महासंघले पायो नयाँ नेतृत्व, क-कसले जिते निर्वाचन ?

महासंघले पायो नयाँ नेतृत्व, क-कसले जिते निर्वाचन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि चैत २७ र २८ गते मिति तय भएपनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाले पटकपटक साधारणसभा स्थगित हुँदै आएको थियो । स्थगित हुँदै आएको सात महिनापछि महासंघले आइतबार नयाँ नेतृत्व पाएको छ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । बाँकी पदमा शनिवार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । यसरी निर्वाचनमार्फत महासंघको आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष र सदस्यहरु निर्वाचित भएसँगै महासंघले नयाँ नेतृत्व पाएको हो ।

कुल ६४ पदका लागि भएको निर्वाचनमा एक वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो । मुख्य ४ पदमा ढकाल समूह र प्रधान समूहका २/२ जना उमेद्वार विजयी भएका छन् भने अन्य पदहरुमा भने मिश्रित नतिजा आएको छ ।

यसरी महासंघमा चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा विजय भएसँगै निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २० औँ अध्यक्ष बन्ने पक्का गरेका छन् । आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका छन् । ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५ सय २२ मत प्राप्त गर्दा प्रधानले ३ सय ७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरेका छन् । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ ढकालले ५२ मत र प्रधानले ५३ मत पाएका थिए ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेको महासंघको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर चुनावी मैदानमा गएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् भने एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् ।

कुन प्यानलबाट कसले कति मत ल्याए ?

किशोर प्रधान प्यानलबाट वस्तुगततर्फका उमेद्वार अञ्जन श्रेष्ठले कुल १०१ मध्ये ६२ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रप्रसाद ढकाल प्यानलका उमेद्वार उमेशलाल श्रेष्ठ २५ मत अन्तरले पराजित भए । उमेशलालले ३७ मत ल्याएका थिए ।

वस्तुगत सदस्यतर्फ दुबै समुहको सदस्यमा मिश्रित परिमाण आएको छ । १४ कार्यकारी सदस्यमा ७ जना किशोरकुमार प्रधान र ७ जना चन्द्रप्रसाद ढकाल प्यानलका विजयी भएका छन् । जस अनुसार नरेशलाल श्रेष्ठले ७२, अरनिको राजभण्डारीले ६४, प्रकाशमान सिंह कार्कीले ५७, भक्तबहादुर हमालले ६२, मिनमान श्रेष्ठले ६७, मनिषलाल प्रधानले ६०, सुमित केडियाले ६६, आकाश अधिकारीले ४९, शकुन्तलाल हिराचनले ५५, गोविन्द ढुङ्गेलले ५०, विष्णु गैरेले ५१, सन्दीप अग्रवालले ५१, सुबोध गुप्ताले ५०, हेमराज ढकालले ५३ मत पाएर विजय भएका छन् । यी मध्ये आकाश अधिकारी, नरेश लाल श्रेष्ठ, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोध कुमार गुप्ता, सुमित कुमार केडिया र हेमराज ढकाल चन्द्र ढकाल प्यानलका रहेका छन् । यस्तै अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, शिवप्रसाद घिमिरे, सन्दिपकुमार अग्रवाल र सुकुन्तलाल हिराचन किशोर प्रधान प्यानलबाट विजय भएका छन् ।

त्यस्तै, जिल्ला नगरको उपाध्यक्षमा किशोर प्रधान प्यानलबाट दिनेश श्रेष्ठले कुल मत १०५ मत खसेकोमा उक्त मत मध्ये ५८ मत ल्याएर जित हात पारे भने गुणनिधि तिवारीले ४७ मत ल्याएका छन् । जिल्ला नगरका तर्फबाट महासंघको केन्द्रीय समितिमा १८ सदस्य निवार्चित भएका छन् । किशोर प्रधान समूहबाट १२ सदस्य र चन्द्रप्रसाद ढकाल समूहबाट ६ सदस्य निर्वाचित भएका हुन् । जस अनुसार राजन श्रेष्ठ ७३, तारानाथ घिमिरे ७२, शोभाकान्त पौडेल ७०, कमल श्रेष्ठ ६९, गजेन्द्र भगत ६८, चक्र ब अधिकारी ६७, अरुण सुमाग्री ६६, देवकुमार श्रेष्ठ ६५, रामेश्वर मानन्धर ६३, कमन बहादुर खड्का ६२, सुरकृष्ण वैद्य ६१, कुबिर कुमार श्रेष्ठ ५८, डिबी बस्नेत ५८, उमेश डालमिया ५३, किशोरकुमार आचार्य ५२, महेन्द्रकुमार श्रेष्ठ ५४, अमृत भट्टचन ५१, गोपाल कौडिया ५५ ले मत पाएर विजयी भएका छन् ।

त्यस्तै, महासंघको निर्वाचनमा एशोसियटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलका रामचन्द्र संघाईले किशोर प्रधान समुहका सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका छन् । व्यवसायिक घराना त्रिवेणी गु्रपका संघाईले नेपालको पुरानो व्यवसायिक घराना ज्योति गु्रपका सौरभ ज्योतिलाई पराजित गरेका हुन् । विजयी भएका संघाईले ४ सय ५५ मत ल्याए भने पराजित भएका सौरभ ज्योतिले ४ सय ३४ मत ल्याएका थिए ।

यसरी एसोसिएटतर्फको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेलले सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । पौडेलले ८ सय २ मत ल्याएर विजयी भएका छन् भने अबिनास बोहरा ४ सय ७६, आनन्द बगरिया ४ सय ९९ र कृष्णलाल महर्जन ४ सय ६२ ,गोपाल खनाल ७ सय ५१, ज्योत्स्ना श्रेष्ठ ७ सय ६७, देशबन्धु बस्नेत ४ सय ८३, प्रवलजंग पाण्डे ७ सय ४३, भरतराज आचार्य ७ सय ४६, रन्जित आचार्य ४ सय ५९, राजेशकुमार अग्रवाल ५ सय ३०, विजयसिंह वैद्य ५ सय ४७, शक्तिकुमार बेगानी ५ सय ३०, साहिल अग्रवाल ७ सय ३०, शैलेन्द्र गुरागाईं ६ सय ३०, शुसील थापा ४ सय ३०, हेमन्त गोल्छा ५ सय ९ मत ल्याएर विजयी भएका छन् । मंगेशलाल श्रेष्ठ र विराट थापाको बराबर आएको छ । एसोसिएट सदस्यमा प्रधान प्यानलका ११ जना र ढकाल समुहका ७ जना रहेका छन् ।

कुन प्रदेशबाट को को ?

त्यस्तै महासंघको प्रदेश १ बाट निर्वाचन भन्दा अगाडि नै राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका थिए । प्रदेश २ मा विजयकुमार शाह १२ मतले विजयी भएका छन् । त्यस्तै, बागमती प्रदेशमा सहनलाल प्रधान १२ मतले विजयी भएका छन् । त्यस्तै, कर्णाली प्रदेशबाट लालिमान बुढा र सुदुरपश्चिमबाट पुष्पराज कुमार विजयी भएका छन् । कर्णाली प्रदेशमा बुढाले ७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी प्रकाश अधिकारीले ३ मत मात्रै पाएका छन् । यसैगरी सुदुरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै ल्याए । त्यस्तै, लुम्बिनी प्रदेशमा जमसेद मियाँ १२ मत ल्याएर विजयी भएका छन् । त्यस्तै द्विराष्ट्रिय समूहमा ढकाल प्यानलका सन्दिप अग्रवाल निर्विरोध भएका थिए । यसरी संस्थापक समूह दामु अधिकारी ७ मतले विजयी भएका छन् ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा रहेका थिए । जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना प्रतिस्पर्धामा रहेका थिए ।

Logo