ललितपुर । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो २३औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा संस्थाले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सम्पन्न गरेको छ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, यसले विगत सात वर्षदेखि बुंगमती, ललितपुरमा अवस्थित अपाङ्ग सेवा संघलाई वार्षिक रूपमा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आएको छ । २३औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले आगामी वर्षको लागि पनि उक्त सहयोग निरन्तरता दिने गरी अपाङ्ग सेवा संघसँग सम्झौता सम्पन्न गरेको छ।
वार्षिकोत्सवको दिन संस्थाले नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गरेको छ।
संस्थाले विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा अन्य सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । हाल, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले देशभर २३ वटा शाखा कार्यालयहरू र ४ वटा विस्तारित काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको छ। यसले एटीएम सेवा, कबाभ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवाहरू जस्ता आधुनिक बैंकिङ्ग सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ।





























प्रतिक्रिया