काठमाडाैं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) र नेपाल बीमा प्राधिकरणबीच विद्युतीय सवारीसाधनको बीमाका विषयमा छलफल भएको छ ।
शुक्रबार बीमा प्राधिकरणको कार्यालयमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलबीच विद्युतीय सवारीसाधनको बीमा नीतिबारेमा छलफल भएको हो ।
छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारीसाधनको हालसम्म बीमा नीति तयार नभइसकेकाले विद्युतीय सवारीसाधनको बीमाका लागि नीति निर्माणको आवश्यकता रहेको बताए ।
बीमा प्राधिकरणका अध्यक्ष ओझाले विद्युतीय सवारीसाधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनबारे प्राधिकरणले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । प्राधिकरणले बीमा नीतिमा विद्युतीय सवारीसाधनको स्पेयर पार्ट्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण, क्लेम प्रक्रियामा सुधार, बीमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको बताएका थिए ।
अध्यक्ष ओझाले प्राधिकरणले नाडालाई बीमा नीति निर्माणको काममा प्रत्यक्ष संलग्न गराउने बताएका थिए ।
छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्य यमुना श्रेष्ठ र नाडाका साधारण सदस्य महेश पाल सहभागी थिए ।





























प्रतिक्रिया