नाडा अटो शोको सबैभन्दा सस्तो कार जिनपिङ लिङबक्स ईसी-०१, यस्ता छन् विशेषता

नाडा अटो शोको सबैभन्दा सस्तो कार जिनपिङ लिङबक्स ईसी-०१, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
24
Shares

काठमाडौंको भृकुटीमण्डपमा जारी १७औं संस्करणको नाडा अटो शो २०२५ मा सबैभन्दा सस्तो जिनपिङ ब्राण्डको लिङबक्स ईसी-०१ ह्याचब्याक कारले सबैको ध्यान आकर्षित गरेको छ । किफायती मूल्य र बलियो फिचरले गर्दा यो गाडीले अवलोकनकर्ताहरूको ध्यान खिचेको हो। यो विद्युतीय कार ठाकुर मोटर्सले नेपाल भित्र्याएको हो।

जिनपिङ लिङबक्स ईसी-०१ बेसिक र प्रिमियम गरी दुई फरक भेरियन्टमा उपलब्ध छ। यसको बेसिक भेरियन्टको मूल्यसुरुवाती मूल्य १८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने प्रिमियम भेरियन्टको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोमा बुकिङ्ग गर्ने ग्राहकले दुवै भेरियन्टमा १ लाख रुपैयाँको विशेष नगद छुट प्रदान गरेको छ ।

नेपाली बजारमा विद्युतीय कारको बढ्दो माग र उच्च मूल्यका बीचमा लिङबक्स ईसी-०१ ले प्रतिस्पर्धात्मक मूल्य ल्याएर धेरैका लागि पहुँचयोग्य बनाएको छ।

के-के छन् विशेषता ?

विद्युतीय कारको लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको ब्याट्री हो। जिनपिङ लिङबक्स ईसी-०१ को बेसिक भेरियन्टमा १९.२ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री छ, जसले एनईसीडी रेन्ज अनुसार २४० किलोमिटरको दूरी तय गर्न सक्छ। त्यस्तै, प्रिमियम भेरियन्टमा ३१.४५ किलोवाट आवरको ठूलो ब्याट्री छ, जसले ३४० किलोमिटरको रेन्ज दिन्छ। यसको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा छ। यसमा ३५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ। जसले सहरको ट्राफिकमा सहजै गुड्न सक्ने पावर प्रदान गर्छ। यसलाई चार्ज गर्नको लागि ३.३ किलोवाटको एसी चार्जर र ४० किलोवाटसम्मको डीसी चार्जर प्रयोग गर्न सकिन्छ, जसले गर्दा लामो यात्रामा पनि चार्ज गर्न सजिलो हुन्छ।

यो ह्याचब्याक कारको डिजाइन कम्प्याक्ट भए पनि भित्र पर्याप्त ठाउँ रहेको छ। यसको लम्बाइ ३५८४ एमएम, चौडाइ १४७५ एमएम र उचाइ १६६६ एमएम छ। २४५५ एमएमको लामो ह्वीलबेसले भित्र बस्ने यात्रुहरूलाई पर्याप्त लेग स्पेस प्रदान गर्छ। १५ इन्चको आकर्षक अलोय ह्वीलले यसको लुक्सलाई अझ राम्रो बनाएको छ। यसमा २९३ लिटरको कार्गो स्पेस छ, जुन सानो ह्याचब्याकका लागि पर्याप्त मानिन्छ। साथै, कम्पनीका अनुसार यसको ग्राउण्ड क्लियरेन्स २०० एमएम छ, जसले नेपालको सडकको अवस्थालाई ध्यानमा राख्दा निकै उपयोगी साबित हुन सक्छ। यो ग्राउन्ड क्लियरेन्सले यसलाई सहरका खाल्डाखुल्डी सडकहरूमा पनि सहजै चलाउन मद्दत गर्छ।

सुरक्षाका हिसाबले पनि लिङबक्स ईसी-०१ ले केही महत्त्वपूर्ण फिचरहरू समावेश गरेको छ। यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा ड्रम ब्रेक प्रयोग गरिएको छ। दुवै भेरियन्टमा एबीएस (एन्टी-लक ब्रेकिङ सिस्टम) जडान गरिएको छ, जसले आपतकालीन अवस्थामा पनि गाडीलाई नियन्त्रणमा राख्न मद्दत गर्छ। सस्पेन्सनको कुरा गर्दा, अगाडि म्यक्फर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन प्रयोग गरिएको छ, जसले आरामदायी यात्राको सुनिश्चितता गर्छ।

हाल प्रदर्शनीमा रहेको कारमा फेब्रिक सिटहरू भए पनि, कम्पनीका अनुसार यसको बिक्री सुरु हुँदा लेदर सिट उपलब्ध गराइनेछ। यसमा म्यानुअल एड्जस्टेबल सिट रहेको छ। पछिल्लो सिटमा पनि पर्याप्त स्पेस भएकोले यात्रुहरूले आरामदायी यात्रा गर्न सक्छन्। यसबाहेक, गाडीमा रोटरी डायल गियर नब, इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल क्लस्टर जस्ता आधुनिक फिचरहरू पनि छन्, जसले गाडीलाई थप आकर्षक र प्रयोगकर्तामैत्री बनाएको छ।

जिनपिङ लिङबक्स ईसी-०१ ले नेपाली बजारमा सस्तो मूल्यमा उच्च रेन्ज र आवश्यक फिचरहरूको राम्रो संयोजन प्रदान गरेको छ। यसले नेपालमा विद्युतीय गाडीको बजार विस्तार गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने सम्भावना छ। यसको किफायती मूल्य र प्रभावकारी फिचरहरूले यसलाई नयाँ कार खोज्ने ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्पको रूपमा स्थापित गरेको छ।

Skip This
Skip This
Logo