सूचना प्रविधि कम्पनीहरूले विदेशमा लगानी गर्न मिल्ने सरकारी निर्णयकाे नास आईटीद्वारा स्वागत

सूचना प्रविधि कम्पनीहरूले विदेशमा लगानी गर्न मिल्ने सरकारी निर्णयकाे नास आईटीद्वारा स्वागत

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज् (नास आईटी) ले नेपाल राष्ट्र बैंकले ल्याइएको ऐतिहासिक नीतिगत सुधारको स्वागत गरेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जमाउन चाहने नेपाली प्रविधि कम्पनीका लागि लामो समयदेखिको अवरोध हटाएको उसकाे विश्वास छ ।

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा गरिएको चौथो संशोधन मार्फत् २०८२ साल असार ४ गते प्रकाशित नयाँ व्यवस्थाले नेपालको सूचना प्रविधि उद्योगलाई विदेशमा लगानी गर्न कानुनी बाटो खोलिदिएको छ । नयाँ व्यवस्थाअनुसार विनियमावलीको परिच्छेद ५(क) अन्तर्गत विगत तीन आर्थिक वर्षदेखि निरन्तर सूचना प्रविधि सेवा निर्यातबाट विदेशी मुद्रा आम्दानी गर्दै आएका कम्पनीलाई विदेशमा लगानी गर्न आवश्यक विदेशी मुद्रा उपयोग गर्न अनुमति दिइनेछ ।

सो लगानी सीमा कम्पनीको पछिल्ला तीन वर्षको औसत विदेशी मुद्रा आम्दानीको ५० प्रतिशत वा अधिकतम १० लाख अमेरिकी डलर वा सो बराबरको अरु विदेशी मुद्रा मध्ये जुन कम हुन्छ, त्यतिसम्म कायम गर्न पाउनेछ । विगत केही वर्षदेखि नास आईटी र सम्पूर्ण प्रविधि समुदायले नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्न, सञ्चालन क्षमता बढाउन र नेपाललाई विश्वसनीय आईटी हबको रूपमा स्थापित गर्न यस्तो नीतिको आवश्यकता औंल्याउँदै आएका थिए ।

सरकार र नेपाल राष्ट्र बैंकले प्रविधि उद्योगको आवश्यकतालाई बुझेको र यसलाई सम्बोधन गरेकोमा नास आईटीले धन्यवाद व्यक्त गरेको छ । यो नीतिगत सुधार सरकारद्वारा २०८१ साल पुष २९ गते ल्याइएको आर्थिक तथा व्यापारिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को निरन्तरता हो।

Logo