काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रको सम्मान नै समृद्धिको आधार भएको बताएका छन् । ‘महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सीआईपी) सम्मान कार्यक्रम’मा बाेल्दै अध्यक्ष ढकालले यस्ताे बताएका हुन् ।
निजी क्षेत्रको विकास र विस्तारमा सरकारको भूमिकाप्रति आभार व्यक्त गर्दै उनले भने, ‘यसले व्यवसायीलाई सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहन गर्दछ । अन्तर्राष्ट्रिय अभ्यास अनुसार यसरी सम्मानित हुने व्यक्तिहरुलाई सरकार र समाजले निक्कै महत्व दिएको हुन्छ । सरकारका सबै मन्त्रालयहरुले यसको महत्व आत्मसात गरेका हुन्छन् ।’
अध्यक्ष ढकालले सरकारले लगानीसम्बन्धी कानुनमा गरेको संशोधन, द्विपक्षीय लगानी प्रवद्र्धन सम्झौताको खाका तयारी, सुधार आयोग गठन, र सुशासन आयोग स्थापनालगायतका कार्यको सराहना गरे । उनले भने, “प्रधानमन्त्रीज्यूले सुशासन आयोग गठन गरी निजी क्षेत्रलाई समावेश गर्ने आशय व्यक्त गर्नुभएको छ, जसका लागि म आग्रह गर्दछु। यी सबै प्रयासका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारलाई धन्यवाद दिन चाहन्छु।”

उनले विमानस्थलमा विशेष प्रवेश, भिआइपी लाउन्ज सुविधा, र आन्तरिक तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागितामा विशेष महत्व दिनुपर्ने सुझाव पनि दिए । “नेपालमा सीआईपी लाउन्ज नबनेसम्म भिआइपी लाउन्जको सुविधा र आन्तरिक विमानस्थलमा समेत सीआईपी लाउन्जको व्यवस्था उपयुक्त हुन्छ,” उनले भने।
नेपालको निर्यात क्षमतालाई वार्षिक १० खर्ब पु-याउन सकिने र विदेशी लगानीलाई हालको ०.२ प्रतिशतबाट केही वर्षमै १० प्रतिशत पु-याउन सकिने सम्भावना रहेको बताउँदै ढकालले पछिल्लो दुई वर्षमा चीन, भारत, दुबई, थाइल्याण्ड, र हालै स्पेनको सिभिया र म्याड्रिडमा आयोजित बिजनेस समिटमार्फत लगानी जुटाउने प्रयास भएको उल्लेख पनि गरे। “विश्वका विभिन्न मुलुकका लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक छन्,” उनले भने।
कार्यक्रममा सम्मानित महासंघका वस्तुगत संघ, एसोसिएट सदस्य, र अन्य संस्थाहरूको योगदानको प्रशंसा गर्दै ढकालले निजी क्षेत्रको मर्यादाक्रम स्थापित गर्नुपर्नेमा जोड दिए। उनले भने, “निजी क्षेत्रको सम्मान, समृद्धिको आधार हो। यो नारालाई कार्यान्वयनमा ल्याउन म सरकारसँग विनम्र अनुरोध गर्दछु।”





























प्रतिक्रिया