आईएमईको डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन, दैनिक ७५ हजार बोर्ड उत्पादन गर्ने

आईएमईको डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन, दैनिक ७५ हजार बोर्ड उत्पादन गर्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थप्दै आईएमई ग्रुपले रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मा डेढ अर्ब रुपैयाँको लगानीमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा ल्याएको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । यो उद्योग नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग हो, जसले स्वदेशी निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ ।

यो उद्योगले नेपालको निर्माण क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ, जसले दिगो, वातावरणमैत्री र लागत–प्रभावी निर्माण सामग्रीको उत्पादनमा जोड दिएको छ ।

फाइबर सिमेन्ट बोर्ड उद्योगले अत्याधुनिक प्रविधिको प्रयोग गरी पूर्ण रूपमा स्वचालित (अटोमेटेड) प्रक्रियामार्फत फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्छ । कच्चा पदार्थको मिसावटदेखि बोर्ड कटिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रियाहरु पूर्ण अटोमेटेड प्रविधिमा आधारित यो उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएमसम्म मोटाइका बोर्ड उत्पादन गर्नेछ । यहाँ उत्पादन भएका बोर्डहरु लचकदार, अग्नि प्रतिरोधक र घाम–पानीले कुनै असर नगर्ने गुणस्तरको रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उत्पादनको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन । फाइबर सिमेन्ट बोर्ड विशेष गरी भवनको बाहिरी वाल, पार्टेशन, फल्स सिलिङ, मोडुलर किचेन, इको प्यानल बनाउन प्रयोग गरिन्छ । बोर्डको प्रयोग गरी इँटा र प्लास्टर बिनै घर निर्माण गर्न समेत सकिन्छ।यी बोर्डहरूको प्रयोगले निर्माण प्रक्रियालाई छिटो, सस्तो, र पर्यावरणमैत्री बनाउँछ । प्लास्टर वा रङको आवश्यकता कम हुने भएकाले लागत र समय दुवैमा बचत हुन्छ । साथै, यी बोर्डहरूको अग्नि–प्रतिरोधी र टिकाउ गुणले दीर्घकालीन सुरक्षा प्रदान गर्नेछ ।

यो उद्योगले नेपालको अर्थतन्त्र र समाजमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । हाल नेपालमा फाइबर सिमेन्ट बोर्डको ठूलो हिस्सा भारतलगायतका देशहरूबाट आयात हुन्छ तर, यो उद्योगले स्वदेशमै गुणस्तरीय बोर्ड उत्पादन गरी आयातलाई विस्थापित गर्नेछ ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले यो उद्योगलाई नेपालको औद्योगिक विकासको महत्वपूर्ण कोसेढुङ्गा मानेका छन् । उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न जोड दिने र विदेशी वस्तुको आयातमा कडाइ गर्ने नीति अवलम्बन गर्ने पनि बताए ।

आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो उद्योगले स्वदेशी सीप र स्रोतको उपयोग गरी अन्तर्राष्ट्रियस्तरको निर्माण सामग्री उत्पादन गर्न सम्भव भएको बताए । यस्तै उनले उद्योगले नेपाली बजारको माग पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखेका छन् ।

यसैगरी सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले यो उद्योगले भारतबाट आयात हुने बोर्डलाई पूर्ण रूपमा विस्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

उद्योगले हाल करिब २०० जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गर्नुका साथैं रोजगारीमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार समावेश गरेको छ ।

आईएमई ग्रुपको एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग नेपालको औद्योगिक इतिहासमा एक महत्वपूर्ण उपलब्धि हो । यो उद्योगले स्वदेशी कच्चा पदार्थ, स्थानीय सीप, र अत्याधुनिक प्रविधिको संयोजन गरी निर्माण क्षेत्रमा क्रान्ति ल्याउने सम्भावना बोकेको छ । आयात प्रतिस्थापन, रोजगारी सिर्जना, र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा यो उद्योगले महत्वपूर्ण भूमिका खेल्नेछ । साथै, वातावरणमैत्री र दिगो निर्माण सामग्रीको उत्पादनमार्फत नेपाललाई विश्व बजारमा चिनाउने अवसर यो उद्योगले प्रदान गरेको छ।

Skip This
Skip This
Logo