निसानका ७ वटा प्लान्ट बन्द, कर्मचारी कटौतीको घोषणा

निसानका ७ वटा प्लान्ट बन्द, कर्मचारी कटौतीको घोषणा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । प्रसिद्ध जापनिज अटो निर्माता कम्पनी निसान अहिले गम्भिर आर्थिक संकटमा परेको देखिन्छ । सञ्चालन नाफामा भारी गिरावट आएपछि निसानले ७ वटा उत्पादन प्लान्ट बन्द गर्ने र ११ हजार कर्मचारी कटौतीको घोषणा गरेको छ ।

भर्खरै सुरु भएको आर्थिक वर्षको लागि अनुमान जारी गर्न नसकेको निसानले भर्खरै समाप्त भएको वर्षको नाफा लगभग समाप्त भएको देखेपछि खर्च कटौतीका लागि अप्रिय निर्णय लिनु परेको हो ।

मार्चसम्मको १२ महिनामा सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशतले घटेर जम्मा ६९.८ बिलियन येनमा सिमित भएको कम्पनीको भनाई छ । अटोमेकरले पहिलो त्रैमासिकमा २०० अर्ब येन सञ्चालन घाटा हुने अनुमान गरेको छ ।

अमेरिका र चीनमा बिक्री कमजोर भएपछि निसानले ठूलो धक्का खेप्नुपरेको छ । साथै, होन्डासँगको मर्जर वार्तासमेत विफल भएपछि कम्पनीले हालै प्रमुख कार्यकारीलाई पनि हटाएको थियो । निसानलाई पछिल्लो समय दक्षिणपूर्बी एसिया र अन्यत्र चिनियाँ ईभीले कडा टक्कर दिइरहेको छ भने अमेरिकी ट्यारिफहरूले पनि प्रभाव पारेको देखिन्छ ।

निसानका नयाँ सीईओ इभान एस्पिनोसाले लगभग ५०० अर्ब येनको कुल लागत बचत गर्ने लक्ष्य राखेका छन् । एक समयको शक्तिशाली ब्रान्ड निसान वित्तिय रुपमा कमजोर हुन थालेपछि बजारमा पुनः फर्किन सक्नेमा विश्वस्त देखिँदैन ।

Logo