काठमाडौं । स्वदेशमै उद्योग स्थापनामा गरी एसटीसी इनर्जी इन्डष्ट्रिज प्रा.लि.ले लामो समयदेखि ठूलो परिणाममा सवारी साधनमा लाग्ने ब्याट्री उत्पादन गर्दै आएको छ । श्री एसटीसी ग्रुपअन्तर्गतको उक्त कम्पनीले ५० करोड रुपैयाँभन्दा बढीको लगानी गरेर टु–ह्विलर, अटोमोटिभ र इन्भर्टर प्रयोजनका ब्याट्रीहरू उत्पादन गर्दै आएको हो ।
एसटीसी इनर्जीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीका अनुसार उक्त उद्योगबाट एसटीसी राइड (रातोमा) र इनर्जी (हरियोमा) गरी दुई थरीका ब्याट्री उत्पादन हुँदै आएका छन् । निजी क्षेत्रबाट सञ्चालित यो उद्योगबाट ब्याट्री उत्पादन सुरु गरेपछि यसले स्वदेशी उत्पादन क्षमताको नयाँ सम्भावना देखाएको छ ।
हेटौंडाको औद्योगिक क्षेत्रभित्रको झन्डै २१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट दुई पाङ्ग्रेको तीन वर्ष र अटोमोटिभको एक वर्ष अघिदेखि ब्याट्री उत्पादन हुन थालको हो । नेपालमा सवारी साधनका लागि उच्च गुणस्तरीय ब्याट्रीहरूको उपलब्धता सुनिश्चित गर्दै ग्राहकहरूलाई विश्वसनीयता र दीर्घकालिक सेवा प्रदान गर्ने लक्ष्यका साथ काम भइरहेको उप्रेतीले जानकारी दिए ।
‘अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको यो उद्योगबाट ब्याट्रीको उत्पादन हुन्छ, गुणस्तरमा हामीले कुनै सम्झौता नगरिकन उपभोक्तालाई सन्तुष्ट बनाउँदै आएका छौं,’ उनले भने । उक्त ब्याट्रीले भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) र अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) बाट गुणस्तर प्रमाणीकरण समेत प्राप्त गरिसकेको छ ।

यस उद्योगको वार्षिक १८ लाख ब्याट्री उत्पादन गर्ने क्षमता छ । तर, अहिले उद्योगबाट मासिक २५/३० हजार ब्याट्री उत्पादन हुँदै आएको उप्रेतीले बताए । ‘हामी जति उत्पादन गरिरहेका छौं, त्यो उत्पादनले मार्केट पाइरहेको छ, तर जति उद्योगको उत्पादन क्षमता हो, त्यो अनुसार उत्पादन हुन सकेको छैन, हामीले यसलाई पूर्ण रूपमा सञ्चालन गरी उत्पादित ब्याट्रीको बजारीकरण गर्ने योजना पनि बनाएका छौं,’ उनले भने ।
एक वर्षको अन्तरालमा अटोमोटिभको उद्योगबाट ५० हजार ब्याट्री उत्पादन गरिसकेको उप्रेतीले जानकारी दिए । उनका अनुसार दुई पाङ्ग्रे वार्षिक अब ४ देखि ५ लाख ब्याट्री बेच्ने लक्ष्य कम्पनीको छ । यो वर्ष ३ लाख बढी दुई पाङ्ग्रेको उत्पादन गरी ब्याट्री बेचेर योजनाका साथ कम्पनी लागि रहेको हो ।
‘बजारमा राइडको माग सबैभन्दा बढी छ, देशका सवारी चालकको पहुँचमा हाम्रो ब्याट्री पुगिसकेको छ, मूल्यका हिसाबले पनि उचित हुँदा एसटीसीका यी उत्पादनलाई उपभोक्ताले पनि साथ दिइरहनु भएको छ,’ उनले भने । कम्पनीका अनुसार यी ब्याट्री बेच्ने एसटीसीका करिव २०० डिलर छन् ।
ब्याट्री उत्पादन उद्योग सञ्चालन आएदेखि नै यहाँबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै रोजगारी पाएको बताइएको छ । प्लान्टमा १२/१३ जना इन्जिनियर र ७० बढी कर्मचारी रहेको उप्रेतीले जानकारी दिए ।
नेपालको सवारी साधन उद्योगमा ब्याट्री उत्पादन र आपूर्तिमा नयाँ युगको सुरुवात गरेको एसटीसी इनर्जीले दीर्घकालिक उद्योग विकास र ग्राहक सन्तुष्टि प्राथमिकतामा राखेको छ । उद्योगमा प्रयोग हुने ८० प्रतिशत कच्चा पदार्थ स्वदेशी र २० प्रतिशत भारतबाट आएका सामानको प्रयोग हुने बताइएको छ ।
साथै, दुई पाङ्ग्रे ब्याट्री उत्पादन गर्ने पहिलो रहेको यो कम्पनीले निर्यातको लक्ष्य पनि राखेको छ । प्रयोग भइसकेका ब्याट्री रिसाइकल गर्न नसकिने बताउँदै उप्रेतीले सरकारी अन्तर निकाय समन्वय नहुँदा हुँदा उद्योगीले धेरै समस्या भोग्नु परेको बताए ।
‘ब्याट्री निर्यातको लागि हामीले सोही अनुरूपमा तयारी गरिसकेका छौं, भारतका केही कम्पनीलाई स्याम्पल पठाइसकेका छौं, भारतमा निर्यात गर्दा उसको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ, त्यो मापदण्डलाई पूरा गर्दै ठूलो मात्रामा ब्याट्री पठाउने हाम्रो तार्गेट हो,’ उनले भने ।

यसरी ब्याट्री उत्पादन स्वादेशमै हुँदा विदेशी मुद्राको बचत गर्नुका साथै बजारमा मूल्य स्थिरता ल्याउने अपेक्षा गरिएको छ । साथै यसरी उत्पादन बढ्दै गयो भने चीन, भारत जस्ता देशबाट आयात हुने ब्याट्रीको मात्रा घट्ने बताइन्छ । ‘कुनै बेला नेपालमा वार्षिक २५ सय करोड रुपैयाँको हाराहारीमा ब्याट्री खपत हुन्थ्यो, अहिलेको अवस्थामा मासिक सय करोडको ब्याट्री मार्केट छ, त्यसैले अझै उद्योग लागे पनि मार्केटले धान्छ,’ उनले भने ।
४० प्रतिशत सस्तो, आईपीओमा जाने लक्ष्य
नेपाली बजारमा निकै लोकप्रिय बन्दै गएका यी ब्याट्रीको माग दिन प्रतिदिन उच्च छ । कम्पनीले उपभोक्ताको सवारीसम्म पुग्दा दिएको सहुलियत र ब्याट्रीको गुणस्तरले यसमा प्रभाव पारिरहेको हो । अहिलेसम्म धेरै सवारीमा एसटीसीका ब्याट्री पुगिसकेका छन् ।
यो अवस्थामा ग्राहकलाई पनि सहुलियत दिँदै कम्पनीले ब्याट्रीलाई उचित मूल्य निर्धारण गरिइदिइरहेको छ । कम्पनीले उत्पादन गरेका प्रत्येक मूल्यमा एमआरपी राखेको छ । प्रबन्ध निर्देशक उप्रेतीका अनुसार बजारमा पाइने अन्य ब्याट्रीको तुलनामा यी ब्याट्री ४० प्रतिशतसम्म सस्तो पाइन्छ ।
कम्पनीले रिक्साका ब्याट्रीमा १ वर्ष, ट्रकमा ३६ र इन्भर्टरमा ६० र दुई पाङ्ग्रे इन्धनका सवारीको ब्याट्रीमा ३६ महिनाको वारेन्टी प्रदान गरेको छ । प्रबन्ध निर्देशक उप्रेतीले नेपालमै यसको उत्पादन सुरु गरियो भने यसले देशको आर्थिक, प्राविधिक र औद्योगिक विकासमा ठूलो टेवा पुर्याउन सक्ने बताए ।
यस्तै, विद्युतीय सवारी साधनको पनि महत्वपूर्ण भागको रूपमा ब्याट्रीलाई हेरिएको छ । नेपालमा विद्युतिय सवारीको विस्तार र प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले स्वादेशमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने योजना पनि कम्पनीले बनाएको छ । यति मात्र नभई कम्पनीलाई फण्डामेन्टल्ली स्ट्रोङ बनाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निकाल्ने उप्रेतीले बताए ।
उनले अहिले एसिड आयात गर्दा उद्योगीहरूले समस्या झेलि रहनुपरेको बताए । ‘आयातको प्रक्रिया मिलाएर ल्याउँदा समस्या छैन, तर पुनः अर्को पटक ल्याउनु पर्दा समस्या धेरै छ, यसलाई सहज तरिकाले आयात गर्नुपर्ने व्यवस्था मिलाउनु आवश्यक छ,’ उनले भने ।

नेपालमा एसेम्बल भइरहेका दुई पाङ्ग्रे वा चार पाङ्ग्रे कम्पनीले स्वदेशमा उत्पादन भएका ब्याट्री प्रयोग गर्दैनन् । सरकारले पनि स्वदेशी उत्पादनको प्रयोगलाई बढाउने नीति लिइराख्दा यही उत्पादन हुने ब्याट्री त्यस्ता सवारीमा प्रयोग गर्ने वातावरण बनाउनु पर्ने उप्रेतीको भनाई छ ।
इन्धनचालित सवारी साधनका लागि नेपालमै ब्याट्री उत्पादन हुनु देशको औद्योगिक विकासतर्फको सकारात्मक पाइला हो । यसले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र मूल्य प्रतिस्पर्धामा मद्दत पुर्याउनेछ । यद्यपि दीर्घकालीन सफलता सुनिश्चित गर्न सरकारले उद्योगमैत्री नीति, गुणस्तर नियमन र वातावरणीय व्यवस्थापनमा स्पष्ट दिशा निर्देशन दिन आवश्यक रहेको उप्रेतीको ठम्याई छ ।































प्रतिक्रिया