नाइमा मोबिलिटी एक्सपाेमा सनलङका दुई मोडल लन्च हुँदै, के छ विशेषता र कति पर्छ मूल्य ?

नाइमा मोबिलिटी एक्सपाेमा सनलङका दुई मोडल लन्च हुँदै, के छ विशेषता र कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । चीनको प्रसिद्ध सवारी निर्माण कम्पनी सांघाई सनलङका विद्युतीय गाडीहरू पनि नेपाली बजारमा भित्रिएका छन् ।

विभिन्न प्रकारका बस, ट्रक, कोच र विशेष गाडीहरू निर्माणमा विशेषज्ञता हासिल गरेको यो कम्पनीले सन् २००६ देखि नै विश्व बजारमा निर्यात सुरु गरिसकेको छ । नेपालमा सनलङ गाडीहरू भित्र्याउने अधिकारिक वितरक ब्लु कर्पाेरेसन प्रा. लि. रहेको छ, जुन वेबर ग्रुपको एक हिस्सा हो। ब्लु कर्पाेरेसनले हालै सनलङका कार्गाे भ्यान र माइक्रोभ्यान मोडेलहरू नेपाली बजारमा प्रस्तुत गरेको छ ।

वातावरणमैत्री प्रविधिमा आधारित यी गाडीहरू नेपाली भौगोलिक बनोट र व्यावसायिक आवश्यकतालाई मध्यनजर गर्दै डिजाइन गरिएको कम्पनीले दाबी गर्ने गरेको छ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो दिनप्रतिदिन बढिरहेको सन्दर्भमा सनलङको प्रवेशले बजारमा नयाँ उत्साह थपेको छ । सन् २०२५ भित्रै नेपाल आएका यी सवारीहरूले यातायातको दिगो भविष्यतर्फ टेवा पुगाउने विश्वास लिइएको छ ।

सनलङका मोडलहरु

सनलङ यु१ (१२ सिटर)

चीनको सनलङ ब्रान्डअन्तर्गतको नयाँ विद्युतीय माइक्रोभ्यान मोडल ‘यु१’ नेपाली बजारमा प्रवेश गरेको छ । सार्वजनिक यातायात तथा व्यावसायिक प्रयोजनका लागि लक्षित गर्दै ल्याइएको यो १२ सिटर माइक्रोभ्यान आधुनिक सुविधा र प्रविधिसहित आएको छ ।

यु१ मा ४६.३६ किलोवाट आवर क्षमताको लिथियम ब्याट्री जडान गरिएको छ । जसले एक पटकको फुल चार्जमा अधिकतम ३२५ किलोमिटरसम्मको दायरा तय गर्न सक्ने कम्पनीको दाबी छ । ८० किलोवाट क्षमताको शक्तिशाली मोटरले यो माइक्रोभ्यानलाई शहरी तथा उपत्यकाका विभिन्न भौगोलिक अवस्थाहरूमा सजिलै चलाउन सक्ने बनाएको छ । यस गाडीमा यात्रुहरूको सहजता र सुरक्षालाई प्राथमिकतामा राखेर एलसीडी ड्यासबोर्ड, युएसबी चार्जिङ पोर्ट, एयर कन्डिसनर, रिभर्स पार्किङ सेन्सर तथा क्यामेरा, एबीएस र ईबीडी प्रणाली जस्ता सुविधा समावेश गरिएको छ ।

शानदार डिजाइन, दिगो प्रविधि र प्रयोगकर्तामैत्री अनुभवसहितको यो माइक्रोभ्यान नेपाली बजारमा झण्डै ४७ लाख ४७ हजार रुपैयाँ मूल्यमा उपलब्ध छ । विद्युतीय सवारीको विकल्प खोज्ने व्यवसायिक प्रयोगकर्ताहरूका लागि यो मोडल नयाँ अवसरको ढोका खोल्ने विश्वास गरिएको छ ।

सनलङ यु२ (१३ सिटर)

सनलङको अर्काे मोडल हाे, यु२ नयाँ १३ सिटर माइक्रोभ्यान । यो मोडल कम्पनीको अघिल्लो मोडल यु१ को तुलनामा केही ठूलो र उन्नत विशेषतासहित बजारमा ल्याइएको हो ।

सनलङ यु२मा ५०.२३ किलोवाट घण्टाको क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा ३५० किलोमिटरसम्मको यात्रा गर्न सक्ने दाबी गरिएको छ । यसमा ८० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । जसले गाडीलाई अझ बलियो बनाएको छ । सिट संख्या र ब्याट्रीको क्षमता युएनभन्दा बढी भएकाले यो मोडल लामो दूरीको यात्राका लागि अझ उपयुक्त मानिएको छ ।

यस मोडलमा यु१ का धेरैजसो विशेषताहरू समेटिएको भए पनि थप सुविधा र क्षमताका कारण यो मोडल थप आकर्षक देखिएको छ । कम्पनीले सनलङ यु२ को मूल्य करिब ५१ लाख ५१ हजार रुपैयाँ तोकेको छ । यी दुई वटै ईभी भ्यानहरु साउन २१ गते देखि सुरु हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा लन्च हुँदैछन् ।

सनलङ ईभियु –३

ब्लू कर्पाेरेसन प्रालिले नेपालमा नयाँ विद्युतीय कार्गाे भ्यान सनलङ ईभियु– ३ सार्वजनिक गरेको छ । सनलङ ईभियु– ३ मा ७० किलोवाट क्षमताको मोटर र ४२ किलोवाट आवर क्षमताको लिथियम आयरन फस्फेट ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार, यो भ्यानले एकपटकको फूल चार्जमा २८६ किलोमिटर दूरी तय गर्न सक्छ ।

भौतिक आकारका हिसाबले, ईभियु ३ को लम्बाई ४ हजार ९९५ मिमी, चौडाई १,६६५ मिमी, उचाइ १ हजार ८२० मिमी र ह्वीलबेस ३,०५० मिमी रहेको छ । कार्गाे क्षेत्रको लम्बाई ३ हजार १५५ मिमी, चौडाई १ हजार ५४० मिमी र उचाइ ३३० मिमी रहेको छ । यसले अधिकतम १.४ टन भारवहन गर्न सक्छ ।

भ्यानको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा छ भने ग्राउन्ड क्लियरेन्स १८० मिमी रहेको छ। मोटर र ब्याट्रीमा कम्पनीले ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ । कम्पनीले यसको सुरुवाती मूल्य ३१ लख ४५ हजार रुपैयाँ तोकेको छ ।

Logo