व्यवसायीबीचको टकरावले टुक्रियो नाडा, कसरी भयो उथलपुथलको सिर्जना ?

व्यवसायीबीचको टकरावले टुक्रियो नाडा, कसरी भयो उथलपुथलको सिर्जना ?


काठमाडौं । अटो व्यवसायीहरूको प्रतिष्ठित संस्था नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) टुक्रिँदाको खबरले नेपाली अटोमोबाइल क्षेत्र यतिबेला तातेको छ । उक्त संस्था विभाजन भएर नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को स्थापना भएसँगै अटो व्यवसायीहरुबीच अन्याैलता सिर्जना भएको हो ।

अटो व्यवसायीबीच तालमेल नमिल्दाको परिणामले नाडा विगठन भई नयाँ संस्था जन्मिएको बताइएको छ । राजनैतिक पार्टी टुक्रिएर जसरी अहिले अटो व्यवसायीहरू दुई धारमा देखिँदा यसलाई व्यवसायीबीचको आन्तरिक द्वन्द्वको रूपमा अटो व्यवसायीहरूले लिएका छन् ।

मजबुत संगठनको रूपमा हेरिएका नाडालाई राष्ट्रिय स्तरमा एउटा प्रभावशाली छविलाई कायम राख्दै अटो क्षेत्रको हकहितको लागि निरन्तर यो संस्थाले काम गर्दै आएको छ । तर, यो विभाजनले नाडालाई कमजोर बनाउन सक्ने सम्भावनाको आंकलन गरिएको छ ।

यद्यपि नाडाका एक पदाधिकारीले भने यसको प्रभावबाटै नाडा कमजोर नहुने बताए । नाडाका पदाधिकारी पनि यस विषयमा स्पष्ट नरहेको बताउँदै आएका छन् । तर, नाडाका एक पदाधिकारीले भने व्यवसायिक स्वार्थ र व्यक्तिगत विषयलाई लिएर संस्थामा जोड्नु उचित नरहेको बताए ।

‘नाडा सबै अटो व्यवसायीहरूको साझा संस्था हो, यसले संस्थाको र व्यवसायीको हितको लागि काम गर्ने हो, व्यक्तिगत विषयलाई लिएर संस्थामा जोडेर बाधा उत्पन्न गरी एउटै भूमिकाको संस्था खोल्नु जायज होइन,’ उनले भने ।

निश्चित व्यक्तिको स्वार्थका लागि नयाँ संस्था खोल्नु उचित नरहेको स्रोतको तर्क छ । गाडी र स्पेयर पार्ट्स कमिटीका प्रतिनिधिबीचको कुरा नमिल्दा यो उल्झनको सिर्जना भएको हाे ।

‘संस्थामा एउटा नेतृत्व गएपछि अर्का नेतृत्व आउँछ, नेतृत्व गर्नसक्ने क्षमता राख्नु राम्रो हो, तर नेतृत्व पाइएन भनेर अर्को संस्था खोलको जस्तो मलाई लाग्दैन, यसमा प्रतिसोधको पनि खटपट देखिन्छ,’ स्रोतले भन्यो । थोरै सदस्य भयो भने कम्पनी सो-सरह हुने र धेरै सदस्य भयो भने संस्था हुने स्रोतको धारणा छ ।

कसरी आयो यस्तो अवस्था ?

नाडाको नयाँ नेतृत्व चुनिनु अगावै पदाधिकारीको विषयलाई लिएर अनेकौं विवाद सिर्जना भएका थिए । विभिन्न व्यवसायिक घरानाका प्रतिनिधि नाडाको पदाधिकारीका पदका आकांक्षीहरुलाई मिलाउँदै करण चौधरी नाडाको अध्यक्ष बनेका हुन् ।

यद्यपि नाडाको अध्यक्ष पदलाई लिएर सो समय नै व्यावसायिक घरानाबीचका मनमुटावले नाडाभित्रै केही समस्याको सिर्जना यस अगावै गरिसकेको थियो । सबै समस्यालाई मिलाउँदै करण चौधरी नेतृत्वको मजबुत टिम बनाइ नाडाको पदाधिकारी चुनियो । यसै नेतृत्वबाट नाडामा वरिष्ठ उपाध्यक्षको पनि खडा गरी आकाश गोल्छालाई यसको जिम्मा दिएको छ ।

गोल्छालाई आगामी अध्यक्ष बनाउन सहमति राखेर वरिष्ठ उपाध्यक्षको जिम्मा दिइएको हो । यसअघि भने नाडामा वरिष्ठ उपाध्यक्ष पद थिएन । जसले पनि अटो व्यवसायीबीच टकरावको यात्रा तय गरिएको थियो । नाडाको यस नेतृत्व चुनिएपछि सुरुवाती चरणमै सहमति फिर्ता लिने तथा पदाधिकारीमा नबस्ने विषयले माहोल तताए पनि सहमति भई नाडा पदाधिकारीले अटो क्षेत्रको विकासका लागि काम गर्दै आएका छन् ।

यहाँसम्म विवादले खासै उग्र रूप लिएको देखिँदैन । तर, अहिले एकाएक नाइमा संस्था खुलेको चर्चाले यो क्षेत्र नै खलबलिएको छ । नाइमाको अध्यक्ष रितुसिंह वैघ बन्दै ठूला कर्पोरेट संस्थालाई नाइमाको सदस्य बन्‍न आह्वान भइराख्दा नाडामा समेत तरंग फैलिएकाे हो । तर, नाडाका पदाधिकारीहरू भने नयाँ संस्थाको बारेमा आफू जानकार नभएको बताउँदै आएका छन् ।

नाडामा स्पेयर पार्ट्स व्यवसायी धेरै भएको, नीतिगत तहबाट अहिलेको नेतृत्वका काम गर्न नसकेको लगायतका यावत् कारणलाई देखाउँदै नाइमा जन्मिएको बताइएको छ । नाइमाले पूर्व अध्यक्षहरूको समेत समर्थन पाउँदा ठूला कर्पोरेट हाउसले समेत सदस्यता लिएको बुझिएको छ । नाइमामा विशेषगरी गाडी आयात गरी बिक्री गर्ने कम्पनीहरू जोडिएका छन् ।

अटो शो संकटमा

नाडा अटो शो देशकै सबैभन्दा ठूलो अटोमोबाइल्स शो हो । दशैं अगावै हुने यो शोलाई देशकै सबैभन्दा ठूलो शोको रूपमा हेरिन्छ । तर, व्यवसयीहरुको यो विवादबीचको अल्झनमा अहिले नाडा अटो शो परेको छ । नाइमाले नाडा अटो शो अगावै अर्को अटो शोको घोषणा गर्दा यो अवस्थाको सिर्जना भएको हो ।

नाइमाले आगामी वर्ष २०८१ को साउन २१ गतेबाट गर्ने अटो शो गर्ने तयारी थालिसकेको छ । यसैको करिव १५ दिनको अन्तराल अर्थात् भदौ ३ गतेदेखि नाडा अटो शो हुँदैछ, जसका लागि नाडाले स्टल बुकिङसमेत खुल्ला गरिसकेको छ । १७औं संस्करणको यो अटो शोको स्टल बुकिङ्ग फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म रजिष्ट्रेशन खुल्ला गरिएको थियाे ।

भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरूको तुलनामा यस वर्ष छिट्टै रजिष्ट्रेशन खुल्ला गरिएको नाडाको भनाई छ । तर, कतिपयले नाडा शो अगावै नाइमाले शो गर्दा त्यो बेला प्रदर्शनीमा असर पुग्ने मूल्याङ्कन गर्दै अग्रिम स्टल बुकिङ खुल्ला गरिएको व्यवसायीहरूको धारणा छ ।

नाइमाले अटो शो गर्दा स्टलसमेत कम शुल्कमा उपलब्ध गराउने भएकाले यसको प्रभाव नाडा अटो शोमा पर्ने अनुमान गरिएको हो । यद्यपि उक्त शो भएको खण्डमा पनि नाडा अटो शोमा केही ठूलो प्रभाव नपार्ने नाडाका एक पदाधिकारीले जानकारी दिए ।

Logo