चट्टान फोडेर सडक निर्माण गर्दै जगदुल्ला जलविद्युत, १० वटा पुल असारभित्र बन्ने

चट्टान फोडेर सडक निर्माण गर्दै जगदुल्ला जलविद्युत, १० वटा पुल असारभित्र बन्ने

केन्द्रबिन्दु
69
Shares

काँक्रेविहार । भेरी करिडोर सडक योजनासँग जोडिएको रुकुम पश्चिमको आठबीसकोट–६ त्रिवेणीदेखि डोल्पाको मुडकेचला,जगदुल्ला हुँदै जुम्ला जोड्ने सडक निर्माण कार्य जारी रहेको छ । जगदुल्ला जलविद्युत आयोजना निर्माण स्थलदेखि बाध स्थल हुँदै दुई पालिका जोडेर जुम्ला जोड्ने सडक निर्माण कार्य तिब्ररुपमा भइरहेको हाे ।

मुडकेचुला गाउँपालिका–१ त्रिवेणीदेखि वडा नम्बर –४ को इल सम्मा १० किलोमिटर कच्ची कटानको काम भइरहेको छ । सो बाटोमा रहेका कडा चट्टानमा विस्फोटन गराएर सडकको ट्याक खोल्ने काम अन्तिम चरणमा पुगेको जलगदुल्ला जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । आयोजनाले त्रिवेणीदेखि हुरिकोटमा १० वटा पुल निर्माण कार्य गरिरहेको उनको भनाई रहेको छ । हाल जगदुल्ला गाउँपालिकाभित्र ४ वटा पुल निर्माण कार्य जारी रहेको छ । हुरिकोटमा पुल निर्माण कार्य पूरा भएको छ ।

काइगाउँ, फाँचुगाड, बाँजगाडमा पुल निर्माण कार्य जारी रहेको छ । त्यस्तै मुडकेचुला गाउँपालिका भित्रको गाडापारी, लामाचौर, नुनीगाड, निलदह, फेरी र तन्तुमा बाँकी ६ वटा पुल निर्माण कार्य जारी रहेको अधिकृत सापकोटाले जानकारी दिए । असार मशान्त सम्मा पुलहरु निर्माण कार्य पूरा हुने लक्ष्य रहेको अधिकृत सापकोटाले बताए । यो सडकको चट्टानहरु फोर्ने काम जगदुल्ला जलविद्युत आयोजनाले गरिरहेको छ भने बाँकी कच्ची कटानको काम पूर्वाधार विकास कार्यालय, डोल्पाले लिएको छ ।

आयोजनाले त्रिवेणीदेखि इलसम्मको कडा चट्टान रहेको १० किलोमिटर सडक खण्डभित्र रहेको विभिन्न ठाउँमा चट्टान फोर्ने काम अन्तिम चरणमा पुगेको छ । हाल सो सडकमा हलुका सवारी साधन सञ्चालनमा समेत आएको छ ।

१ हजार ५०० मिटर चट्टान आयोजनाले फोडने काम गरेको आयोजनाका अधिकृत सापकोटाले जानकारी दिए । जम्मा ३५ किलोमिटर जगदुल्ला जलविद्युत आयोजनाको बाध स्थल सम्मा पुग्नको लम्वाइ रहेको छ । इल देखि जलविद्युत आयोजनाको बाध स्थल सम्मको कडा चट्टान फोर्ने जिम्मेवारी जलविद्युत आयोजनालाई दिएमा आफूहरु तयार भएको उनले बताए । पूर्वाधार विकास कार्यालयले कच्ची कटानको काम पुरा नगर्दा विस्फोटका कामहरु हुन नसकेको आयोजनाको भनाई रहेको छ । २ किलोमिटर अस्थायी ट्याक खोल्न अझैँ बाँकी रहेको उनले जानकारी दिए । पूर्वाधार विकास कार्यालयले त्रिवेणीदेखि भालु लेक हुँदै जुम्ला जोडने सडक निर्माण गर्ने लक्ष्य लिएको छ ।

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीरबहादुर शाहीले यो सडक निर्माण गर्दा ढिला भएका कारण जगदुल्ला जलविद्युत आयोजनाको काम देखि जुम्ला जोडने सडक निर्माण गर्न ढिला भएको बताए । भेरी करिडोर सडकसँग जोडिएको त्रिवेणीदेखि भालु लेक हुँदै जुम्ला जोडनका लागि निर्माणधिन सडक भएकाले तत्काल निर्माण कार्यलाई तिब्रता दिनुपर्ने उनले दावी गरे ।

निर्माण व्यवसायीले तोकिएको समयमा काम नगर्दा सडक निर्माणमा ढिला भएको उनको भनाई रहेको छ । त्रिवेणीदेखि मुडकेचुला– ६ छहरीखोला सम्मा सडकको अस्थायी ट्र्याक खुलेको छ ।

अस्थायी ट्र्याक खोल्नका लागि रु ९५ करोड रुपैयाँ लाग्ने डिपिआरमा उल्लेख रहेको छ । अहिले रु ३७ करोड रुपैयाँको ठेक्का लागेर काम धिमा गतीमा भइरहेको छ । निर्माण व्यवसायीले छिटो काम सुरु गरेको भए हाल सम्मा भालु लेक सम्मा पुग्ने स्थानीयबासीले बताएका छन् ।

जलविद्युत आयोजनाले के गर्दै छ ?

उता १०६ मेगावाटको जगदुल्ला जलविद्युत कम्पनीले पुनः आयोजना निर्माणका लागि दोस्रो पटक ठेक्का आह्वान गरेको छ। जगदुल्ला हाइड्रोपावर कम्पनीले सिभिल र हाइड्रोमेकानिकल कामको लागि दोस्रोपटक ठेक्का आह्वान गरेको हो। यसअघि आयोजनाले जेठ २० गते आयोजनाको यही कामको लागि ठेक्का आह्वान गरेकोमा गत पुस २३ गते रद्द गरिएको थियो। आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रक्र्युमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा ठेक्का आह्वान गरिएको छ।

रन अफ रिभरमा आधारित यो १०६ मेगावाट क्षमतामा निर्माण हुने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। डोल्पा जिल्लाको मुडकेचुला गाउँपालिका–४ इलमा विद्युत उत्पादन गृह रहने आयोजनाको करिब २४ अर्ब रूपैयाँ लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ। यसमा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को १० प्रतिशत, नेपाल विद्युत प्राधिकरणको ९ प्रतिशत लगानी छ। त्यस्तै, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक/एक प्रतिशत बराबरको सेयर स्वामित्व छ।

सर्वसाधारणमा आइपिओ जारी गरेर ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन/तीन प्रतिशत बराबरको सेयर लगानी रहने व्यवस्था गरिएको छ। नबिल बैंकको नेतृत्वमा ऋण लगानी जुटेको छ। यसमा बैंकले चार अर्ब ४० करोड, एचआइडिसिएलले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब, एभरेष्ट बैंकले १ अर्ब ५० करोड बराबर लगानी गर्ने भएका छन्।

Logo