नेपालका १० ठूला बैंकको लेखा परीक्षण गर्ने जिम्मा बंगलादेशी फर्मलाई, आगामी भदौदेखि काम सुरु हुने

नेपालका १० ठूला बैंकको लेखा परीक्षण गर्ने जिम्मा बंगलादेशी फर्मलाई, आगामी भदौदेखि काम सुरु हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकका १० वटा ठूला वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने जिम्मा बंगलादेशको प्रतिष्ठित लेखा परीक्षण फर्म ‘हाउलादार युनुस एन्ड कम्पनी’ लाई दिएको छ। हाउलादारले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी भदौदेखि सुरु गर्ने भएको छ ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित कर्जा लिँदा गरिएको सम्झौताको सर्त अनुसार यो लेखा परीक्षण गर्न लागिएको हो। राष्ट्र बैंकले यसै साता हाउलादार युनुस एन्ड कम्पनीसँग औपचारिक सम्झौता गर्ने तयारी गरेको छ, जसपछि आगामी भदौ महिनादेखि लेखा परीक्षणको काम सुरु हुनेछ। यस सम्पूर्ण प्रक्रियाका लागि करिब ४ करोड ३५ लाख रुपैयाँ लागत लाग्नेछ।

पहिलो पटक अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट लेखा परीक्षण गराउन प्रक्रिया सुरु गर्दा असफल भएको थियो । त्यसपछि केन्द्रीय बैंकले पुस २०८१ देखि पुनः दोस्रो पटक फर्म छनोट प्रक्रिया सुरु गरेको थियो ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार, यो लेखा परीक्षण दशैंतिहारअघि नै सुरु गरिनेछ। यसका लागि २२ जना दक्ष जनशक्ति र राष्ट्र बैंकका २ जना कर्मचारीसमेत गरी कुल २४ जनाको टोली परिचालन हुनेछ। हरेक बैंकमा २ जना लेखा परीक्षक र २ जना राष्ट्र बैंकका कर्मचारीले काम गर्नेछन्।

अन्तर्राष्ट्रिय स्तरको बैंकिङ कारोबार गर्ने संस्थाका सन्दर्भमा भन्दा सम्पत्तिको गुणस्तर कमजोर भएका र प्रुडेन्ट बैंकिङ अभ्यास अनुशरण नगरेका बैंकलाई प्राथमिकतामा राखिने केन्द्रीय बैंकले जनाएको छ । आईएमएफले लामो समयदेखि नेपाली बैंकिङ क्षेत्रको खराब कर्जाको सही अंशमाथि प्रश्न उठाउँदै आएको थियो र ‘कर्जाको एभरग्रिनिङ’ गरेको आरोपसमेत लगाउँदै आएको थियो। यो लेखा परीक्षणले ती आरोपहरूको यथार्थता पत्ता लगाउनुका साथै बैंकिङ क्षेत्रको पारदर्शिता र विश्वसनीयता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राष्ट्र बैंकको छ।

Skip This
Skip This
Logo