अर्जेन्टिनामाथि फिफाको छानबिन सुरु

अर्जेन्टिनामाथि फिफाको छानबिन सुरु

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । विश्वकप फाइनलपछि मैदानमा देखिएको विवादास्पद घटनालाई लिएर अर्जेन्टिनामाथि फिफाले औपचारिक छानबिन गर्ने भएको छ । फिफाले मेटलाइफ स्टेडियममा खेल सकिएपछि भएको घटनाको मूल्यांकन गर्न अनुशासन तथा नैतिकता अभियोजक नियुक्त गरेको पुष्टि गरेको छ ।

यस झडपमा संलग्न खेलाडी वा प्रशिक्षकमाथि निलम्बन हुन सक्ने सम्भावना छ । अर्जेन्टिनी फुटबल एसोसिएसनलाई जरिबाना पनि हुन सक्ने बताइएको छ । आइतबार स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका खेलाडी तथा प्राविधिक टोलीका सदस्यहरू स्पेनका खेलाडीहरू विश्वकप जितको उत्सव मनाइरहेका बेला उनीहरूसँग झडपमा उत्रिएका थिए ।

नाहुएल मोलिना, लिआन्द्रो परेदेस, थियागो अल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयाला उक्त घटनामा संलग्न देखिएका थिए । सुरुमा फिफाले स्पेनका एरिक गार्सियाको घाँटी समातेर धकेलेको आरोपमा रेफ्री स्लाभको भिन्चिचले परेदेसलाई रातो कार्ड देखाएको जनाएको थियो । तर, केही समयपछि परेदेसको रातो कार्डको अभिलेख हटाइयो र फिफाले बीबीसी स्पोर्टसलाई त्यस समयमा कुनै अनुशासनात्मक कारबाही नगरिएको पुष्टि गर्‍यो ।

अर्जेन्टिनाका एन्जो फर्नान्डेजले भने दोस्रो हाफको इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएपछि पहिले नै मैदान छाडिसकेका थिए । यसअघि सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेपछि पनि फिफाले उनीहरूमाथि सम्भावित अनुशासनात्मक कारबाहीको प्रक्रिया सुरु गरिसकेको थियो ।

न्यूजर्सीमा खेलको अन्तिम ह्विसल बज्नेबित्तिकै लियोनेल मेस्सीसहित अर्जेन्टिनाका केही खेलाडी मैदानमै बसे । अन्य खेलाडी भने स्पेनका खेलाडीहरू विजय उत्सव मनाउँदै मैदानभरि दौडिरहेका बेला स्तब्ध भएर उभिएका थिए ।

अतिरिक्त समयमा मैदानबाट बाहिरिएका रोड्री डगआउटबाट दौडिँदै आफ्ना टोलीका साथीसँग मिसिन पुगे । उनी नाहुएल मोलिनाको छेउबाट गुज्रँदै गर्दा मोलिनाले रोड्रिको हात वा पेटमा मुक्का हानेको जस्तो देखिएको थियो ।

यही घटनाले झडपको सुरुआत गराएको मानिएको छ । रोड्रीले त्यसको प्रतिवाद गरेपछि अर्जेन्टिनाका खेलाडी थप आक्रामक बने । एरिक गार्सिया आफ्ना टोलीका साथीको सहयोगका लागि दौडिएपछि लिआन्द्रो परेदेस पनि घटनास्थलमा पुगे र गार्सियाको घाँटी समाते ।

खेलमा मैदान नछिरेका वैकल्पिक खेलाडी गाभीले झडप रोक्ने प्रयास गरे पनि थियागो अल्माडाले उनलाई भुइँमा लडाइदिएका थिए । त्यसपछि परेदेसले गाभीको अनुहारमा हात राख्दै उनलाई धकेलेको दृश्य देखिएको थियो ।

यसपछि सहायक प्रशिक्षक रोबर्टो आयालाले पनि एरिक गार्सियाको घाँटी समातेको देखिएको थियो । त्यसपछि उनले स्पेनका मिडफिल्डर डानी ओल्मोलाई प्रहार गरेको जस्तो दृश्य पनि देखिएको थियो ।

बीबीसीसँग कुरा गर्दै इंग्ल्यान्डका पूर्वकप्तान एलन शियररले भने, “परेदेसले कसैको अनुहारमा दुई–तीन पटक जोडले मुक्का हाने । प्रत्यक्ष रूपमा उनीहरूमाथि जाइलागे । फुटबलमा यस्तो व्यवहारका लागि कुनै ठाउँ हुँदैन ।”

“हामीलाई थाहा छ, यो हार उनीहरूका लागि कति पीडादायी थियो । तर, हार स्वीकार गर्ने पनि एउटा मर्यादित तरिका हुन्छ,” उनले अगाडि भने, “अर्जेन्टिनाबाट हामीले यस्ता व्यवहार पहिले पनि देखेका छौँ । अन्तिम ह्विसलपछिको यो प्रतिक्रिया भयानक थियो ।” पूर्वगोलकिपर जो हार्टले, “खेल सकिइसकेको थियो। आज जे भयो त्यसमा उनीहरूले कुनै गुनासो गर्न सक्दैनन् । यो घृणास्पद व्यवहार हो ।”

तर, अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने घटनालाई सामान्य रूपमा प्रस्तुत गर्ने प्रयास गरे । “हामी जीतमा उदार हुन्छौँ भने हारमा पनि त्यस्तै हुनुपर्छ । आज हामीले हार स्वीकार गर्न जान्दछौँ भन्ने देखाएका छौँ,” उनले भने, “हामीले खेल गुमायौँ र त्यसलाई स्वीकार गर्छौं । तर, त्यसको अर्थ यहाँसम्म आइपुग्न गरेका सबै प्रयासहरू बिर्सिनु होइन ।”

फिफाको अनुशासन समितिसँग विभिन्न प्रकारका कारबाही गर्ने अधिकार छ । अनुशासन तथा नैतिकता अभियोजक नियुक्त गरिएकाले अब सम्भावित हिंसात्मक व्यवहार मात्र होइन, अन्य सबै सम्भावित उल्लंघनको विस्तृत अनुसन्धान हुने बताइएको छ । खेलाडी वा राष्ट्रिय संघ दोषी ठहरिए कडा कारबाही हुन सक्छ ।

फिफाको अनुशासन संहिताको धारा १३ मा अपमानजनक व्यवहार तथा फेयर प्लेका सिद्धान्तहरूको उल्लंघनसम्बन्धी व्यवस्था छ । यसअन्तर्गत सभ्य व्यवहारका आधारभूत मान्यताको उल्लंघन तथा फुटबल वा फिफाको प्रतिष्ठामा आँच पुर्‍याउने व्यवहारलाई कारबाहीयोग्य मानिन्छ ।

अनुशासन तथा नैतिकता अभियोजकले घटनाको गम्भीरता, परिस्थिति तथा अन्य सान्दर्भिक पक्षको मूल्यांकन गर्नेछन् । आवश्यक परे विश्वव्यापी प्रतिबन्धसमेत लगाउने अधिकार फिफासँग छ ।

यसअघि स्पेनले महिला विश्वकप जितेपछि जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको घटनामा तत्कालीन स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई यही धाराअन्तर्गत तीन वर्षका लागि सबै फुटबल गतिविधिबाट प्रतिबन्ध लगाइएको थियो ।

सन् २०१४ को विश्वकपमा इटालीका जर्जियो चिएलिनीलाई टोकेको आरोपमा उरुग्वेका स्ट्राइकर लुइस सुआरेजलाई चार महिनाका लागि सबै फुटबल गतिविधिबाट निलम्बन गरिएको थियो ।यद्यपि अल्माडा, आयाला, मोलिना र परेदेसले त्यति लामो प्रतिबन्धको सामना गर्नुपर्ने सम्भावना भने कम रहेको विश्लेषण गरिएको छ ।

अर्जेन्टिनी फुटबल एसोसिएसनले विगत केही वर्षदेखि आफ्ना खेलाडीहरूको व्यवहारका कारण पटक–पटक अनुशासनात्मक प्रश्नहरूको सामना गर्दै आएको छ ।

सन् २०२२ को विश्वकप फाइनलपछि पनि अर्जेन्टिनामाथि अपमानजनक व्यवहार, फेयर प्लेका सिद्धान्त उल्लंघन तथा खेलाडी र अधिकारीहरूको दुव्र्यवहार सम्बन्धी आरोप लागेको थियो ।

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेपछि गोलकिपर एमिलियानो मार्टिनेजले ‘गोलकिपर अफ द टुर्नामेन्ट’ ट्रफी लिएर अश्लील हाउभाउ प्रदर्शन गरेका थिए । त्यसपछि ड्रेसिङ रुममा फ्रान्सका कप्तान केलियन एमबाप्पेको खिल्ली उडाइएको भिडियो सार्वजनिक भएको थियो ।

त्यतिबेला एएफएलाई १८ हजार ३०० पाउन्ड जरिबाना गरिएको थियो । तर, कुनै खेलाडीमाथि थप कारबाही गरिएको थिएन । सन् २०२४ मा मार्टिनेजलाई चिली र कोलम्बियाविरुद्धको विश्वकप छनोट खेलअघि अपमानजनक व्यवहार गरेको आरोपमा दुई खेलको प्रतिबन्ध लगाइएको थियो ।

कोपा अमेरिका जितेपछि पनि चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोका कारण माफी माग्नुपरेको थियो । फ्रान्सेली फुटबल महासंघले उक्त गीतलाई नश्लवादी र भेदभावपूर्ण भन्दै विरोध जनाएको थियो ।

यसअघि सन् २०१४ मा पनि स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यस्तै ब्यानर प्रदर्शन गरेपछि एएफएलाई २० हजार पाउन्ड जरिबाना गरिएको थियो । फकल्यान्डसम्बन्धी ब्यानर प्रदर्शन गर्ने क्रिस्टियन रोमेरो, जिओभानी लो सेल्सो र लिसान्ड्रो मार्टिनेजजस्ता खेलाडीहरूमाथि पनि कारबाही हुन सक्ने अनुमान गरिएको छ ।

यूईएफएले युरो २०२४ को फाइनलपछि जिब्राल्टर स्पेनको हो भन्ने नारा लगाएको आरोपमा स्पेनका कप्तान अल्भारो मोराटा र रोड्रिलाई एक खेलको प्रतिबन्ध लगाएको थियो ।

फिफाको अनुसन्धान कहिले टुंगिने भन्ने निश्चित समयसीमा भने तोकिएको छैन । यस्तै प्रकृतिको एक घटनामा यूईएफएले फेब्रुअरीमा अनुसन्धान सुरु गरेर अन्तिम निर्णय दिन दुई महिनाभन्दा बढी समय लगाएको थियो । बीबीसी

Logo