काठमाडौं। प्रभु बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ४४ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई वित्तीय बजारमा बलियो रूपमा उभ्याएको छ। अघिल्लो आर्थिक वर्षमा ५१ करोड ९ लाख रुपैयाँ मात्र नाफा गरेको बैंकको यो वृद्धि १० गुणाभन्दा बढी हो। बैंकको आम्दानी घटे पनि नाफामा वृद्धि हुनुको मुख्य कारण भने ‘प्रोभिजनिङ राइटब्याक’ हो। यसअन्तर्गत बैंकले सम्भावित नोक्सानीका लागि छुट्याएको रकम फिर्ता गरेको छ।
गत वर्ष बैंकले २ अर्ब ५१ करोड १५ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ । जुन अघिल्लो वर्ष ४ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ प्रोभिजन गरेको तुलनामा निकै कम हो। बैंकको खुद ब्याज आम्दानी भने घटेर ७ अर्ब १९ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यो ११ अर्ब ८९ करोड ९ लाख रुपैयाँ थियो।
खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १२ करोड २६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष १ अर्ब ९१ करोड ५ लाख रुपैयाँ थियो। खुद सञ्चालन आम्दानी पनि बढेर १३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
नाफामा आएको यो ठूलो वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि भारी सुधार भएको छ। अघिल्लो वर्ष २ रुपैयाँ ४७ पैसा रहेको ईपीएस यो वर्ष २३ रुपैयाँ १२ पैसा पुगेको छ। यद्यपि, बैंकको सञ्चित घाटा घटाएपछि वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ मात्र रहेको छ। बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २५ लाख रुपैयाँका आधारमा लाभांश क्षमता ४.४४ प्रतिशत रहेको छ। खुद ब्याज आम्दानीमा आएको गिरावट र सञ्चित घाटाको प्रभावले लाभांश वितरण क्षमतामा भने खासै सुधार देखिएको छैन ।
बैंकले निक्षेप र कर्जा दुवैमा वृद्धि गरेको छ। निक्षेप ३७ अर्ब रुपैयाँले बढाएर ३ खर्ब ४२ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा ९ अर्ब रुपैयाँले बढाएर २ खर्ब ३० अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ। यता, निष्क्रिय कर्जा ४.९६ प्रतिशतमा सामान्य वृद्धि भएको छ। बैंकको प्राथमिक पुँजी अनुपात पनि ८.७० प्रतिशतबाट बढेर १०.१९ प्रतिशत पुगेको छ। प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६० रहेको छ।































प्रतिक्रिया