झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य

झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य

केन्द्रबिन्दु
15
Shares

बनियानी । झापाका कृषकले सरकारले निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य पाएका छैनन् ।

सरकारले गत फागुनमा आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको थियो । झापाका कृषकले प्रतिक्विन्टल रु एक हजार ७५० मा चैते धान बेचिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

सरकारले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने गरेको थियो ।

“मूल्य नपाएपछि कृषकहरूले रु ७०० प्रतिमन धान बेचिरहेका छन्”, उनले भने, “धान मिलहरूले कम मूल्यमा धान किनिरहेका छन्, कृषकहरूले व्यापक गुनासो गरिरहनुभएको छ ।” चैते धान भण्डारण गर्न समस्या हुने भएकाले कृषकले बेच्नैपर्ने बाध्यतामा छन् ।

गत वर्ष प्रतिमन रु एक हजारदेखि रु एक हजार २०० सम्म चैते धान बिक्री भएको थियो । सरकारले चैते धानको समर्थन मूल्य बढाए पनि कृषकले गत वर्षको भन्दा पनि निकै कम मूल्यमा धान बेच्न बाध्य छन् ।

एक बिघामा अधिकतम ९० मन धान फले पनि हालको बजार मूल्यले कृषकको लगानी मात्र उठ्ने अवस्था छ । “एक बिघामा धान खेती गर्दा रु ५०÷५५ हजार खर्च हुन्छ”, प्रमुख विष्टले भने, “अहिलेको हिसाबले धान बेच्दा रु ६३ हजार हुन्छ, नाफा नै नहुने भएपछि किसानले किन खेती गर्ने ?”

यस वर्ष झापामा २० हजार हेक्टरमा चैते धानखेती गरिएको छ । त्यसबाट करिब एक लाख मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा कृषकले हर्दिनाथ–१ र राम धान जातका चैते धानेती गरेका छन् । त्यसमा ८० प्रतिशत हर्दिनाथ–१ रहेको कार्यालयले जनाएको छ । सरकारको तथ्याङ्कअनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात गर्नुपर्ने अवस्था छ ।

Skip This
Skip This
Logo