मेक इन नेपाल र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो आजबाट सुरु, स्वदेशी उत्पादन प्रवर्द्धन हुने विश्वास

मेक इन नेपाल र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो आजबाट सुरु, स्वदेशी उत्पादन प्रवर्द्धन हुने विश्वास

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । भृकुटीमण्डपमा ‘मेक इन नेपाल एक्स्पो–२०८१’ तथा ‘नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो–२०२५’ आजबाट सुरु भएको छ । नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा उक्त मेला सञ्चालन भएको हो ।

माघ १२ गतेसम्म सञ्चालन हुने यो मेलाकाे उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका थिए । उद्घाटनको क्रममा मन्त्री भण्डारीले मेलाले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘स्वदेशी उत्पादनको ब्रान्डीमा हामी चुकी रहेका छौं, उत्पादन बढाउँदै यसको ब्रान्डमा पनि ध्यान दिन आवश्यक, उत्पादन बढाउन र उद्योगको संरक्षण र विकासमा सरकार फोकस छ,’ उनले भने ।

यस्तै, नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै ‘हाम्रै सामान, हाम्रै स्वाभिमान’ अभियानलाई अघि बढाउने उद्देश्य राखेर मेला आयोजना गर्ने भएको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार मेक इन नेपाल एक्स्पाेले नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । १५० भन्दा बढी स्वदेशी स्टलहरू रहको उक्त मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरू रहेका छन् ।

त्यसैगरी, नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो– २०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा नीति निर्माताको पनि सहभागिता रहने लामिछानेले जानकारी दिए ।

प्रदर्शनीले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुर्याउने आयोजक टिमले विश्वास लिएको छ । आयोजना अवधिभर आयोजक टिमले मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखेको छ भने अवलोकनर्ताहरुको लागि प्रवेश निःशुल्क छ ।

शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि, र घरेलु उत्पादनको विशेष स्टलहरू रहेका यस मेलालाले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुर्याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धिको दिशामा नयाँ आयाम विश्वास लिइएको छ ।

Logo