञ्चालित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश योजना आयोगका सदस्य, विराटनगर महानगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति भएको थियो । त्यसै गरी लालवन्दीमा भएको कार्यक्रममा लालवन्दी नगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति भएको थियो ।
कार्यक्रममा सहभागीहरुले स्थानीय कृषकहरूका समस्या तथा चुनौतीहरू सामना गर्न आवश्यक सहयोग एवं यस प्रकारका क्षमता अभिवृद्धि तालिम प्रभावकारी हुनेतर्फ जोड दिएका थिए । उपस्थित प्रमुख व्यक्तित्वहरुले एनडीपीएलले गरेको पहलहरूको मुक्तकण्ठले प्रशंसा गरेका थिए । कार्यक्रमलाई किसानहरूले आफ्नो कृषि प्रविधिलाई सुधार गर्ने अवसरको रूपमा लिँदै सक्रिय रूपमा सहभागिता जनाएका थिए।
तालिममा सहभागी ८० जना कृषकहरूलाई कृषि उत्पादकत्व र लचिलोपन सुधार गर्न आवश्यक सीप र ज्ञान हासिल गर्ने अपेक्षा राखिएको छ । यस कार्यक्रमले दिगो खाद्य उत्पादन प्रणाली र लचिलो कृषि प्रविधिहरूमा जोड दिँदै किसानहरूलाई वातावरणीय रूपमा स्वस्थ र जलवायुमैत्री अभ्यासहरू अपनाउन सशक्त बनाएको थियो। यस पहलले एनडीपीएलको स्थानीय समुदायहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन र दिगो विकासप्रतिको प्रतिबद्धताबारे चेतना बढाउन भूमिका खेल्ने विश्वास गरिएको छ।
यस्ता कार्यक्रम मार्फत् एनडीपीएलले सुधारिएको कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने, आय वृद्धि गर्ने र सामुदायिक लचिलोपनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। थप उत्पादनशील र दिगो कृषि प्रणालीहरू निर्माण गरेर एनडीपीएलले हरेक किसानहरूको जीविकोपार्जनमा योगदान दिँदै दीर्घकालीन खाद्य सुरक्षाको क्षेत्रसँगै नेपालका केही कमजोर समुदायहरूमा गरिबी न्यूनीकरणमा समेत योगदान दिइरहेको छ।





























प्रतिक्रिया