८०० सूचीकृत बेरोजगारद्वारा रोजगारीको माग

८०० सूचीकृत बेरोजगारद्वारा रोजगारीको माग

केन्द्रबिन्दु
18
Shares

नेपालगञ्ज (बाँके) । स्थानीय तहमा सूचीकृत भएका करिब आठ सय बेरोजगारले रोजगारीको माग गरेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जिल्लाका सात स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि आयोजना गरेको दुई दिने ‘बाँके रोजगार मेला’ मा सूचीकृत बेरोजगारहरूले रोजगारीका अवसर सृजना गर्न माग गरेका हुन् ।

मेलाको पहिलो दिनमा छ सय बढीले र आज दुई सयले विभिन्न पदमा रोजगारी माग गरेका रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले जानकारी दिए । सङ्घका महासचिवसमेत रहेका उनले मेलामा जिल्लाका आठ स्थानीय तहका गाउँटोलबाट बेरोजगारको घुइँचो लागेको बताए ।

रोेजगार खोज्ने तीन सय जनाले स्टलमा फारम भरेका छन् । उनका अनुसार मेलामा रोेजगारदाताका ३५ स्टल राखिएका छन् । “तीन सय हाराहारीमा रोजगारीका लागि फारम भरेकालाई सङ्घका स्वयंसेवकले सूचीकृत गरेर सम्बन्धित रोजगारदाता कहाँ पठाएका छन्”, संयोजक रानाभाटले भने ।

सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले आयोजित रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको पहिचान हुनुका साथै आगामी दिनमा जिल्लाका उद्योग प्रतिष्ठानलाई जनशक्ति उत्पादन गरी बेरोजगारीको समस्या समाधान गर्न अभियान सञ्चालन गरिने बताए । “त्यसका लागि आवश्यक तालिम, प्रशिक्षणका लागि स्थानीय सरकारसँग साझेदारी र सहकार्य गरिनेछ”, उनले भने ।

सङ्घले रोजगार मेलामा फारम भरेका व्यक्तिको सीप, क्षमता र दक्षताको विश्लेषण गरी जिल्लाका उद्योग तथा औद्योगिक प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने धामीले बताए ।

खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनीराम ओलीले गाउँगाउँबाट आएर अवसर खोजी गर्नेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर रोजगारीसँग जोड्न आवश्यक भएको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका रोजगार संयोजक मञ्जु ज्ञवालीले रोजगारीका लागि आएका सबैलाई आवश्यक सहजीकरण गरेर रोजगारीसँग जोड्नु मेलाको उद्देश्य रहेको बताए । दुई दिनसम्म सञ्चालन भएको मेलामा रोजगार सेवाप्रदायक ३५ स्टल छन् ।

Logo