डोङफेङले सार्वजनिक गर्‍यो इलेक्ट्रिक एसयूभी नामी ०६, यस्ता छन् फिचर

डोङफेङले सार्वजनिक गर्‍यो इलेक्ट्रिक एसयूभी नामी ०६, यस्ता छन् फिचर

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी डोङफेङले आफ्नो नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नामी ०६ को अनावरण गरेको छ। सांघाईमा जारी अटो शो २०२५ मा पूर्ण विद्युतीय एसयूभी क्वान्टम आर्किटेक्चर प्लेटफर्म ३ मा आधारित नामी ०६ को अनावरण गरिएकाे हाे ।

बोल्ड र आकर्षक डिजाइन प्रस्तुत गरिएकाे नामी ०६ ईभीमा म्याच ई ब्याट्री प्रयोग गरिएको छ, जसमा थ्रीसी सुपर फास्ट चार्जिङ प्रविधि रहेको छ। यो प्रविधिले गाडीलाई मात्र ५ मिनेट चार्ज गर्दा १०० किलोमिटर सम्म चलाउन सकिने क्षमता दिन्छ। साथै, १८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ। नामी ०६ मा १३५ किलोवाटको शक्तिशाली मोटर रहेको छ र यसको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टा छ।

यस गाडीमा प्रयोग गरिएको टु–टोन ह्विल, फराकिलो कालो ह्विल आर्च, तल्लो भागमा क्लेडिङ र सिल्भर रियर ट्रिमले यसको सुन्दरतालाई अझ बढाएको छ । नामी ०६ को पछाडिको भागमा पिक्सेल म्याट्रिक्स एलिमेन्टसहितको ‘एन’ आकारको टेललाइट डिजाइन छ, जसले टर्न सिग्नलका लागि विशेष प्याटर्न देखाउँछ।

आकारको कुरा गर्दा, नामी ०६ को लम्बाई ४,३०६ एमएम, चौडाई १,८६८ एमएम र उचाई १,६४५ एमएम रहेको छ । यसको ह्विलबेस २,७१५ एमएम छ, जसले यात्रुहरुका लागि पर्याप्त ठाउँ प्रदान गर्दछ । भित्री भागमा फ्लोटिङ सेन्टर टचस्क्रिन, दुई स्पोक भएको स्टेयरिङ ह्विल र पातलो डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल जस्ता आधुनिक फिचरहरु उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

त्यसैगरी, नामी ०६ को इन्टेरियरमा कप होल्डर, ५० वाटको वायरलेस फोन चार्जिङ, मनोरम सनरुफ र १२८ रङको एम्बियन्ट लाइटिङले आरामदायी र आधुनिक अनुभव प्रदान गरेकाे छ ।

डोङफेङको यो नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी शहरी क्षेत्रमा चलाउनका लागि निकै उपयोगी र आकर्षक हुने अनुमान गरिएको छ । यसको डिजाइन, फिचर र चार्जिङ क्षमताले ग्राहकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

नेपालमा पनि डोङफेङका केही सवारी साधनहरू उपलब्ध छन्। हाल नामी ई१, ई२ र ई३ माेडलहरु नेपालका सडकमा हुँइकिएकाे देख्न पाइन्छ ।

Logo