नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर

नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन भन्ने नाराका साथ आयोजना गरेको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोस्रो दिनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

उक्त समझदारी पत्रमा नाडाले आफ्ना आबद्ध संघ(संस्था र प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। त्यस्तै, सामाजिक सुरक्षा कोषले नाडासँगको सहकार्यमा कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरू र सुविधाहरूबारे सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख गरिएको छ।

समझदारी पत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी र कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्। नाडाले यो ऐतिहासिक समझदारीले आगामी दिनमा नाडा र सामाजिक सुरक्षा कोषबीचको सम्बन्ध थप सुदृढ र बलियो बन्दै जाने विश्वास व्यक्त गरेको छ। समझदारीअनुसार नाडाले अब हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियससम्बन्धी प्रशिक्षण कार्यक्रमहरूमा सामाजिक सुरक्षा कोषबाट प्रशिक्षक उपलब्ध गराउने व्यवस्था पनि मिलाइने छ।

हस्ताक्षर कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती र सचिव विक्रम सिंहानियाको समेत उपस्थिति रहेको थियो। यो सहकार्यले नेपालको अटोमोबाइल क्षेत्र र श्रमिकहरूको सामाजिक सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo