काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबार संसद्को संयुक्त बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चालु आवको तुलनामा ५.५८ प्रतिशतले बढाएर उक्त आकारको बजेट ल्याएका हुन् ।
यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो । यसमा पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ भने वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ ।
“आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत् भने ।
आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो ।
कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ रू चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रू १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट रू ५३ अर्ब ४५ करोड उठाइने अनुमान गरिएको छ । बाँकी रू पाँच खर्ब ९५ अर्ब ६६ अर्ब बराबर न्यून हुनेछ । त्यसका लागि आन्तरिक ऋणबाट रू तीन खर्ब ६२ अर्ब र बाह्य ऋणबाट रू दुई खर्ब ३३ अर्ब ६६ करोड व्यहोरिने अर्थमन्त्री पौडेलले बताए ।































प्रतिक्रिया