काठमाडौं । हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी सार्वजनिक भएको छ । साेमबार एक कार्यक्रमका बीच गेम चेन्जरको रूपमा हेरिएको उक्त ईभी गाडी सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार क्रेटा ईभीको चारवटा भेरियन्ट उपलब्ध छन् । एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्टको ५४ लाख ९६ हजार, स्मार्ट(ओ) को ५६ लाख ९६ हजार र प्रिमियम प्लसको ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
मिडसाइज एसयूभी सेग्मेन्टमा सबैभन्दा लोकप्रिय एसयूभी हुन्डाई क्रेटाको दमदार फिचर र एड्भान्स टेक्नोलोजीले इलेक्ट्रिक एसयूभी बजारमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने कम्पनीले दाबी गरेको छ ।
नेपाली बजारमा पहिलेदेखि नै आईसीई संस्करणको हुन्डाई क्रेटा लोकप्रिय रहेको र हुन्डाईका अन्य ईभी समेत चर्चित बनिरहेको समयमा क्रेटा ईभी समेत धेरैले मन पराउने अपेक्षा गरिएको छ । हुन्डाईले क्रेटा ईभी ९९ किलोवाट र १२६ किलोवाट मोटर अप्सनमा उपलब्ध गराउनेछ । ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट क्षमताको ब्याट्री हुनेछ । यसले एक पटकको फुल चार्जमा ३९० किलोमिटरको रेन्ज दिन्छ ।
१२६ किलोवाटको मोटरसँग ५१.४ किलोवाटको ब्याट्री हुनेछ । यसले ४७३ किमी रेन्ज दिन्छ । लुक्स र डिजाइन क्रेटाको जस्तै हुनेछ भने इन्टेरियरमा केही परिवर्तन हुने कम्पनीले बताएको छ ।
ब्याट्री डीसी फास्ट चार्जिङमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म चार्ज गर्न ४ घण्टा लाग्छ ।
क्रेटा ईभीको डिजाइन धेरै हदसम्म यसको आईसीई मोडेलसँग मिल्दोजुल्दो छ । यसको अगाडि एल–आकारको कनेक्टेड एलईडी डीआरएल र भर्टिकली स्ट्याक्ड ट्विन एलईडी हेडलाइट समावेश गरिएको छ । यसमा कम्पनीको लोगोको पछाडि चार्जिङ पोर्ट राखिएको छ ।
क्रेटा ईभीका लागि १७ इन्चको एरोडायनामिक अलोय ह्विल विशेष रूपमा डिजाइन गरिएको छ । हुन्डाई क्रेटा ईभीको इन्टेरियर डिजाइन यसको आईसीई संस्करण जस्तै देखिए तापनि यसमा केही आधुनिक फिचर थपिएको छ । यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन र हुन्डाई आयोनिक ५ बाट प्रेरित नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । साथै भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरुफ र मल्टिपल ड्राइभिङ मोड जस्ता फिचरले यसलाई अझ विशेष बनाएको छ ।
सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम, टायर प्रेशर मनिटरिङ कन्ट्रोल र इलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल जस्ता फिचरले सुसज्जित गरेको छ ।
इन्धन भर्सन नेपालमै बन्ने
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै एसेम्बल उद्योग लगाएर गाडीको उत्पादन थाली सकेको छ । उक्त प्लान्टबाट एसयूभी इन्धन भर्सनको क्रेटा गाडी बन्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो गाडी आयात गरेको भन्दा ९ लाख रूपैयाँ सस्तो छ ।
कम्पनीले क्रेटा ई पेट्रोल एमटीको मूल्य ५३ लाख ९६ हजार, क्रेटा एस (०) एमटीको मूल्य ६३ लाख ६९ हजार , क्रेटा एसएक्स एमटीको मूल्य ६६ लाख ९६ हजार रूपैयाँ तोकेको छ । यस्तै, क्रेटा एस (०) सीभीटीको मूल्य ६७ लाख ९६ हजार र क्रेटा एसएक्स (०) सीभीटीको मूल्य ७८ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
नेपालमै बनेको यो गाडी आम ग्राहकको रोजनामा पर्ने विश्वास कम्पनीले लिएको छ ।





























प्रतिक्रिया