बाबुकाजी श्रेष्ठले ५० वर्षअघि विद्रोह गरेर जन्माएको ‘श्रेष्ठ टेलरिङ’ [भिडियोसहित]

बाबुकाजी श्रेष्ठले ५० वर्षअघि विद्रोह गरेर जन्माएको ‘श्रेष्ठ टेलरिङ’ [भिडियोसहित]

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । ५० वर्ष अगाडि बाबुकाजी श्रेष्ठले सुरु गरेको ‘श्रेष्ठ टेलरिङ’ आज सफलताको उचाईमा पुगेको छ । सानो कोठा अनि भाडामा लिएको सिलाई मेसिनबाट सुरु गरिएको थियो । सटिङ सुटिङसँग प्रत्यक्ष सम्बन्ध राख्ने वा सुट पारखीहरुलाई श्रेष्ठ टेलरिङको बारेमा थाहा नभएको सायदै कोही होला । याे श्रेष्ठ टेलरिङले सियो र धागोले पूर्ण रुप लिएको कथा हो । आज श्रेष्ठ टेलरिङ जुन अवस्थामा रहेको छ यहाँसम्म आइपुग्नका लागि अनगिन्ति आरोह अवरोहको सामना गर्नुपर्‍याे । पेशाका लागि जातीय विद्राेह गर्दा बाबुआमाबाटै बहिस्कार हुनुपर्याे । श्रेष्ठ टेलरिङको संघर्ष र सफलताको विषयमा अध्यक्ष बाबुकाजी श्रेष्ठसँग केन्द्रबिन्दुका लागि सरीता चौधरीले गरेकाे कुराकानी-

श्रेष्ठ टेलरिङ कसरी स्थापना भएको थियो र आज यो स्थानमा आइपुग्नलाई कस्तो अवस्था पार गर्नुपर्‍याे ?

-त्यो समयमा २२५ रुपैयाँको सरकारी जागिर थियो तर त्यसले खर्च धान्न धौ-धौ नै हुन्थ्यो । जागिरको वैकल्पिक रोगजारीको खोजीमा थिए । त्यसैक्रममा मलाई सिलाई बुनाई सिक्ने इच्छा जाग्यो र सिक्दै गए । असली जान्ने भएपछि घरमै भाडामा मेसिन ल्याएर काम सुरु गरेको थिए ।

विस्तारै काम राम्रो हुँदै गयो । जागिर र सिलाईको कामलाई सँगसँगै लग्दै गए त्यसपछि २०३५ सालमा सरकारी जागिर छोडेर सिलाईको माममा मात्र लागे र आज श्रेष्ठ टेलरिङ यो अवस्थामा आइपुगेको छ ।

एक त तपाईं सरकारी जागिरे हुनुहुन्थ्यो त्यसमाथि आफ्नो जातभन्दा फरक पेशालाई अंगाल्नुभएको थियो । परिवारबाट कस्तो सपोर्ट पाउनु भएको थियो ?

-त्यो समय भनेको निकै कठिन थियो । त्यति बेलाको समय भनेको अहिले जस्तो थिएन अहिले सबैले सबै काम गर्न पाउँछन् । मैले सिलाईको काम गर्दा बुवाआमा हामी त किसान हो, खेती किसानी गरेर खानुपर्छ आफूभन्दा तल्लो जातले गर्ने काम गरेको भनेर रिसाउनुभयो । उहाँहरुलाई चित्त बुझेन ।

तर मैले भने, काम सबै एउटै हो यो जातले गर्ने त्यो जातले गर्ने कहाँ लेखेको छ भनेर घरबाट निस्किएँ । बुवाआमाबाट सपोर्ट पाइनँ तर श्रीमतीले सधै साथ र सहयोग गरिन् र आजसम्म पनि साथ दिइरहेकी छिन् । बागबजारमा सानो कोठा भाडामा लिएर काम सुरु गरेको हो । धैर्यता पूर्वता निरन्तरता यसै पेशामा लागेर आज यो अवस्थासम्म आइपुगेको छु ।

५० वर्ष अगाडि तपाईंले काम गर्दा त्यस बेला कामको चाप कस्तो हुन्थ्यो र समय कसरी मिलाउनुहुन्थ्यो ?

-अहिले जस्तो कन्टेनरका कन्टेनर सामान मगाउने चलन थिएन । कामको धेरै नै चाप हुन्थ्यो । तीन, चार महिनासम्मको समय लिएर काम गर्ने अवस्था थियो । काम गरेरै नसकिने । २०/२२ वर्षको जोश र जागर थियो । त्यसैले रातभरी पनि काम गरियो । दिनमा जागिरमा जान्थे र श्रीमतीले दिनभरी अर्डर लिन्थिन् र राती म सिलाउने काम गर्थें आराम भन्ने थिएन । त्यति दुःख गरिएको थियो र आज सफलता कमाएको छु । अब रिटायर भैसकें, सबै विजनेश छोराछोरीले सम्हालिरहेका छन् । र पनि छोड्न सकिँदैन रैछ । समय बिताउनका लागि सकेको काम गर्छु ।

यो पेशा सुरु गर्दाको अवस्थालाई कसरी सम्झिनु हुन्छ ?

-महिनाको ६० रुपैयाँ भाडा तिर्ने सर्तमा मेसिन ल्याएको थिएँ । त्यो मेसिन बुवाले फिर्ता गर्दिनुभयो । त्यसकै भोलिपल्ट घर छोडेर हिँडेको थिएँ । श्रीमतीको सुनका गहना नेपाल बैंकमा धितो राखेको पैसाले मेसिन किनेर काम सुरु गरेँ ।

तपाईंले फरक पेशा रोजेकै कारण परिवारमै विद्राेह गर्नुपर्‍याे नि ?

-त्यति बेला पनि रुन मन लाग्थ्यो अहिले पनि रुन मन लाग्छ । त्यो समयमा आमाबुवाले नै त्यस्तो व्यबहार गरेको सम्झेर रुन मन लाग्थ्यो अहिले सफलता प्राप्त भएकोमा खुसीले रुन मन लाग्छ । आजको यो सफलता जुन छ भाग्यले भएको पाे होकी जस्तो पनि लाग्छ तर मेहनतको फल साँच्चिकै मिठो हुन्छ ।

वर्तमानमा श्रेष्ठ टेलरिङको अवस्था देखेर तपाईंलाई कस्तो महसुस हुन्छ ?

-रमाइलोसँगै आनन्द लाग्छ । सबै कार्यभार छोराछोरीले नै सम्हालेका छन् । म त मुखर्दशक भएको छु । यसो गर भनेर सम्झाउने, बुझाउने मात्र हो ।

यद्यपी रिटाएर भएर यत्तिकै बस्नु पनि भएन, शरीरले साथ दिएसम्म काम गर्नुपर्छ भन्नेमा विश्वास गर्छु । घरको कोठामै थुनिएर बस्दा शरीर झन् आलस्य हुन्छ । त्यसैले पसलमा नै समय बिताउने गर्छु । पसलमा आएपछि सबै परिवार यतै हुन्छ । समय बितेको पनि पत्तै हुँदैन ।

श्रेष्ठ टेलरिङको व्यवसायिक यात्रा कसरी सुरु भएको थियो ?

-एउटा कोठाबाट सुरु भएको यात्रा, एउटा सटरबाट एउटा घरमा परिवर्तन भयो । अहिले बागबजारमा २ तलामा सञ्चालन भैरहेको छ । त्यसैगरी काठमाडौंको विभिन्न स्थानमा शाखा विस्तार भएको छ । मैतिदेवी, चावहिल, चुच्चेपाटी, धुम्बराहीलगायत स्थानमा शाखा विस्तार भैसकेको छ । अरुको नोकर बन्नुभन्दा आफै मालिक भएर काम गरेको राम्रो हुन्छ ।

तपाईंले सिलाईको काम सुरु गरेको समयमा र अहिलेको समयमा ग्राहकहरुको रोजाईमा के भिन्नता पाउनुहुन्छ ?

-सबै आधुनिकीकरण भैसकेको छ । त्यतिबेला सबै हातबाट बनाइन्थ्यो । सीमित सामानहरु मात्र भारतबाट ल्याइन्थ्यो । तर अहिले सबै सामान मेसिनबाट बनाइन्छ । र मेटेरियलहरु पनि भारत, चीन, थाइल्याण्ड लगायतका देशहरुबाट ल्याउने गरिन्छ ।
मेसिनहरु पनि आधुनिक तरिकाको आएको छ, जसले गर्दा काम छिटोछरिताे हुन्छ । फिनिसिङ राम्रो हुन्छ । पहिला फिनिसिङ गर्नै एक हप्ता लाग्थ्यो ।

पछिल्लो पुस्ताले टेलरिङभन्दा फरक खालको विजनेस गर्छुभन्दा तपाईंको सुझाव के होला ?

-यो भन्दा फरक खालको विजनेश गर्छु भन्दा त्यसमा चाँही म सिफारिस गर्दिनँ । तीन पुस्तासम्म यही विजनेश छ । पढेर, बुझेर गर्ने हो भने त्यसमा सल्लाह सुझाव दिन सक्छु । यो विजनेशलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि गार्मेन्टको रुपमा काम गर्नुपर्छ ।

सिजनको समयमा तपाईंहरुलाई भ्याई-नभ्याई हुन्छ, अफसिजनमा कसरी काम गर्नुहुन्छ ?

-सुट सिलाउने सिजन भनेको विशेष गरि विवाह, व्रतवन्ध, चाडपर्व हो । यो सिजनमा काम गर्ने धेरै चाप हुन्छ । अहिले भनेको काम ठप्प जस्तै हुन्छ । त्यसैले आफ्नै डिजाइनमा रेडिमेट सुटहरु बनाउने काम हुन्छ । हामीले अर्डरको मात्र बनाउँदैनौं । रेडिमेट पनि बनाउने गर्छौं । त्यसैगरी श्रेष्ठ टेलरिङले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १०० जनालाई रोजगारी समेत दिएको छ । ग्राहकहरुलाई भरपर्दाे र विश्वसनीय रुपमा सेवा प्रदान गर्दै आएको छ । त्यसैले त लामो समयदेखि ग्राहकको मन जित्न सफल भएको छ ।

Logo