‘पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको आधार हो’

‘पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको आधार हो’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताउँदै यसको विकास र प्रवर्द्धनका लागि समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अर्थतन्त्र डटकमले एक दशक पार गरेको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमको अवसरमा आयोजित ‘अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यन्वयन र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले यासतार्ग जोड दिएका हुन् ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताए । अर्थमन्त्री पौडेलले मुलुकको समृद्धिका लागि धेरै विकल्प भएपनि त्यसमध्ये पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका हुन् । विदेशी मुलुकले सबैथोक बनाएपनि नेपालको जस्तो प्राकृतिक झरना, नदी वा लुम्बिनी, पशुपति क्षेत्र बनाउन नसक्ने समेत दाबी गरे ।

शनिबार ‘पर्यटनमा बजेट प्रथमिकता, कार्यान्वयन र उपलब्धी’ विषयक कार्यक्रममा बोल्दै उनले विश्वको सबैभन्दा उत्कृष्ट र राम्रो देश भनेको नेपाल हो भनेर चिनाउनुपर्ने बताउँदै उनले संसारको सबैभन्दा लामो केबलकार नेपालमा बनाउने हो भने आर्थिक विकासमा सहयोग पुग्ने समेत दाबी गरे ।

पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र नपुग्ने भएकाले विदेशी सहयोग अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो । सरकारले गरिरहेका काम बारे जनताले मूल्यांकन गरिरहेकाले सजकताका साथ काम गर्नुपर्ने पनि औंल्याए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे पर्यटन क्षेत्रको नीतिगत सुधारको प्रयासमा रहेको बताए । पर्यटन क्षेत्र जति चलायमान भयो त्यति नै अर्थतन्त्रमा सपोर्ट गर्ने उनले बताए। बजेट बनाउँदा चाहेजस्तो नभएको उनले स्वीकार गरे। बजेट निर्माणमा योजना माग्ने अथवा दिने भन्दा योजना निर्माण गर्नुपर्ने उनको भनाइ छ । पर्यटनलाई अझ विस्तार गर्न सके यो क्षेत्रलाइ अझ चलायमान बनाउन सकिने उनले बताए।

त्यसैगरी, कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड भएको बताएका छन् । नेपाल घुम्न आउने पर्टकहरुले विशेषगरी सडक पूर्वाधारको समस्या भोग्नु परेकाले पर्यटकको नेपाल बसाइ घटेको उनको भनाइ छ ।

‘त्यसकारण पुर्वाधार निर्माण पर्यटनका लागि मुख्य मेरुदण्ड हो । होटेलहरुपनि कुनै निश्चित क्षेत्रमा मात्र केन्द्रीत छन् । भएका होटलहरुले पनि सुरक्षाको अभावमा राति ९ बजे नै बन्द गर्नुपर्ने अवस्था छ,’उनले भने, सरकारले पर्यटन क्षेत्रमा भएका होटेलहरुलाई सुरक्षा प्रबन्धको व्यवस्था गरेर पर्यटकहरु आगमनको अवस्था अनुसार राति अबेर सम्म सञ्चालन गर्नसक्ने व्यवस्था मिलाउनुपर्छ ।’ पर्यटनको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन सरकार, निजी क्षेत्र सबैको सहयोग आवश्यक पर्ने उनले बताए । पछिल्लो समय पूर्वी एशिया विश्वकै ठुलो अर्थतन्त्र ओगटन सक्ने केन्द्र बन्दै गएको सन्दर्भ जोड्दै उनले नेपालका दुई ठुला छिमेकी राष्ट्र चीन र भारतका पर्यटकहरुलाई मात्र पनि नेपाल घुम्न आउन आकर्षण गर्न सकेमा पर्यटन क्षेत्रले अझ राम्रो गती लिनसक्ने पाण्डेले बताए।

त्यसैगरी, अर्थतन्त्र डटकमका प्रशासक तथा प्रधान सम्पादक रामेश्वर कार्कीले पर्यटन समृद्धिको आधार भएको बताए। पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरू के-के छन् भन्ने कुरालाई प्रकाश पार्न सो कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रममा पर्यटनको २ वटा आर्टिकल समावेश गरेर अर्थतन्त्र जर्नल पनि लोकार्पण गरिएको छ।

Logo