काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) निर्माता अवतार टेक्नोलोजीले आफ्नो नयाँ सेडान, अवतार ०६ लाई सार्वजनिक गरेको छ।
चाङगन अटोमोबाइल, क्याटल, र हुवावे जस्ता ठूला कम्पनीहरूको लगानी रहेको अवतारले यो पाँच सिटर सेडानलाई आकर्षक फिचरका साथ ल्याएको हो ।
सिंगल र डुअल मोटर भेरिएन्टमा उपलब्क्ध अवतार ०६ मा ७२.८८ किलोवाट आवर क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ । सिंगल–मोटर रियर–ह्वील ड्राइभ भेरियन्टले ६५० किलोमिटर र डुअल–मोटर अल–ह्वील–ड्राइभ भेरिएनटले ६०० हाराहारी रेन्ज दिने दाबी गरिएको छ । यी दुबै भेरिएन्ट ८०० भोल्ट अल्ट्रा–फास्ट चार्जिङ आर्किटेक्चरमा तयार पारिएको हो ।
‘मोबाइल वेलनेस सेन्चुअरी’ कन्सेप्टमा तयार पारिएको अवतार ०६ मा ७ वर्ग मिटर प्रिमियम सफ्ट–टच सामग्रीद्धार सजाइएको क्याबिन राखिएको छ । कारको फ्रन्ट सिटमा १६–पोइन्ट मसाज कार्यक्षमताको साथ शून्य–गुरुत्वाकर्षण प्रविधि दिइएको कम्पनीको भनाइ छ ।
साथै अत्याधुनिक २५–स्पिकर मेरिडियन अडियो सिस्टम, हार्मोनी ओएस इन्फोटेनमेन्ट सिस्टम, क्याबिनमा अवरोध पत्ता लगाउने स्मार्ट डोर र स्ट्रिमिङ डिजिटल रियरभ्यू मिरर लागयत फिचर उपलब्ध गराइएको छ ।
सो कारको सुरुवाती मूल्य २६ हजार ३०० डलर तोकिएको छ । यो आगामी दिनमा नेपाली बजारमा पनि भित्रिने सम्भावना छ । हाल नेपालमा यसको अवतार ११ मोडल उपलब्ध छ ।
सन् २०२७ सम्ममा ४ लाख युनिट विश्वव्यापी बिक्री गर्ने लक्ष्य लिएको अवतारले २०२४ मा ७३,६०६ वटा गाडी बिक्री गरेको थियो। प्रतिस्पर्धी मूल्य र आकर्षक विशेषताहरू सहितको अवतार ०६ को आगमनले कम्पनीको यो लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया