काठमाडौं । सरकारले बितेको वर्ष राष्ट्रिय विद्युत् प्रणालीमा ९४२ मेगावाट नयाँ विद्युत् थप्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा ३८१ मेगावाट कम विद्युत् उत्पादन भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा गत आर्थिक वर्षभर २५ वटा जलविद्युत् तथा सौर्य आयोजनाबाट ५६०.९९ मेगावाट (करिब ५६१ मेगावाट) विद्युत् मात्रै थपिएको हो ।
यससँगै सरकारको लक्ष्यको तुलनामा ३८१ मेगावाट कम विद्युत् उत्पादन भएको देखिएको छ । यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा थपिएको ४३४ मेगावाटको तुलनामा भने गत वर्षको उत्पादन करिब १२७ मेगावाटले बढी हो ।
गत आर्थिक वर्षमा राष्ट्रिय प्रणालीमा थपिएको विद्युत्मध्ये अधिकांश हिस्सा नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत् आयोजनाका हुन् । साना तथा मध्यम क्षमताका आयोजना धेरै सञ्चालनमा आए । तर, सरकारले अपेक्षा गरेका केही ठूला आयोजना समयमै सम्पन्न हुन नसक्दा लक्ष्य हासिल हुन सकेन ।
निर्माणमा ढिलाइ, प्रसारण लाइनको समस्या, वित्तीय व्यवस्थापन तथा प्राविधिक चुनौतीका कारण धेरै आयोजना तोकिएको समयमा सञ्चालनमा आउन नसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा ठूलो आयोजना मध्यभोटेकोशी जलविद्युत् आयोजना थप भएको हो । निर्माण सुरु भएको झण्डै १४ वर्षमा आयोजनाले विद्युत् उत्पादन सुरु गरेको थियो ।
यो नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी मध्यभोटेकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको १०२ मेगावाट क्षमताको आयोजना हो । मध्यभोटेकोसीले ०८२ असार २० गते व्यावसायिक उत्पादन सुरु गरेको थियो । त्यसपछि लोअर सोलु जलविद्युत् आयोजना ८२ मेगावाट क्षमतासहित ०८२ वैशाख २४ गते सञ्चालनमा आएको थियो ।
यस्तै मेवा खोला जलविद्युत् आयोजनाबाट ५० मेगावाट विद्युत् २०८३ फागुन २८ गते, अपर राहुघाटबाट ४८.५ मेगावाट ०८२ असार ७ गते तथा राहुघाट मंगले ३५.५ मेगावाट ०८२ वैशाख २० गते उत्पादन सुरु भएको थियो ।
त्यस्तै, मदामे खोलाबाट २४ मेगावाट, माथिल्लो ठूलो खोला–एबाट २२.५ मेगावाट, काबेली–३ बाट २१.९३ मेगावाट, थुलो खोलाबाट २१.३ मेगावाट, सागु खोलाबाट २० मेगावाट, लाङटाङ खोलाबाट २० मेगावाट, लोअर इर्खुवाबाट १३.०४ मेगावाट, अपर तादीबाट ११ मेगावाट गत आर्थिक वर्षमा प्रणालीमा आएको छ ।
यस्तै सिद्धी खोलाबाट १० मेगावाट, दारम खोलाबाट ९.६ मेगावाट, धुहबी सोलार परियोजनाबाट ८ मेगावाट, हिडी खोलाबाट ६.८२ मेगावाट, बुकु खोलाबाट ६ मेगावाट, सागु खोला–१बाट ५.५ मेगावाट छन् ।
त्यसरी सोलार पीभी परियोजना, ढल्केबरबाट ५ मेगावाट, बुकु कपातीबाट ५ मेगावाट, अपर पिलुवा खोला–३ बाट ४.९५ मेगावाट, खोरुङ्गा खोलाबाट ४.८ मेगावाट, सेती खोलाबाट २२ मेगावाट, अपर गड्डीगाडबाट १.५५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएको छ ।
यी आयोजनामध्ये ग्लोबल इनर्जी एण्ड कन्स्ट्रक्सन प्रालिको धुहबी सोलार परियोजना र ग्रीन इन्फ्रास्ट्रक्चर प्रालिको ढल्केबर सोलार पीभी परियोजनाबाहेक सबै आयोजना नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना हुन् ।
सरकारले निर्धारण गरेको ९४२ मेगावाटको लक्ष्य पूरा हुन नसक्नुले ऊर्जा विकासमा अझै संरचनागत चुनौती देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी बताउँछन् ।
सरकारले यो वर्ष एक हजार ४० मेगावाट प्रणालीमा थपिने जनाएको छ । हाल प्राधिकरणको प्रणालीमा जडित क्षमता ४३ सय मेगावाटको हाराहारीमा छ । अधिकांश नदी प्रवाही आयोजना निर्माण हुँदा वर्षायाममा विद्युत् उत्पादन उच्च हुने र हिउँदमा भने भारतबाट किन्न पर्ने अवस्था छ । सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट जलविद्युत् आयोजना निर्माण गर्ने कार्ययोजना कार्यन्वयनमा छ ।































