काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने नाडा अटो शो–२०२५ भदौमा हुने भएको छ । नाडाका अनुसार अटो शो २०८२ को भदौ ३ देखि ८ गतेसम्म हुने भएको हो ।
१७औं संस्करणको यो अटो शो भृकुटीमण्डपको प्रदर्शनी स्थलमा आयोजना हुने नाडाले जानकारी दिएको छ । जसमा सहभागी हुन इच्छुक अटोमोबाइल कम्पनीहरूको लागि स्टल बुकिङ्ग समेत खुल्ला भइसकेको छ ।
नाडाका अनुसार स्टल बुकिङ्ग फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म रजिष्ट्रेशन खुल्ला गरिएको छ । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरू जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने बताइएको छ ।
प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरू लगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाको भनाई छ ।
भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरूको तुलनामा यस वर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको हो । नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विशेष योगदान पुर्याउदै आइरहेको बताए ।
‘सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई नाडा अटो शो–२०२५ ले सकारात्मक ऊर्जा एवं नवीनतम प्रविधिहरूको साक्षात्कार गराउने नाडाले विश्वास लिएको छ,’ उनले भने ।
नेपालमा इलेक्ट्रिक भेहिकल (ईभी) को प्रयोग बढ्दो अवस्थामा रहँदा यसपटकको अटो शो पनि ईभी मय हुने बताइएको छ । उक्त अटो शो आयोजना भए पश्चात् अटोमोबाइल कम्पनीहरू आफ्ना ब्रान्डका नयाँ मोडलका सवारी सार्वजनिक गर्ने योजनाका साथ पनि बसिरहेका छन् ।





























प्रतिक्रिया