ग्यासको विकल्प बन्दै इन्डक्सन, रिप्लेसको सम्भावना कति ?

ग्यासको विकल्प बन्दै इन्डक्सन, रिप्लेसको सम्भावना कति ?


काठमाडौं । नेपालमा इलेक्ट्रिक सामानको प्रयोगले व्यापकता पाइराख्दा खाना पकाउने चुलो पनि बिस्तारै इलेक्ट्रिकमा कन्भर्ट हुन थालेको छ । इन्डक्सन चुलोबाट कम ऊर्जा खर्चिनुका साथै बजारमा उचित मूल्यमा उपलब्ध हुनाले उपभोक्ताबीच यसले प्राथमिकता पाउँदै गएको हो ।

अहिले ग्याससँगै सबैको भान्सामा इलेक्ट्रिक चुलो हुन थालिसकेको अवस्थामा यसको बजार माग पनि बढ्दो रहेको व्यवसायीहरू बताउँछन् । न्यूरोडका व्यापारी आसिस महर्जनले आफ्नो पसलबाट दैनिक ३/४ वटा इलेक्ट्रिक चुलो बिक्री गर्दै आएको जानकारी दिए ।

‘बजारमा अहिले विभिन्न ब्रान्डका विद्युतीय चुलो आएका छन्, राम्रो ब्रान्डको चुलोलाई छानेर प्रयोग गर्ने हो भने धेरै वर्ष चल्छ, निश्चित संख्या भएको परिवारको लागि त यो ग्यासको विकल्प बन्नसक्छ,’ उनले भने । ग्यासलाई उपभोक्ताले बिस्तारै अप्सन बनाउँदै गएको महर्जनको भनाई छ ।

तर, नेपालमा विद्युतको मात्रै भर पर्न नसक्ने भएकाले धेरै ग्याससँगै इन्डक्सनको प्रयोग गर्दै आएका छन् । बजारमा यसको माग उच्च भएकै कारण महिनैपिच्छे विद्युतीय चुलोको आयातले पनि रेकर्ड ब्रेक गरिरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना अर्थात् माघ महिनासम्म ३० करोड २३ हजार २३ लाख ७० हजार रुपैयाँको १५ लाख २५ हजार ६० वटा बिजुली चुलो आएका छन् । इन्डक्सन स्टोभ एक लाख ११ हजार ६ सय, इन्फ्रारेड स्टोभ २९ हजार ९ सय वटा र अन्य बिजुली स्टोभ एक हजार ६० वटा आयात भएको विभागको तथ्यांकले उल्लेख गरेको छ ।

उक्त वटा इन्डक्सन क्रमशः २२ करोड ५५ करोड ५६ लाख, ७ करोड १८ लाख १० हजार र ५ लाख ४ हजार रुपैयाँको चुलो आयात भएको विभागले जानकारी दिएको छ । यसरी इन्डक्सनको आयातमा वृद्धि भइराख्दा इन्डक्सनमय भान्साको केही वर्षपछि कल्पना गर्न सकिने बताइन्छ ।

यसैगरी गत आर्थिक वर्ष २०८/८१ को सोही महिनासम्ममा २० करोड २३ लाख ७१ हजार रुपैयाँको ९३ हजार ३ सय ६४ वटा विद्युतीय चुलो आएका थिए । गत आर्थिक वर्षको तुलनामा झण्डै ९३ प्रतिशत बढीले यो आर्थिक वर्षमा विद्युतीय चुलो आएका हुन् । नेपालको ऊर्जा क्षेत्रको प्रगति र विद्युतीय सामान प्रयोगलाई प्रोत्साहन गर्ने नीतिहरूका कारण यस विस्तार हुने सम्भावना प्रबल छ ।

इन्डक्सनलाई प्रोत्साहन दिँदै ऊर्जा केन्द्र

नेपालमा विद्युतीय चुलोको प्रयोगले आर्थिक र वातावरणीय दृष्टिकोणबाट सकारात्मक प्रभाव पार्ने औँल्याउँदै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीहरुलाई निःशुल्क इन्डक्सन वितरण गर्दै आएको छ । प्रवर्द्धन केन्द्रले बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा डेरा गरी बस्ने स्नातक वा सो भन्दा माथिल्लोमा अध्ययन गर्नेहरूका यो सुविधाको व्यवस्था गर्दै आएको हो ।

दुर्गम जिलाबाट काठमाडौं आई अध्ययन गरी बसोबास गर्दै आएका कयौं विद्यार्थीलाई चुलो वितरण गरिसकिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी सूचना अधिकारी पार्वत भट्टले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म करिव ५ हजार ९१० जना विद्यार्थीलाई इन्डक्सन वितरण भइसकेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीलाई बिजुली चुलो वितरण गर्न २०७९ बाट थालेको थियो ।

उक्त वर्ष यता निरन्तर बिजुली चुलो प्रत्येक वर्ष विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छ । चुलो चालु आर्थिक वर्षमा ३ हजार बढी वितरण गर्ने तयारी प्रवर्द्धन केन्द्रको भइरहेको भट्टले जानकारी दिइन् । विशेष गरी इन्धन र ग्याँसको उपयोगलाई घटाउन तथा पर्यावरणीय संकटको समाधान गर्न यस कार्यले सघाउ पुर्याउने उनको विश्वास छ ।

ग्यासको व्यापार खुम्चिँदै

नेपालमा सबैभन्दा बढी खपत र अति आवश्यक वस्तुको रूपमा ग्यासलाई हेरिन्छ । पछिल्लो समय प्रायः देशको सबै ठाउँमा ग्यासको पहुँच पुगिसकेको छ । र, यसको खपत र आयातको संख्यामा पनि बृद्धि भइरहेको देखिन्छ । यद्यपि विगतका वर्षहरूमा जस्तो ग्यासको वृद्धि दर नरहेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

‘विगतमा वर्षमा ग्यास बृद्धि दर वार्षिक करिव १६/१७ प्रतिशत थियो, अहिले आएर यो दर ५/६ प्रतिशत मात्र पुगेको छ, यसको व्यापार खुम्चिँदै गएको संकेत गर्छ,’ उनले भने । यसको मुख्य कारण युवा विदेशिनु र आर्थिक मन्दी असर रहेको घिमिरेको ठम्याई छ । ग्यास अहिले नेपाली बजारमा अन्तराष्ट्रिय मूल्य अनुसारमा उपलब्ध रहेको बताउँदै घिमिरेले ग्यासको मूल्य वृद्धि नभएको जानकारी दिए ।

चालु आर्थिक वर्षको ७ महिनामा तरल पदार्थ पेट्रोलियम ग्यास (एलपीजी) ३१ करोड ४३ लाख ४१ हजार २११ केजी आयात भएको छ । भन्सार विभागको अनुसार ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपैयाँको उक्त केजी ग्यास आयात भएको हो । यस्तै, गत आर्थिक वर्षको सोही महिनासम्ममा ३० अर्ब ३१ करोड २४ लाख ४१७ रुपैयाँको २९ करोड ८९ लाख ७५ हजार २२२ केजी ग्यास आयात भएको थियो ।

यो दरलाई हेर्ने हो भने ग्यासको आयात बढी रहेको देखिन्छ । तर, यो रेसियो विगत वर्षको तुलनामा न्यून रहेको घिमिरेले बताए । ‘ग्यासको आयात बढेको छ, प्रयोग पनि भइरहेको छ, तर जुन रेसियोमा यसको वृद्धि हुनुपर्ने हो, त्यो अवस्था चाहिँ खुम्चिँदै गएको हो, इन्डक्सनको प्रयोगले ग्यासमा असर पुगेको जस्तो मलाई चाहिँ लाग्दैन,’ उनले भने ।

पेट्रोलियम पदार्थको आयातले खर्बौं रुपैयाँ घाटा बेहोर्दै आएको नेपालले विद्युतीय सामग्रीको प्रयोगलाई बढाउन सकिन्छ । तर, यस्ता सामग्रीको प्रयोग र प्रोत्साहनको ठोस नीति नहुँदा अझै ग्यासमै निर्भर हुनुपर्ने व्यवसायीहरू बताउँछन् । पेट्रोलियम पदार्थको उत्खननको कार्यहरू भइराख्दा यसको उत्पादन हुन थालेपछि केही सहजीकरणको वातावरण तय हुनसक्ने बताइन्छ ।

रिप्लेसको सम्भावना छ ?

नेपालमा ऊर्जा उत्पादन व्यापक रूपमा भइरहेको छ । नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युतको जडित क्षमता हाल ३५ सय मेगावाट पुगेको अवस्थामा छिटै ऊर्जा उत्पादन ठूलो परिणामले वृद्धि हुने निश्चित छ । खर्बौं रुपैयाँ लगानी भइसकेको यस क्षेत्रबाट आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र सरकारले तयार गरिसकेको अवस्था हो ।

ऊर्जा उत्पादनको वृद्धिसँगै नेपालमा इलेक्ट्रिक सामानको प्रयोग र खपतमा ठूलो परिणामले फड्को मार्ने आंकलन गरिसकिएको छ । यसले अझै नेपालमा इन्डक्सनका साथै अन्य विद्युतीय सामानको प्रयोगलाई बढाउने बताइन्छ । तर, नेपालमा स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति अस्थिर हुने समस्याले इन्डक्सन चुलोको प्रभावकारी प्रयोगमा चुनौती छँदैछ ।

विद्युत् आपूर्ति सन्तुलित नभएको क्षेत्रमा यसको प्रयोग कमै भएपनि सरकार र निजी क्षेत्रले इन्डक्सन चुलोको प्रयोग प्रोत्साहन गर्न विभिन्न योजनाहरू र कार्यक्रमहरूको शुरुवात गरिरहेका छन् । उचित नीति बनाएर अगाडि बढेको खण्डमा ग्यासको सट्टमा विद्युतीय चुलोको सम्भावना रहेको अध्यक्ष घिमिरे बताउँछन् ।

‘विद्युत् बर्खामा भारतमा निर्यात गर्ने र हिउँदमा आयात गर्ने क्रम जारी छ, यसले हामी विद्युतमा निर्भर भइनसकेको देखाउँछ, तर पर्याप्त बिजुली उत्पादन गरेर ग्यासको सट्टामा विद्युतीय चुलाको प्रयोग गर्नसके रिप्लेसको सम्भावना छ,’ उनले भने । इलेक्ट्रिक सामानको प्रयोगको खाका तयारमा ठोस योजना नहुँदा अहिले नै ग्यासको विकल्प इन्डक्सन भई नहाल्ने उनको भनाई छ ।

इलेक्ट्रिकबाट भान्सा चलाउनको लागि अझै त्यो अनुसारको घरमा वायरिङ नभएकाले अहिले नै रिप्लेस चुनौतीपूर्ण रहेको घिमिरेले जानकारी दिए । ‘बजेट घाटा कम गर्न र ऊर्जाको उत्पादनको खपत बढाउन इन्डक्सन उपयोगी हुन्छ, तर त्यो अनुरूपको तयारी भइ नसकेकाले अझै धेरै वर्ष ग्यासको प्रयोग भइराख्ने देखिन्छ,’ उनले भने ।

इन्डक्सनबाट ठगिँदै पनि उपभोक्ता

असनको संजय किचन स्टोरबाट संजिव शर्माले करिव ५ महिना अगाडि इलेक्ट्रोम्याक्स नामक इन्डक्सन चुलो किनेका थिए । उक्त चुलो ३ महिना नपुग्दै बिग्रिएर संजिवले उक्त पसलमै देखाउन पुर्याए । ५ हजार रुपैयाँमा किनेका उक्त चुलोमा वारेन्टी भएकाले बनाउँदा खर्च नलाग्ने, इलेक्ट्रिक सामानमा कहिलेकाहीं समस्या आउने विषयको आकलन गर्दै उक्त पसलमा चुलो बनाउन उनले पुर्याएका थिए ।

तर, बनाउँदा मेकिङ चार्ज भनेर ५०० रुपैयाँ लिएको संजिव बताउँछन् । ‘चुलो किन्दा मलाई १ वर्षको वारेन्टी दिएको थियो, त्यो वारेन्टी अवधिभर त्यो चुलोको दायित्व लिनु उसको पनि जिम्मेवारी हो, तर मलाई उल्टै ममर्त गरिदिएको भन्दै रकम तिरायो,’ उनले भने । के-को पैसा भनेर सोध्दा, ‘खोलेर हेरेको पनि रकम तिर्नुपर्छ’ भनेर रकम तिराइएको संजिवको गुनासो छ ।

Logo