काठमाडौं ।
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । विभागले ९ औं राष्ट्रिय कर दिवसको अवसर पारेर आइतबार सबैभन्दा बढी कर बुझाउने करदाताहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा आव ०७५/०७६ को आय विवरणका आधारमा सबैभन्दा बढी आयकर तिर्ने र आव ०७६/०७७ मा उत्कृष्ट कर सहभागिता जनाई मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने करदाता छन् । सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा जावलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाह सम्मानित भएका छन् । ०७५/०७६ मा निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने डाबर नेपाल प्रालि र सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर लिमिटेड सम्मानित भएका छन् ।
यस्तै विभागले कृषि एवं पशुपन्छीजन्य उद्योगमा अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र बैंक वित्तीय संस्थामा नबिल बैंक लिमिटेडलाई सम्मान गरेको छ । बीमा व्यवसायमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, शिक्षा सेवामा मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालि, विप्रेषणको कारोबार गर्नेमा आईएमई लिमिटेड र व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड प्रालि सम्मानित भएका छन् ।
पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रमा कामना सेवा विकास बैंक लिमिटेड, आन्तरिक राजस्व कार्यालयहरूको कार्य क्षेत्रमा भीएफ सर्भिसेज (मोरिसस) प्रालि र मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट इन्डस्ट्री प्रालिलाई सम्मान गरिएको छ ।
विभागले कानुनी व्यवस्थासहित आयकरको सुरुवात भएको छ दशक र भ्याट सुरु भएको दुई दशक पूरा भएको अवसर पारेर करदाताहरूलाई सम्मान गर्ने गरेको छ । विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कोभिड–१९ का कारणले यो वर्ष भर्चुअल प्रणालीमार्फत आन्तरिक कार्यालयहरू र करदाता सेवा कार्यालयहरूले राष्ट्रिय कर दिवस मनाएको बताए । साथै विभागले मंसिर १ गतेदेखि ७ गतेसम्म कर दिवसमा सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गरेको थियो ।कान्तिपुरबाट































प्रतिक्रिया