काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको खडेरीले मारमा परेकाे अन्नको भण्डार मानिने मधेश प्रदेशका खेतमा हालैको वर्षाले फेरि धान रोपाइँ सुरु भएकाेमा खुसी व्यक्त गरेका छन् ।
उनले केही दिनभित्रै सबै खेतबारीमा हरियाली छाउने र किसानका सपनाहरू साकार हुने विश्वास व्यक्त गरेका छन्।
केही समयअघि तराईको भ्रमणमा गएका प्रधानमन्त्री ओलीले खडेरीले रोपाइँ गर्नै नसक्ने अवस्था र रोपिएका धानका बिरुवा पानीको अभावमा सुक्न थालेको अवस्था देखेका थिए। किसानहरूको पीडा, पसिना र सपना माटोमै सुक्न लागेको देखेर सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीका अनुसार, सरकारले तत्कालको समस्या समाधानका लागि ५०० वटा डीपबोरिङ जडान गर्ने काम सुरु गरिसकेको छ। साथै, दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको कामलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको छ।
उनले हालैको वर्षाले फेरि हरियाली फर्काउन थालेकोमा खुसी व्यक्त गरे। “पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ। वर्षाले फेरि हरियाली फर्काउन थालेको छ,” उनले भने। उनका अनुसार साउन २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ। “केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ,” उनले थपे।
प्रधानमन्त्रीले आगामी वर्षदेखि आकासे वर्षाको भर पर्नु नपरोस् भनेर सिँचाइको स्थायी समाधान खोज्ने सरकारको दृढ संकल्प रहेको बताए। उनले किसानको मुस्कान, जमीनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्य सुनिश्चित गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गरे।































प्रतिक्रिया