बंगलादेशमा व्यवसायिक रुपमा पहिलोपटक विद्युत निर्यात सुरु

बंगलादेशमा व्यवसायिक रुपमा पहिलोपटक विद्युत निर्यात सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपालले आज असार १ गतेबाट तेस्रो मुलुक बंगलादेशमा व्यवसायिक रुपमा पहिलो पटक विद्युत निर्यात (विक्री) सुरु गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उक्त जानकारी गराएको हो । सोही क्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले तेस्रो मुलुकमा विद्युत निर्यात गरिरहेको यो पहिलो पटक भएका कारण खुशी भएको बताए ।

उनले भने, ‘तेस्रो मुलुकमा विद्युत निर्यात गरिरहेको यो पहिलो पटक भएका कारण खुशी व्यक्त गर्न चाहन्छौ । गएराति १२ बजेपश्चात फेरि ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गरेका छौ र यो पाँच महिना रहन्छ । यसबाट २५ करोड महिनाको आयको रुपमा प्राप्त गर्छौ । गत वर्ष पनि हामीले निर्यात धेरै गरेका थियौं र यो मुलुकका लागि महत्वपूर्ण हो ।’

एउटा आयोजनामा लाखौ मान्छेले प्रत्यक्ष रोजगारी दिने र खर्बौको राजस्व उठाउने भन्दै आन्तरिक खपतसँगै निर्यात गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताए ।
उनले भने, ‘एउटा मात्र आयोजना सुरु गर्यौ भने लाखौ मान्छेले प्रत्यक्ष रोजगारी पाउछन् भने अप्रत्यक्ष रुपमा झन धेरैले पाउँछन् । यसबाट खर्बौको राजस्व पनि उठ्छ । यो क्षेत्र नेपालको दिगो आर्थिक विकासका लागि भरपर्दो माध्यम हुने भएको कारण अझ बढी ध्यान दिएर उत्पादन गर्नुपर्छ । आन्तरिक खपतसँगै निर्यात पनि गर्ने र आन्तरिक खपतलाई भरपर्दो र सुरक्षित बनाउने लक्ष्यका साथ पनि काम गरिरहेका छौं ।’

यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हरेक वर्ष खपत वृद्धि करिब ८ देखि १२ प्रतिशतले भएको भन्दै अहिले भएको सिस्टमले यो लोडलाई थाम्न नसक्ने बताए ।

उनले भने, ‘हाम्रो खपत वृद्धि हरेक वर्ष करिब ८ देखि १२ प्रतिशत छ । यो वृद्धि भएसँगै प्रशारण र वितरण लाइन पनि त्यही हिसाबले सदृढ हुनुपर्ने कुरा स्पष्टै छ । त्यो हुन सकेन भने समस्याहरु आउन सक्छ । अहिले भएको सिस्टमले हालको लोडलाई थाम्न सक्दैन् । यसलाई सुधार गर्नुपर्छ ।’

मन्त्रालयले उर्जा विकास मार्गचित्र सार्वजनिक गरि आगामी १० बर्षभित्र सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गरि भारतमा दश हजार मेगावाट र बंगलादेशमा पाँच हजार मेगावाट गरि १५ हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्ने सम्झौता भइसकेको पनि जानकारी गराएको छ ।

मन्त्री खड्काको नेतृत्वमा २०८९ असोज १७ मा भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, बंगलादेशका विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल किवर खानबीच बंगलादेशमा ४० मेगावाट विजुली बेच्ने सम्झौता भएको थियो ।

जून १५ देखि नोभेम्वर १५, २०२५ सम्म ५ महिना नियमित विद्युत बंगलादेश विक्री गरिनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । उक्त विद्युत विक्रिवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् रु एक अर्ब २९ करोड नेपाली रुपैंया आम्दानी गर्नेछ ।

नेपालमा उत्पादित विद्युत ४०० केभी प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर, मुजफ्फरपुर– वेहरामपुर हुदै भेडामारा (बंगलादेश) सम्म निर्यात भइरहेको छ । त्रिशुली जलविद्युत आयोजनाबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट गरि ४० मेगावाट विद्युत बंगलादेश निर्यात भैइरहेको छ । विद्युत प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरि विक्री गर्ने सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरणले जुन १५ देखि भारतको हरियाणा राज्यमा पनि विद्युत निर्यात सुरु गरिसकेको छ । जेठ १८ बाट १ सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले जेठ ३१ (शनिबार) रातीदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत निर्यात सुरु गरेको छ । गएराती १२ बजेदेखि नै भारतको बिहार राज्यमा ८० मेगावाट विद्युत निर्यात सुरु गरिएको छ ।

Logo