काठमाडौं । भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदीमा निर्माणाधीन कात्तिकेघाट जोड्ने पक्की पुल काम ९५ प्रतिशत सकिएको छ । निर्माणको अन्तिम चरणमा रहेको उक्त पुलको फिनिसिङ पूरा भएपछि सञ्चालनमा ल्याउने योजनाका साथ धमाधम काम भइरहेको हो ।
बीएलटी कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त पुलको काम थालेको ७ वर्ष भइसकेको छ । तर, निर्माणको काम गर्दै गर्दा विभिन्न प्राविधिक समस्या देखिदा बनाउन ढिला भएको कात्तिकेघाट पुलको सञ्चालनको मिति नजिकिएपछि स्थानीय बिच नयाँ आशा थपेको छ ।
वि.सं. २०७४ मंसिरमा ठेकेदार कम्पनीसँग सम्झौता निर्माण कार्य अगाडि बढेको थियो । पुलको तीन स्पामको काम सकिएर फिनिसिङ लगायतका आवश्यक काम भइरहेको बीएलटी कन्स्ट्रक्सनका सञ्चालक तथा आयोजना प्रमुख तीर्थराम खड्काले जानकारी दिए । उनका अनुसार अहिलेको अवस्थामा कम्पनीलाई पैसा उपलब्ध नहुँदा पुलको काम तीव्र गतिमा हुन सकेको छैन ।
‘ठेक्का सम्झौता भए अनुसारको पैसा हामीले पाएका छैनौं, हामीले आफ्नै खर्चले अहिले पुल बनाइ रहेका छौं, पैसा नआएर समस्या हुँदा पुलले पूर्णता भएको छैन,’ उनले भने । निर्माण कम्पनीसँग उक्त पुल निर्माण गर्नको लागि १६ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
जसमध्ये १२ करोड रुपैयाँ पैसा आएको र बाँकी पैसा आउन बाँकी रहेको खड्काले जानकारी दिए । पैसा पाए चाँडै काम हुने र नपाए काम सक्न अझै समय लाग्ने उनको भनाई छ । पुलको काम पूर्ण रूपमा सक्नको लागि अझै एक करोडको सामान किन्नु पर्ने खड्का बताउँछन् ।
अहिलेसम्म पुल निर्माणमा २३ करोड रुपैयाँ खर्च भइसकेको खड्काले बताए । ‘पुल निर्माणमा धेरै खर्च भइसकेको छ, कुल लागत भन्दा बढी खर्च हुँदा अन्य आयोजना पनि मैले बनाउन सकिन, तराईमा जस्तो पहाडमा पुल बनाउन सहज नहुने भएकाले खर्च र समय दुवै बढ्यो, मैले घाटामा पुल निर्माण गरे,’ उनले भने । ठेकेदार कम्पनीसँग पैसा नहुँदा कर्मचारीले समेत तलब पाउन बाँकी छ ।
पैसा सरकारबाट उपलब्ध भएको खण्डमा एक महिनाभित्र पुलको काम सम्पन्न हुने खड्काले दाबी गरे । उनका अनुसार २०८२ भित्रै पुलको काम सकिएर सञ्चालनमा आउने छ । यो आयोजना सक्ने मिति विभिन्न तोकिए पनि अहिलेसम्म पूरा हुन भने सकेको छैन । यद्यपि अब काम चाडै सकेर सञ्चालनमा ल्याउने उद्देश्य राखेको खड्का दाबी गर्छन् ।
उक्त ठाउँमा पुल नहुँदा भोजपुर र संखुवासभाका नागरिकले निकै सास्ती खेप्दै आएका छन् । पुल निर्माण भएपश्चात् आवत जावतमा सहज हुनुका साथै आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा लिँदै पुलको काम चाँडै सक्न स्थानीयले दबाब दिँदै आएका छन् ।































प्रतिक्रिया