ईभीको गुणस्तर र पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिन आवश्यक छ -सीईओ राजनबाबु श्रेष्ठ

ईभीको गुणस्तर र पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिन आवश्यक छ -सीईओ राजनबाबु श्रेष्ठ

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । सिप्रदी ग्रुपका सीईओ तथा नाडा इलेक्ट्रिक भेइकल कमिटीका सभापति राजन बाबु श्रेष्ठले नेपालमा विद्युतीय सवारी (ईभी) को गुणस्तर र पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक आइतबार ललितपुरस्थित द प्लाजामा भएकाे ‘केन्द्रबिन्दु ईभी बज‍-पोलिसी डिस्कोर्स २०८२’का अवसरमा उनले यस्ताे बताएका हुन् ।

उनले हालसम्म ईभीले यात्रुवाहक र व्यावसायिक खण्डमा राम्रो प्रदर्शन गरे पनि दुईपाङ्ग्रे सवारीसाधनमा भने सोचेजस्तो सफलता पाउन नसकेको स्वीकार गरे।

“अटो पोलिसी डिस्कोर्स – सवारी क्षेत्रको भविष्यबारे साझा बहस” शीर्षककाे प्यानल डिस्कसनमा श्रेष्ठले ईभीसँग सम्बन्धित आफ्टर सेल्स सर्भिस र सुरक्षाको विषयमा उठेका गुनासोहरू जायज भएको बताए । उनले भने, “धेरै कम्पनीहरूले आफ्टर सेल्स सर्भिसको नेटवर्क बनाएका छन्, तर सबैले बनाएका छैनन्। काठमाडौंमा धेरै सवारी साधन भएकाले यो समस्या कम देखिए पनि बाहिरका लागि यो ठूलो समस्या हुन सक्छ।”

उनले चार्जिङ स्टेशनको संख्या बढे पनि सर्भिस नेटवर्कको कमी रहेको औंल्याए। उनका अनुसार, नेपालमा आउने ईभीका लागि एउटा निश्चित मापदण्ड र निर्देशिका बनाउन जरुरी छ ताकि कुनै पनि उत्पादनले राम्रो प्रदर्शन गर्न सकोस्।

सीईओ श्रेष्ठले ईभी उद्योगको दिगो विकासका लागि नीति बनाउँदा सबै पक्षसँग छलफल गर्नुपर्नेमा जोड दिए । उनले नाडाको तर्फबाट सरकारसँग दुई चरणमा छलफल भइसकेको र यो एकदमै सकारात्मक रहेको बताए। उनले भने, “गुणस्तरमा कुनै सम्झौता हुनु हुँदैन। सवारी साधनको जाँच र प्रमाणीकरणका लागि कसरी काम गर्ने भन्ने विषयमा पनि नीति बन्नु आवश्यक छ।”

उनका अनुसार, हाल ईभीको पहुँच ६ प्रतिशत मात्र छ र यसलाई बढाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ । नेपालमा ईभीको भविष्य उज्ज्वल भए पनि यसका लागि नीतिगत स्पष्टता, बलियो पूर्वाधार र गुणस्तरीय सेवाको सुनिश्चितता हुनुपर्नेमा उनले जोड दिए।

Logo