कर्जा प्रवाह ५.६ प्रतिशतले बढ्यो 

कर्जा प्रवाह ५.६ प्रतिशतले बढ्यो 

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले वर्तमान देशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै चालु आर्थिक वर्षको माघसम्म २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको जानकारी दिएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्र तर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको पनि राष्ट्र बैंक जानकारी दिएको छ । 
२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागतक्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश३६.२ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्र तर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.९ प्रतिशतले, विकास बैंकहरुको ३.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।  

माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्यवस्तु) को सुरक्षणमा १४.४ प्रतिशत रहेको छ । घर जग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ । गत वर्षको माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.६ प्रतिशत र ६७.६ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा४.४ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा७.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले बढेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.६ प्रतिशतले, मार्जिन प्रकृतिकोकर्जा २७.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ६९.५ प्रतिशतले, हायर पर्चेज कर्जा ४.५ प्रतिशतले, नगद प्रवाह कर्जा ३.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ । तर, अधिविकर्ष कर्जा १२.४ प्रतिशतले घटेको उल्लेख छ ।

Logo