काठमाडौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केवलकार बन्नुहुँदैन र बन्नुपर्छ भन्ने पक्षबीच भइरहेको विवाद अझै किनारा लागेको छैन । सरकारले पटक–पटक ‘नो केवलकार’ पक्षधरहरुसँग वार्ता र छलफल गर्दा पनि विवाद सुल्झिनुको सट्टा झन् बल्झँदै गएको छ ।
माग १२ गतेदेखि राष्ट्रिय स्तरमै चर्चामा आएको केवलकार विवादमा स्थानीयवासीदेखि जनप्रतिनिधि बनाउनुपर्छ भन्ने पक्षमा देखिएका छन् । केवलकार बनाउनुपर्छ भन्ने पक्षमा ९९ प्रतिशत स्थानीयवासी नै रहेको जनप्रतिनिधिहरु बताउँदै आइरहेका छन् ।
पाथीभरामा केवलकार बन्नुपर्ने मुख्य आधारहरुः
– ताप्लेजुङलाई नेपालकै भ्रमण गर्नुपर्ने प्रमुख स्थलमध्येको एक धार्मिक तथा आध्यात्मिक पर्यटकीय केन्द्र तथा गन्तव्य स्थलको रुपमा विकास गरी पाथीभराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने ।
– पाथीभरा केवलकारले संस्कृति, परम्पराको प्रचार हुने, पाथीभराको महिमा बढ्ने र स्थानीय तथा बाह्य दर्शनार्थीहरुलाई भ्रमण गर्न सहज हुने ।
– पाथीभरा केवलकार निर्माणले भारी भोकेर, बदाम, सुन्तला र पानी बेचेर जीविकोपार्जन गर्न स्थानीयहरुलाई सरल र सहज तरिकाले आफ्नो व्यवसाय गर्न सक्ने वातावरण सिर्जना हुने ।
–ताप्लेजुङको मात्रै नभई कोशी प्रदेश लगायत समग्र देशको आर्थिक, पर्यकीय, रोजगारीको विकासमा टेवा पुर्याउने ।
–पाथीभरा केवलकार निर्माणले धर्म र जाती विशेष वा संस्कार संस्कृति एवं हाल निर्माण भइरहेका संरचनालाई थप मजबुत बनाउन सहयोग पुर्याउँछ ।
–केवलकारले आम नागरिकलाई पाथीभरा देवीको दर्शनलाई सहज बनाउने, अहिलेको तुलनामा तीन–चार गुणा तीर्थयात्री र पर्यटक भित्र्याउने, नागरिकको जीवनस्तर सुधार्ने, वातावरण र जैविक विविधता जोगाउने ।
– पाथीभरा केवलकारले स्वदेशमा रोजगारीको अवसर नपाएर विदेशिनु परिरहेको तीतो यथार्थ परिवर्तन गरी स्थानीयहरुको घरआँगनमै रोजगारीको अवसर सिर्जना गर्ने ।
– केवलकारले पाथीभरा जान चाहने वृद्धवृद्धा, अशक्त, बालबालिकासहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रामा गुणस्तरीय सेवा प्रदान गर्ने।
– पाथीभरा केवलकारले भौतिक विकाससँगै स्वाथ्य र शिक्षामा सकारात्मक परिवर्तन गरी समाजिक विकासमा अर्थपूर्ण योगदान पुर्याउने ।
केवलकार बन्नुपर्छ भन्ने पक्षधरहरुको धारणा

योगेश भट्टराई – सत्तारुढ दल एमालेका नेता तथा ताप्लेजुङको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा केवलकार ताप्लेजुङको विकासका लागि आवश्यक रहेका बताएका छन् । उनले केन्द्रविन्दुसँगको संवादमा भने, ‘पाथीभरा केवलकार निर्माण विवाद केही मानिसहरुको व्यक्तिगत स्वार्थ र कुण्ठाले भएको हो । त्यसलाई जातीयकरण र धार्मिक सांस्कृतिकरण गर्न खोजियो । केही व्यक्तिको निजी स्वार्थ पूरा गर्न समाजलाई गलत सूचना दिइ भड्काउने काम भएको छ, जुन विल्कुलै निन्दनीय छ ।’
विवाद उत्पन्न भएलगत्तै पनि पत्रकार सम्मेलन नै गरी १९ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरि होस् या अन्य कार्यक्रममार्फत सांसद भट्टराईले ताप्लेजुङको विकासका लागि पाथीभरा क्षेत्रमा केवलकार बनाउनुपर्छ भन्ने पक्षमा दृढ रुपमा आफ्नो धारणा राख्दै आएका छन् । उनले भनेका छन्, ‘पाथीभरा जस्तो पर्यटकीय क्षेत्रलाई सम्वद्र्धन र प्रवद्र्धनका लागि केवलकार बनाउन आवश्यक छ । युवालाई रोजगारी, वृद्ध, बालबालिकालाई निःशुल्क अनि ताप्लेजुङवासीलाई ५० प्रतिशत छुट दिन मैले माग राखेको छु । अहिले भारी भोकेर, बदाम, सुन्तला र पानी बेचेर जीविकोपार्जन गर्ने स्थानीयहरुले केवलकार निर्माण भएपछि सरल र सहज तरिकाले आफ्नो व्यवसाय गर्न सक्नेछन् ।’
रामहरी खतिवडा – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पाथीभरामा केवलकार निर्माणमा भइरहेको विवाद समाधान गर्न स्थानीय तहका जनप्रतिनिधि सबैसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए । उनले भने, ‘विकास निर्माणका काम अवरुद्ध गर्न मिल्दैन, जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका माग के–के छन्, स्थानीय तहमा सम्बोधन हुनुपर्यो । स्थानीय तहका मान्छेलाई बाहिरका मान्छेले उचालेर, स्थानीयभन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ ।’
‘सरकारले जबर्जस्ती पेलेर जानु हुँदैन । समस्याको समाधान भनेको वार्ता नै हो । स्थानीय तहका जनप्रतिनिधि सबैसँग छलफल गरेर एउटा निस्कर्षमा पुग्नुपर्दछ,’ उनले भने ।

लीलादेवी बोखिम लिम्बु – नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम लिम्बु पनि पाथीभरा केवलकार निर्माणको विषयलाई राजनीतिकरण गरेर विवाद सिर्जना गर्न आवश्यक नरहेको बताउँछिन् । पछिल्लो समय पाथीभरा केवलकार निर्माण विवादको विषयलाई समाधान गर्न सरकारले वार्ता टोली गठन गरेर अगाडि बढाइसकेकाले ‘नो केवलकार’ समूहले सकारात्मक रुपमा वार्तामा सहभागी भएर विवाद टुङ्ग्याउनु आवश्यक रहेको उनको भनाई छ ।
केन्द्रबिन्दुसँगको संवादका क्रममा ताप्लेजुङकै प्रतिनिधित्व गर्ने सांसद बोखिमले भनिन्, ‘ताप्लेजुङबाहिर बसेर पाथीभरामा केवलकार बन्नुहुँदैन भनेर टिप्पणी गर्नुको कुनै तुक छैन । केवलकारको महसुस ताप्लेजुङवासीले गरेका छन् । त्यसैले विरोध गरेर भन्दा पनि ताप्लेजुङवासीको आवश्यकता अनुसार विकासतर्फ लम्किनुपर्छ ।’
उनले थपिन्, ‘पाथीभरामा केवलकार निर्माणपछि ताप्लेजुङवासीको आर्थिक, पर्यकीय, रोजगारीको विकास हुने भएकाले आवेशमा आएर सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्नुभन्दा सम्बन्धित निकायसँग वार्ता गरेर टुङ्ग्याउनुपर्छ । पाथीभरामा केवलकार निर्माण भयो भने विकासका लागि ताप्लेजुङवासीले कुनै मन्त्रीको ढोका ढकढक्याउनु पर्ने अवस्था आउँदैन, यो कोशेढुंगा सावित हुन्छ । विकास निर्माका काममा अवरोध सिर्जना गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जान्छ । त्यसैले सकारात्मक ढङ्गबाट अगाडि बढ्न म ‘नो केवलकार’ समूहसँग आग्रह गर्न चाहन्छु ।’

मेयर अमिर मादेन – पाथीभरा केवलकारको विरोध गरेर ताप्लेजुङलाई समसानघाट बनाउन खोजिएको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन बताएका छन् । उनले केन्द्रविन्दु डट कमसँग टेलिफोन संवाद गर्दै जिल्ला बाहिरबाट आएर पहिचानवादीको खोल ओडर पाथीभरा केवलकारको विरोध गरि ताप्लेजुङलाई रणभूमिको मैदान बनाएको बताएका छन् ।
उनले भने,‘सतप्रतिशतमा ९९ प्रतिशत स्थानीय केवकालर बनाउनुपर्छ भन्ने पक्षमा छन् । च्याउ जस्तै उम्रेका पार्टीहरुले बाहिरबाट समूह–समूह बनाएर आफ्नो राजनीतिक स्वार्थका लागि केवलकारको विरोध गरिरहेका छन् । पाथीभरा केवलकारको विषयलाई अहिले राजेन्द्र महतोदेखि राजेन्द्र लिङ्देनसम्मका साना पार्टीका नेताहरुले राजनीतिक मञ्च बनाएका छन् ।’
उनले थपे, ‘पाथीभरामा केवलकार बन्नुपर्छ अथवा बन्नुपर्दैन भन्ने विषय यिनीहरुको सरोकारमा छैन । यिनीहरुलाई ८४ को चुनावका लागि भोट मागेर सरकारमा जाने बाटो चाहिएको छ ।’
सरकारले वार्ता, संवाद जे गरेपनि ‘नो केवलकार’ पक्षधरहरुले मान्दैनन् । अब पाथीभरा केवलकारको विवाद सुल्झाउन स्थानीय सरकारलाई अधिकार दिनुपर्ने उनकाे भनाइ छ ।
साथै सरकारी, निजी तथा गैरसरकारी सबै पक्षलाई ताप्लेजुङको समग्र अवस्था बुझेर केवलकार निर्माणमा सहयोग पुर्याउन उनको अपिल छ । ताप्लेजुङ बाहिर बसेर सामाजिक सञ्जालका माध्यमबाट टिकाटिप्पणी गरी केवलकारको विरोध गर्नुभन्दा ताप्लेजुङवासीको आवश्यकतालाई बुझेर वार्ता गर्न पनि उनले आह्वान गरेका छन् ।

चित्रगुप्त साँवा – ताप्लेजुङ जिल्ला सरोकार समितिका पूर्व अध्यक्ष एवं राजनीतिज्ञ तथा समाजसेवी चित्रगुप्त साँवाले केवलकार ताप्लेजुङवासीका लागि विकासको सूचक हुने बताउँछन् । उनले भने, ‘विकासले संस्कृति र परम्परा मास्दैन, बरु पाथीभराको प्रचार हुने, पाथीभराको महिमा बढ्ने र स्थानीय तथा बाह्य दर्शनार्थीहरुलाई सहज हुन्छ ।’
केन्द्रविन्दु डट कमसँग कुराकानी गर्दै उनले भने, ‘केवलकारको आवश्यकता ताप्लेजुङवासीले गरेका छन् । ताप्लेजुङमा घर भएका तर सहरतिर बस्दै आएकाहरुले विरोध गरेको सुहाएको छैन । पहिचानवादी त म पनि हो तर ताप्लेजुङको विकासका लागि हो । अहिले केवलकारको विषयलाई राजनीतिकरण गर्नु आवश्यक छैन ।’

छत्रपति प्याकुरेल – फुङलिङ नगरपालिकाका निवर्तमान मेयर छत्रपति प्याकुरेलले आफ्नो कार्यकालमा पाथीभरा केवलकारको विरोधको स्वर नरहेको बताए । उनले भने,‘मेरो कार्यकालमा पाथीभरा केवलकारको कसैले पनि विरोध गरेका थिएनन्। मेरो कार्यकालमा केवलकार निर्माण काम सुरु गरेको भए अहिलेसम्म बनिसक्थ्यो । तर निर्माण पक्षहरुले ध्यान दिएनन् । अहिले आएर विवाद सुरु भएको छ । मेरो विचार त केवलकार बन्नु नै पर्छ भन्ने हो ।’
‘केवलकारको विवाद स्थानीय र प्रदेश सरकार भन्दा माथि गइसकेको भएकाले अब केन्द्रिय सरकारले ‘नो केवलकार’ र केवलकार पक्षधरहरुसँग छलफल र वार्ता गरेर सुल्झाएर सहमतीमा केवलकार निर्माण गर्नुपर्यो ।’ उनले थपे ।

दिपेन पोमु – एमाले ताप्लेजुङ जिल्ला कमिटी कार्यवाहक अध्यक्ष दिपेन पोमु पनि केवलकारको विषय भन्दा बढि उचालिएको विषयका रुपमा लिन्छन् । उनले भने, ‘केवलकार विकासको आधार हो । तर, केवलकार बनाउने/नबनाउने विषय पेचिलो बन्दै गएको छ । यसलाई दुई पक्षीय वार्ता गरेर सहमति जुटाएर सकारात्मक रुपले केवलकार निर्माण गर्न आवश्यक छ ।’
यस्तै, सत्ता पक्षका कतिपय नेताहरुले केवलकारको विरोध गर्नुभन्दा सहज रुपमा सम्बन्धित निकायसँग वार्ता गर्न आग्रह गरेका छन् ।
केवलकार केबल यातायातको साधन मात्र हो -अध्यक्ष ढकाल

पाथीभरामा केवलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा मात्रै पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो। त्यसमा पनि करिब दुई वर्षअघि पाथीभरा केवलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ । केवलकार केबल यातायातको साधन बाहेक पाथीभरामा यसको कुनै भूमिका नरहेको उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘केवलकार केबल यातायातको साधन मात्र हो, जसले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता पुर्याउँछ । पाथीभरा देवी आस्थाको धरोहर भएकाले यहाँ केवलकार निर्माणले यहाँका कुनै धर्म र जाती विशेष या संस्कार संस्कृति एवं हाल भइरहेका संरचनामा केही असर गर्दैन बरु थप मजबुत बनाउन सहयोग पुर्याउँछ ।’
उनले थपे, ‘हुने खानेका लागि हेलिकप्टर चार्टर्ड गरी पाथीभरा मन्दिर पुग्ने व्यवस्था भएपनि आम नागरिकलाई पाथीभरा देवीको दर्शनलाई सहज बनाउने, अहिलेको तुलनामा तीन चार गुणा तीर्थयात्री र पर्यटक भित्र्याउने, स्थानीयलाई रोजगारी र स्वरोजगारीको अवसर सृजना गर्ने, नागरिकको जीवनस्तर सुधार्ने, वातावरण र जैविक विविधता जोगाउने उत्कृष्ट यातायातको एकमात्र माध्यम केवलकार हो । त्यसकारण यो पाथीभरामा आवश्यक छ ।’
केवलकार निर्माणमा अहिले स्थानीयले पूर्ण रुपमा साथ दिँदादिँदै पनि जिल्ला बाहिर वा मुलुकबाहिर बस्नेहरूले सामाजिक सञ्जालमार्फत अनावश्यक भ्रम फैल्याएको उनको गुनासाे छ । ‘हामी आयोजना निर्माण स्थल तथा समग्र ताप्लेजुङ जिल्लावासीका भावना र आवश्यकताको नजिकमा छौँ । विकासका काममा वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ ।’ उनले भनेका छन् ।
हाल पाथीभराका स्थानीयवासीहरु रोजगारीको खोजीमा विदेशिनु परिरहेको तीतो यथार्थ देखिन्छ भने अर्कातर्फ उनीहरूकै घरआँगनमा आउँदै गरेको रोजगारीको अवसरलाई विवादमा ल्याउने प्रयास भइरहेको छ । यस्तो अवस्थामा के राम्रो के नराम्रो भन्ने कुरा छुट्टाउन उनले जिल्लावासीलाई आग्रह पनि गरेका छन् ।
उनले भने, ‘परियोजनामा अवरोध हुँदा यसको सन्देश विश्वव्यापीरुपमै नकारात्मक रुपमा जान्छ । त्यसैले कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवालामा आग्रह गर्दछु ।’
पाथीभरा केवलकार विवादमा सत्तारुढ दल कांग्रेस–एमालेको धारणा
संसदकै ठूलो दल नेपाली कांग्रेस पाथीभरा केवलकार निर्माणले धार्मिक संवेदनशीलतामा आँच र्पुयाउन नहुने पक्षमा उभिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा गत शुक्रबार साँझ बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले पाथीभरामा केवलकार निर्माण गर्दा धार्मिक आस्थामा असर नपर्ने निष्कर्ष निकालेको हो ।
यस्तै, सत्तारुढ दल नेकपा एमालेले पनि पाथीभरा केवलकार निर्माणको विषयमा सरोकारवाला पक्षसँग छलफल गरी समस्या समाधान गर्ने निर्णय गरेको छ । यही आइतवार बसेको एमाले सचिवालयको बैठकमा पाथीभरा केवलकार विवादको विषयले स्थान पाएको थियो । बैठकपछि महासचिव शंकर पोखरेललले भने, ‘पाथीभराको सन्दर्भमा उत्पन्न विवादमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समस्यालाई समाधान गर्ने र केवलकार निर्माण प्रक्रियालाई सहज अगाडि विषयमा पार्टीले चासो राखेको छ । त्यही प्रकारले भूमिका खेल्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय पार्टीले गरेको छ । विवादलाई अन्त्य गरी सहज वातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेका छौं ।’

पाथीभरा मुकुम्लुङ केवलकार निर्माण सम्वन्धमा भएका निर्णयहरु
– २०७५ सालमा केवलकार निर्माणको लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रूख विरुवाहरू हटाउन स्वीकृति दिने गरी नेपाल सरकार (मन्त्रीपरिषद) को मिति २०७५/०९/१६ को निर्णय र सो निर्णयका आधारमा वन तथा भू–संरक्षण विभाग र आयोजनाबीच मिति २०७५/०९/२९ मा सम्झौता भएको देखिन्छ ।
– वन तथा वातवरण मन्त्रालयले मिति २०८०/५/२२ मा केवलकारको संरचना निर्माणक्रममा हटाउनुपर्ने १०,२३१ रूख हटाई तोकिए बमोजिम २ बर्षभित्र वृक्षारोपण सम्पन्न गर्ने, पाँचवर्षसम्म स्याहारसम्हार गर्ने लगाएत निर्णय गरी विभागलाई निर्णय कार्यान्वयनका लागि लेखी पठाएको र सोही अनुसार वन तथा भू–संरक्षण विभाग, बबरमहल, काठमाण्डौले च.नं. २८८ मिति २०८०/०५/२५ मा डिभिजन वन कार्यालयलाई पत्राचार गरी निर्णय कार्यान्वयन गर्न लेखी पठाएको देखिन्छ ।
– कोशी प्रदेश वन निर्देशनालय, धरान, सुनसरीबाट छपान चेकजाँच भई सो निर्देशनालयको च.नं. १७३ मिति २०८०/०८/२४ मा नियमानुसार गर्नु गराउनु हुन भनी पत्राचार भएको ।
– कटान मुछान गर्न वन डिभिजन कार्यालय ताप्लेजुङ र पाथीभरा दर्शन केवलकार प्रा.लि.वीच मिति २०८०/०८/२९ गतेको निर्णय अनुसार काफ्लेपाटीमा सुरक्षित साथ घाटगद्दी गर्ने गरी वन पेशी लिई कटान मल्लान गर्न अनुमति दिइएको ।
– वन डिभिजन कार्यालय ताप्लेजुङ, पाथीभरादेवि दर्शन केवलकार प्रा.लि. र श्री पाथीभरा सिम्बु सामुदायिक वन बीच मिति २०८०/०९/०६ मा त्रिपक्षीय सम्झौता भएको ।
– निर्माण पक्षलाई मिति २०८०/०९/१८ गते ऐ. फागुन मसान्तभित्र माथि उल्लेखित रूख विरुवाहरु कटान कार्य समाप्त गर्ने सक्ने गरी वन प्रवेश इजाजत पत्र (वन पेशी) समेत दिएको ।
– आयोजना स्थलको सुरक्षा समेतलाइ मध्यनजर गरी तत्कालिन सरकारले निर्णय गरी सशस्त्र प्रहरी वल नेपालको सुरक्षा वेश राख सशस्त्र प्रहरी वल नेपाल प्रधान कार्यालयलाई २०८०/१०/२ मा पत्राचार गरी हाल सप्र वल सुरक्षा वेश स्थापना भएको। यस सम्बन्धमा गृह मन्त्रालय (शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखा) च.नं. ११६२, मिति २०८०/१०/०२ को पत्रबाट सुरक्षा चौकी भवन तथा सुरक्षाकर्मीको आवास (भवन, खानेपानी, विजुली) लगायत पाथीभरा देवी दर्शन केबुलकार प्रा।लि।ले उपलब्ध गराउने शर्तमा उक्त निर्माणाधीन केवलकार आयोजनाको सुरक्षार्थ तत्कालका लागि बटम स्टेशनमा सशस्त्र प्रहरी बल, नेपालको वेश क्याम्प स्थापना गरी जिल्ला सुरक्षा समितिको निर्णयानुसार नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउन मिति २०८०/१०/०२ (मा.उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को निर्णयानुसार सशस्त्र प्रहरी बल नेपाललाई पत्राचार भएको। सोको बोधार्थ नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई दिएको ।
– कटान सहमति दिई २०८१/१/६ र ७ मा कोशी प्रदेश सरकार बन निर्देशनालय तथा ताप्लेजुङ डिभिजनले पत्र लेखेको ।
– केवलकार निर्माण ठेक्का सम्झौता भई मिति २०८१/०१/३१ गते अ. ०६ः०० बजेको समयमा जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं.१० स्थित कान्छी थानबाट निर्माण व्यावसायी ईन्द्र केदेमको १०० जना कामदार सहित रुख कटान, दुई पक्षवीच झडप। प्रशासनको हस्तक्षेप र निगरानी पछी स्थीति सामान्य भएको ।
– जिल्ला सुरक्षा समिति ताप्लेजुङको निर्णयबाट पर्यटक सुरक्षाको लागि ठूलोफेदीस्थित अप्रचौ स्तरोन्नति, काफ्लेपाटीमा पर्यटक प्रहरी र इप्रका स्थापना समेतको लागि सिफारिस निर्णय मुताविक २०८१/०५/२२ मा प्रनिको कमाण्डमा २४ जना तैनाथ र पर्यटक प्रहरी पोष्ट स्थापना भएको ।
– मिति २०८१/०७/२३ गते शिलान्यास सहितको कार्यक्रममा दुई पक्षवीच झडप। प्रशासनको समन्वय पछी स्थिति सामान्य भएको ।
– मिति २०८१/१०/१२ गतेका दिन फुङलिङ नपा ११ वल्लुडाडामा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो झडप भएको । सो घटनामा २१ जना प्रहरी घाइते भएका र दुइजना आन्दोलनकारीलाइ गोलि लागि घाइते भएकोमा तत्काल नेपालि सेनाको स्काइ भ्यानमार्फत काठमाडाैं ल्याइ उपचारको प्रवन्ध गरिएको । सबै उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गृह मन्त्रालयवाट भएको ।

वार्ता टोली गठन र प्रगति
– मिति २०८१/१०/२० गते पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँगसमेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव श्री प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको र गृह मन्त्रालयद्वारा आन्दोलनरत पक्षहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता लिई संवाद मार्फत समस्याको समाधान गर्न बिज्ञप्ति मार्फत अनुरोध गरिएको ।
– उक्त वार्ता टोलिले मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केवलकार खारेजी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समुह सहितको मुक्कुमलुङ तासेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिका प्रतिनिधिहरुका बिचमा विभिन्न ६ बुँदे सहमति भएको ।
– समझदारी अनुसार माघ २७ गते पुन बैठकमा बस्ने भनिएकोमा आन्दोलनरत पक्षबाट वार्तामा बस्न अस्वीकार ।
– २०८१/१०/२७ गते भएको वार्ताका क्रममा उठाईएका विषयहरुलाई गृह मन्त्रालयले सबै सरोकारवालाहरुमा बिज्ञप्ति मार्फत जानकारी गराएको साथै पाथीभरा क्षेत्रमा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत पक्षलाई अनुरोध गरेको ।
– ‘नो केवलकार’ समुह र बिभिन्न राजनैतिक दलहरुले माघ २८ गते बिज्ञप्ति जारी गर्दै बिभिन्न संघर्षका कार्यक्रमहरु सार्वजानिक गरेको ।
– ‘नो केवलकार समुह र बिभिन्न राजनैतिक दलहरुले माघ २८ गते बिज्ञप्ति जारी गर्दै बिभिन्न संघर्षका कार्यक्रमहरु सार्वजानिक गरेको ।
– मिति २०८१/११/०८ गते भएको झडपमा सुरक्षाकर्मी ११ जना र प्रदर्शनकारी तर्फ १ जना र सवारी चालक १ जना घाईते भएको ।
– मिति २०८१/११/१० गते राँके जुलुस नियन्त्रण गर्ने क्रममा झडप हुँदा नेपाल प्रहरी तर्फ ११ जना घाईते भएको र आन्दोलनकारी तर्फ १२ जना घाईते भएको ।
– केवलकार निर्माण कार्य हाललाई स्थगन गर्ने र आन्दोलनरत पक्षलाई वार्तामा आउन मिति २०८१/११/१२ गते वार्ता टोलीबाट पुनः आह्वान गरिएको ।
– उक्त घटना पश्चात ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट मिति २०८१/११/११ गते निषेधाज्ञा जारी भई मिति २०८१/११/१३ गते राती ११ बजेबाट अन्त्य भएको ।
–उक्त घटनापश्चात ‘नो केवलकार’ पक्षधरहरुलाई सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।





























प्रतिक्रिया