‘नाइमा’ र ‘नाडा’ आमनेसामनेः दुई फरक अटो शोमा कसको वर्चस्व ?

‘नाइमा’ र ‘नाडा’ आमनेसामनेः दुई फरक अटो शोमा कसको वर्चस्व ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा यो वर्ष एक ऐतिहासिक मोड ल्याउने संकेत देखिएको छ । नेपाली अटोमोबाइल इतिहासमै पहिलोपटक एकै प्रकृति र एउटै ठाउँमा फरक–फरक संस्थाले अटो शो आयोजना गर्न लागेका हुन्, यी शो दुई साताको अन्तरमा हुनेछन् । यी २ वटै शोले अटो बजारलाई प्रर्दशनीमार्फत प्रस्तुत गर्नेछन् ।

काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ र ‘नाडा अटो शो २०२५’ चल्ने भएका छन्। जुन नेपाली बजारका लागि निकै चासोको विषय बनेका छन्। पहिलो शोको आयोजना नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले साउन २१ देखि २५ गतेसम्म गर्दैछ। गत वैशाखमा मात्र गठन भएको नाइमाले पहिलोपटक आयोजना गर्न लागेको अटो शो गर्न हो। नाइमाले सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको जनाएको छ।

नाइमाको शोपछि, भदौ ३ देखि ८ गतेसम्म नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो १८औं संस्करणको अटो शो गर्ने तयारी गरेको छ ।

नाइमा र नाडा मूलतः एउटै उद्देश्य बोकेका दुई संस्था हुन् । तर, गत वर्ष नाडाबाट केही व्यवसायीहरू छुटिएर नाइमा स्थापना गरेपछि, यसपालि पहिलोपटक दुवै संस्थाले आ–आफ्नै अटो शो छुट्टाछुट्टै आयोजना गर्न लागेका हुन्।

ब्राण्ड सहभागीताको हिसाबले यसपटक नाइमाको मोबिलिटी एक्स्पो बढी आकर्षक देखिएको छ। नाइमाको शोमा कुल ४८ वटा ब्राण्डले भागलिँदै छन्, जसमा २१ वटा चारपाङ्ग्रे, १८ वटा दुईपाङ्ग्रे र ९ वटा कमर्शियल ब्राण्ड छन्। नाइमामा कम्पोनेन्टको भने सहभागिता रहने छैन । यता नाडाको अटो शोमा ३५ ब्राण्ड रहनेछन्, जसमा १८ वटा चारपाङ्ग्रे, ४ वटा दुईपाङ्ग्रे र १३ वटा लाइट कमर्शियल सवारी ब्राण्ड छन्। नाइमाको शोमा १३ ब्राण्डले बढी सहभागिता जनाउँदै छन्।

स्टल संख्यामा भने नाडा अगाडि देखिन्छ। नाडा अटो शोमा कुल ७५ वटा स्टल रहने छन्, भने नाइमाको शोमा ४८ वटा मात्र स्टल रहने छन्।

नाडाले बैंक, बीमा कम्पनी, लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स जस्ता कम्पोनेन्ट कम्पनीहरूका लागि समेत ४० वटा स्टल छुट्याएको छ। यता नाइमाले भने सवारी ब्राण्डका लागि मात्र स्टल छुट्याएको छ। यसले नाडा अटो शोलाई बढी समग्रतामा प्रस्तुत गर्ने संकेत दिन्छ। दुवै संस्थाले अहिले तयारी तीव्र बनाएका छन् । प्रचार प्रसार, लेआउट डिजाइन, कभरिङ मेटेरियल निर्माण लगायतका कार्य अघि बढिरहेका छन्।

दुई संस्थाले फरकफरक अटो शो गर्ने भएपनि कतिपय ब्राण्डले दुवैमा सहभागिता जनाउने भएका छन्। कुल ७ व्यावसायिक ब्राण्डले दुवै शोमा सहभागी जनाउने भएका छन्। चारपाङ्ग्रेमा बीवाइडी र एलएस अटो रहेका छन्। दुईपाङ्ग्रेमा रोयल इनफिल्ड रहने भएको छ । कमर्शियलतर्फ डोङफेङ, सनलङ, किङलङ र कामा रहेका छन्।

यस वर्षको नाडा अटो शो २०२५ मा टाटा, टेस्ला, सुजुकी, एक्सपेङ, स्काइवेल, बीवाइडी, फोटोन दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, रिडारा,जेवाइ एयर, जिनपेङ लगायत ब्राण्डको सहभागिता रहने भएको छ।

दुई पाङ्ग्रेतर्फ हिरो, यामाहा, जोनसन र रोयल इनफिल्डले पनि सहभागिता जनाउने भएका छन् । लाइट कमर्शियल भेहिकल ब्राण्डतर्फ न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवासी/किङलङ, मोन्त्रा, स्काइवर्थ, कावेई/नाभेको, सनलङ जस्ता ब्राण्डले सहभागिता जनाउनेछन्।

यता नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भने बीवाइडी, हुन्डाई, सिट्रोन, टोयोटा, महिन्द्रा, निसान, एमजी, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, केई, किया, लीपमोटर, एलईभी १, मेक्सस, माज्दा, एमजी, ओमोडा एण्ड जेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर जस्ता ब्राण्ड सहभागी हुने भएका छन्।

दुईपांग्रेतर्फ बजाज, बेनिली, एम्पियर, एथर, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जिहो जस्ता ब्राण्डको सहभागीता रहने भएको छ ।

कमर्शियलमा डोङफेङ, किङलङ, सनलङ, चेरी वान्डा, हाउजी, कारी, फारिजोन आदि रहने भएका छन्। हाल दुबै तर्फका कतिपय ब्रान्डले अटो शोमा सार्वजनिक गर्ने नयाँ गाडी नेपाल भित्र्याउन सुरु गरिसकेका छन्।

यसपटक नेपालको अटो बजारमा विगत पाँच दशकदेखि एकलौटी राज गरिरहेको नाडालाई भने ठुलो धक्का लागेको छ । एकैस्थान र समान प्रकृतिको यी दुई फरक अटो शोले नेपाली अटोमोबाइल बजारमा प्रतिस्पर्धा मात्र होइन, विकल्पको सम्भावना पनि देखाएको छ । यसपटक उपभोक्ताहरूले फरक अवधारणाका दुई अटो शो अनुभव लिने अवसर पाउने भएका छन्।

Skip This
Skip This
Logo