आइएमईको यात्रा जनविश्वासको प्रतीक बनेको छ -अध्यक्ष चन्द्र ढकाल

आइएमईको यात्रा जनविश्वासको प्रतीक बनेको छ -अध्यक्ष चन्द्र ढकाल

केन्द्रबिन्दु
9
Shares

ललितपुर । आइएमई ग्रुपको संस्थापक अध्यक्ष चन्द्र ढकालले विदेशी भूमिमा श्रम गर्न गएका नेपालीहरूको पीडा सम्झेर सुरु गरिएको आइएमई अभियान अहिले जनविश्वास र राष्ट्रिय अर्थतन्त्रको आधार बनेको उल्लेख गरेका छन् ।

आइएमई ग्रुपको २३औं वार्षिकोत्सव समारोहमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले संस्थाको प्रारम्भिक यात्रा, संघर्ष, सफलताको कहानी र आगामी योजना प्रस्ट पारेका हुन् ।

उनले नेपाल राष्ट्र बैंक र मलेसिया सरकारको नीतिगत सहयोगले प्राइभेट सेक्टरलाई वैदेशिक मुद्रा कारोबारमा अवसर प्रदान गरिदिएको भन्दै विशेष धन्यवाद पनि दिए ।

आईएमईको स्थापनाकाललाई सम्झदै अध्यक्ष ढकालले भने, “सानो कोठाबाट सुरु गरेका थियौं, त्यहीँ अफिस, त्यहीँ बास, त्यहीँ खाना। त्यो दिन सम्झँदा आजको यो अवस्था सपनाजस्तै लाग्छ ।”

विदेशमा रहेका नेपालीहरूले घरपरिवारमा पैसा सजिलै पठाउन सकून् भन्ने सोचबाट सुरु गरिएको आइएमईले रेमिट्यान्स क्षेत्रमा मात्र नभई बैंकिङ, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रमा पनि सशक्त उपस्थिति जनाएको उनले बताए।

उनले कम्पनीको आधारभूत तीन सिद्धान्त पनि साझा गरे– सरकारको प्राथमिकता पाउनुपर्ने, आम नागरिकको समर्थन र हित सुनिश्चित हुनुपर्ने, र आफैँमा टिकाउ व्यवसाय हुनुपर्ने।

यही आधारमा आइएमईले व्यवसाय विस्तार गर्दै आएको उनले स्पष्ट गरे। “हामीले कहिल्यै केवल नाफाका लागि काम गरेका छैनौं। सरकार, जनताको हित र दीगो व्यावसायिकता हाम्रो मूल मन्त्र हो,” उनले भने।

एक व्यवसायको यात्रा मात्र होइन, नेपाली रेमिट्यान्स इतिहासमा निजी क्षेत्रको अग्रणी भूमिका र राष्ट्र निर्माणमा योगदानको एक सशक्त दस्तावेज हो ढकालले भने ।

Skip This
Skip This
Logo