‘ट्रान्सफर्मर एसयूभी’ डिपल ई ०७ नेपाली बजारमा, कस्ता छन् विशेषता, कति छ मूल्य ?

‘ट्रान्सफर्मर एसयूभी’ डिपल ई ०७ नेपाली बजारमा, कस्ता छन् विशेषता, कति छ मूल्य ?

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपालका लागि डिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ डिपल ई ०७ सार्वजनिक गरेको छ । चिनियाँ ब्रान्डको उक्त ईभी गाडी कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली बजारमा सार्वजनिक गरेको हो ।

आधुनिक फिचर, आकर्षक डिजाइन भएको डिपल ई ०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन, नेपालमा डिपल इभीका ब्राण्ड एम्बेसडर पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा लन्च गरेका थिए ।

गाडीको सार्वजनिक क्रममा बोल्दै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको ईभी बजारमा डिपल एस ०७ र एल ०७ सफल भइसकेको बताए । ‘नेपालमा डिपल ब्रान्डका गाडी आएसँगै नेपाली बजारमा यसको उपस्थिति बढेको छ, ग्राहकहरूको रोजाइमा डिपलका सबै मोडलका गाडीहरू रोजाइमा पर्ने विश्वास छ,’ उनले भने ।

डिपल ई ०७ ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’मा उपलब्ध छन् । ‘रियरह्विल ड्राइभ भेरियन्ट’ मा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ । जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्ने छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने कम्पनीले बताएको छ ।

त्यसैगरी, अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ । यसमा २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्ज प्रयोग गर्न सकिने सुविधा पनि दिइएको छ ।

डिपल ई ०७को ह्विलबेस ३१२० एमएम रहेको छ । यसमा गाडीमा १३१ लिटरको फ्रंक स्पेस, ६०० केजी क्षमताको बुट र ‘अन्डर सिट स्टोरेज’ पनि रहेको छ । डिपल ई ०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ ।

कम्पनीका अनुसार गाडीमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ । जसले ‘ड्राइभिंग एक्सपिरियन्स’लाई राम्रो र सुरक्षित बनाउने कम्पनीको भनाई छ ।

सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘ पार्किङ असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ गाडीमा प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिंग’ रहेको छ । जसले ‘नेभिगेसन’ र पार्किङलाई सहज बनाउने बताइएको छ ।

सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध यस गाडीको मूल्य कम्पनीले ९९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

Logo