काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग क्षेत्रले उठाउँदै आएको तयारी वस्तु, कच्चा पदार्थमा भन्सार दरहरु पुनरवलोकन गर्न सकेमा उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ७३औं अन्तराष्ट्रिय विश्व भन्सार दिवसको उपलक्ष्यमा भन्सार सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपाल जस्तो आयातका आधारमा अर्थतन्त्र भएको मुलुकको लागि भन्सारले राजस्व मात्र संकलन गरेको हुँदैन । यसले समग्र मुलुकको आपूर्ती श्रृखंलामा पनि व्यवस्थित गरि लगानी प्रवद्र्धनलाई पनि उत्तिकै सहयोग गरिरहेको छ । धेरै वर्षदेखि उद्योग क्षेत्रले उठाउँदै आएको तयारी वस्तु, कच्चा पदार्थ र मध्यवर्दी वस्तुहरुलाई स्पष्ट गरि भन्सार दरहरु पुनरवलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिन्छ भन्ने महासंघको धारणा रहेको छ ।’
उनले भन्सारमा अन्तर्राष्ट्रिय मान्यता र प्रचलित कानून अनुसार कारोबार मूल्यको आधारमा वस्तु जाँचपास गर्न सकिने व्यवस्थाको पूर्ण कार्यान्वयन गरि सन्दर्भ मूल्यसूचीको आधारमा मूल्यांकन गर्ने विद्यमान परिपाटीको अन्त्य भएमा व्यवसायिक वातावरणको निर्माण भई निजी क्षेत्रको मनोबल वृद्धि हुने बताए ।





























प्रतिक्रिया