काठमाडाैं ।
सरकारले शुक्रबार गैरकानूनी रुपमा लामो समयदेखि नेपालमा वसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट र यमनका मोहम्मेद इस्माइल अम्मेद ओबाडीन र नसीम इस्माइल अम्मेद ओबाडीनलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
उनीहरुले बुझाउनु पर्ने बिलम्ब शुल्क मिनाहा गरी फिर्ता पठाउन लागिएको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका थिए ।
यी नागरिकले नेपालमा भिसाको अवधि सिधिए पनि लुकीछिपी नेपाल बसेका थिए । अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले २० हजार डलर जरिवाना तिर्नु पर्ने भएको सात हजार मात्र तिर्न सक्ने बताएकोले अरु शुल्क मिनाहा गरिदिएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।
यसै गरी यमनका नागरिकको हकमा पनि पाँच हजार डलर मिनाहा गरेर निस्कासन गर्ने निर्णय भएको हो । विदेशी नागरिक भिसाको अवधि सकिए पछि जरिवाना तिर्न सक्नेको हकमा अध्यागमनले निष्कासन गर्छ भने जरिवाना तिर्न नसक्ने नागरिकको हकमा भने मन्त्रिपरिषद्को निर्णयले शुल्क मिनाहा गरेर मात्रै अध्यागमनले नेपालबाट निस्कासन गर्न पाउँछ ।
यी नागरिक लामो समयसम्म नेपालमा अध्यागमनको नियन्त्रणमा रहेका र विरामी भएर सिकिस्त समेत रहेकोले कति दिन नेपालमा पालेर राख्ने भन्दा शुल्क मिनाहा गरेर पठाउँदा उचित देखिएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।
नेपालको बसाईमा उनीहरुले अरु कुनै खालका अपराधिक गतिविधिका संलग्न नरहेको देखिएको समेत उनले बताए । उनीहरु विदेशी सामान्य नागरिक हुन् । पछिल्लो समय नेपालमा गैरकानुनी रुपमा नेपाल बस्ने विदेशी नागरिकको संख्या बढीरहेको बताईन्छ ।
यसरी नेपालमा विगत पाँच वर्षको अवधिमा गैरकानुनी गतिविधिमा संलग्नहरु मध्ये ५३६ जना विदेशी नागरिक निस्कासित भएका छन् ।आफनो देशमा विभिन्न घरायसी झै झगडा लगायत आर्थिक रुपमा टाट पल्टिएपछि नेपालमा पर्यटन भिसामा आएर बिभिन्न अपराधिक गतिविधिका संलग्न रहनेको संख्या पनि धेरै रहेको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारी बताउँछन् ।
कोही नेपालमा सस्तो खाना, बस्न पाईने भएको र पारिवारिक रुपमा बिछिप्त भएर नेपाल आएर बस्ने गरेको पाइएको छ । केही मानसिक सन्तुलन बिग्रेका पनि यहाँ आएर झै झगडा गर्ने मानव अधिकार उल्लंघन भयो भनेर भिसाको म्याद सकिए पनि वेवारिसे भएर बस्ने गरेका भेटिने गरेको अध्यागमन विभागको भनाई छ ।
नेपालमा आएर आर्थिक बर्ष २०७१–२०७२ देखि आव २०७५–२०७६ विभिन्न अपराधमा संलग्न भई ४७४ जना निष्कासित भएको अध्यागमन मुद्दा शाखाले जनाएको छ । यी अपराधमा संलग्न भई अदालतबाट सजाय भुक्तानी पछि निकासित गरेको संख्या हो । तर भिसाको म्याद सिधिएर पनि लुकिछिपी बस्नेको विदेशी प्रत्येक बर्ष बढीरहेको अध्यागमन विभागको भनाई छ ।
यसै गरी २०१९ मात्रै एक बर्षको अवधिमा ५७८ जना ओभरस्टे बसेका विदेशी नागरिकलाई नेपालबाट निष्कासित गरिएको विभागले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ । अध्यागमनको हिसावले गैरकानुनी दुई थरीका हुने गर्छन् । एक थरी लागुऔषध, बैंकिङ कसुर, विद्युतीय अपराध, सुन चोरी पैठारी, अवैध हुन्डी कारोवार, खोटा चलन, जाली राहदानी अपराधमा परेकालाई अदालतले कैद सजाय भुक्तान गरे पछि देशबाट अध्यागमनले निस्कासन गर्छ ।
अर्कोथरी अपराध केहि गर्दैन्न तर नेपालमै भिसाको म्याद सिधिएको भएता पनि लुकीछिपी नेपालमै बस्छन् नेपाल प्रचलित कानुनले पर्यटक भिसा लिएर १५० दिन भन्दा बढी दिन बस्न नपाइने विभागका विर्देशक तिवारी बताउँछन् । भिसाको म्याद सिधिए पनि नेपालमै बस्ने विदेशी नागरिकलाई अध्यागमनले कानुन बमोजिम जरिवाना तिराएर निष्कासित गर्ने गर्छ ।गोरखापत्रबाट





























प्रतिक्रिया