दिपलः नेपालको ईभी बजारमा ‘गेम चेन्जर’

दिपलः नेपालको ईभी बजारमा ‘गेम चेन्जर’

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण दिनप्रतिदिन तीव्र गतिमा उकालो लागिरहेको छ । अब गाडी केवल सवारीको माध्यम होइन, स्वच्छ ऊर्जा, प्रविधिको सौन्दर्य, र भविष्यप्रतिको जिम्मेवारीको प्रतीक बनेको छ ।

यो बदलिँदो सोचसँगै, गाडी वितरक कम्पनीहरू पनि चुप लागेर बस्न कहाँ सक्थे र ? एउटापछि अर्काे गर्दै नयाँ ईभी मोडलहरू सार्वजनिक गर्दै छन्, जसरी हिउँदको बिहानपछिको घामले एकपछि अर्काे फूलहरू फक्राउँदै लग्छ । ईभीको भिडमा उदाएको अर्काे ईभी हो, ‘दिपल’ । अटोमोबाइल प्रविधिको ‘चमत्कार’को रूपमा दिपललाई लिइन्छ ।

सन् २०२४ मा नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ ‘दिपल ई०७’ सार्वजनिक गरेको थियो ।

अहिले नेपाली बजारमा ई०७, एस०७, एल०७ र एस०७एल गरि ४ वटा मोडलहरु रहेका छन् । नेपालमा दिपल ईभीले छोटो समयमै राम्रो बजार पाएको छ । कम्पनीले नेपालमा सञ्चालनको पहिलो वर्ष पूरा गर्दा २०८१ चैत सम्म ८०० भन्दा बढी गाडी बिक्री गरेको छ । यस भन्दा पछाडिको तथ्यांक भने उपलब्ध भएको छैन । यो आँकडाले दिपलको नेपाली बजारमा बढ्दो लोकप्रियताको सूचकलाई झल्काउँछ ।

कुन मोडल कस्तो ?

दिपल ई०७ः नेपालमा लन्च भएको दिपलको सबैभन्दा नयाँ र प्रिमियम एसयूभी मोडल हो । यो अझ ठूलो ब्याट्री क्षमता र उच्च प्रदर्शनका साथ आएको छ । यसको मुख्य विशेषता भनेको यसको परिवर्तनशील डिजाइन हो, जसले यसलाई एसयूभीबाट पिकअप ट्रकमा रूपान्तरण गर्न सकिन्छ ।

नेपालमा दिपल ई०७ को प्रारम्भिक मूल्य १ करोड ३ लाख ९९ हजार (आरडब्लुडी भेरिएन्ट) बाट सुरु हुन्छ भने (एडब्लुडी भेरिएन्टको) मूल्य १ करोड ९९ लाख ९९ हजार सम्म हुन्छ । यस ईभिको ८९.९८ किलो वाट क्षमताको ब्याट्री हुन्छ । ५६६ किलोमिटर रेन्स दिने ( डब्लुएलटीपी , आरडब्लुडी भेरिएन्टका लागि) र (डब्लुएलटीपी , एडब्लुडी भेरिएन्टका) लागि ४९० किलोमिटरको रेन्ज दिन्छ ।

परिवर्तनशील डिजाइनस् यसलाई एसयूभीबाट बटन थिचेर पिकअप ट्रकको रूपमा प्रयोग गर्न सकिन्छ, जसले व्यावहारिकता बढाउँछ । मोटर्स १९० किलोवाट मोटर (आरडब्लुडी) र ४४० किलोवाट मोटर (एडब्लुडी) भेरिएन्टमा । यो इभि गाडीमा १५ मिनेट मै ३० प्रतिशत बाट ८० प्रतिशत चार्ज हुने क्षमता रहेको हुन्छ । ६ किलो वाट सम्मका बाहिरी उपकरणहरू चलाउन सकिन्छ । जुन क्याम्पिङ वा आपत्कालीन अवस्थाका लागि उपयोगी छ ।

यसमा आरादायी, जिरो ग्रयाबिटी, भेन्टिलेटेड र मेमोरी सिटको सुविधा रहेको छ । ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ , त्यसैले यो नेपाली सडकका लागि उपयुक्त मानिन्छ ।

दिपल एस०७ /एस०७एलः यो दिपलको सर्वाधिक लोकप्रिय मोडल हो । यो एक फ्युचरिस्टिक डिजाइनको एसयुभी हो । यसको एल भेरियन्ट (एसओ७एल) अलि लामो रेन्जको हुन्छ । आकर्षक र फ्युचरिस्टिक डिजाइन, ठुलो आकार, अत्याधुनिक सुविधाहरु, रेन्ज,जस्ता आकर्षक विशेताहरु यसको रहेको छ । यस मोडलको गाडी भित्र ठुलो इन्फोटेनमेन्ट स्क्रिन, डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर, र अन्य प्रिमियम सुविधाहरूका कारण यो मोडल ग्राहकको रोजाइमा पर्दै आएको छ ।

सुरक्षाको हिसावले पनि यो ईभी प्रयोगका लागि उत्तम रहेको छ । सुरक्षाका लागि ६ वटा एयरब्याग, एन्टी–लक ब्रेकिङ सिस्टम (एबिएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (इबिडी), ट्राक्सन कन्ट्रोल सिस्टम (टिसिएस), इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम (इएसपी) लगायतका फिचरहरू छन् ।

यसका साथै, यसमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) पनि उपलब्ध छ, जसमा अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा, फ्रन्टररियर पार्किङ राडार, एडाप्टिभ क्रुज कन्ट्रोल, अपहिल/डाउनहिल असिस्ट जस्ता सुविधाहरू रहेको छ ।

एस०७को रेन्ज करिब ५२० किलोमिटर (एनइडिसी) र एस०७एलको रेन्ज करिब ६२० किलोमिटर (एनइडिसी) रहेको छ । एस०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ भने, एस०७एल को मूल्य ८४ लाख ९९ हजार रुपैयाँपर्छ ।

दिपल एल०७ः यो दिपलको सेडान मोडल हो । जसले स्टाइल र कार्यक्षमताको संयोजन प्रदान गर्छ । यसको लुक्स स्पोर्टी र एलिगेन्ट दुवै छ । भित्रपट्टि सफा र मिनिमलिस्टिक डिजाइनका साथै उच्च प्रविधिको प्रयोग गरिएको छ ।

यसमा सेडान मोडल भएकाले यसले सडकमा राम्रो पकड र राम्रो ड्राइभिङ अनुभव दिन्छ । यसमा पनि आधुनिक सुरक्षाका फिचरहरू र आरामदायी सुविधाहरू छन् । करिब ५१० किलोमिटर (एनइडिसी ) रेन्ज रहेको यसको मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

दिपलका ईभीहरू नेपाली बजारमा ठूलो साइज, फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक सुविधा र प्रतिस्पर्धात्मक मूल्यका कारण लोकप्रिय बनेका छ । कम्पनीले बिक्री बढेसँगै चार्जिङ पूर्वाधारको विस्तारसहित ईभी इकोसिस्टममा पनि ध्यान केन्द्रित गर्दै गएको छ ।

Logo