काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालै जेनजी आन्दोलनका क्रममा उद्योग–व्यवसायमा भएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै मुलुकको निजी क्षेत्रलाई हौसला र आत्मबलका साथ पुनर्निर्माणमा जुट्न आह्वान गरेका छन्।
भदौ २३ र २४ गते जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घुसपैठले देशभरका उद्योग, व्यवसाय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। यस्तो प्रतिकूल परिस्थितिमा पनि उनले उद्यमी–व्यवसायीहरूलाई नआत्तिन, नथाक्न र पुनर्निर्माणको नयाँ अवसरका रूपमा अघि बढ्न प्रेरित गरेका छन्।
अध्यक्ष ढकालले आफ्नो व्यवसायिक यात्रा शून्यबाट सुरु भएको स्मरण गर्दै भने, “मसँग ठूलो पुँजी थिएन, तर सपना र मेहनत थियो। इमान्दारिता र निरन्तरताले हाम्रो सानो गोरेटोलाई आज फराकिलो राजमार्ग बनाएको छ।”
उनले आफ्नो व्यवसाय विस्तारमा रोजगारी सिर्जना, स्थानीय साझेदारी र मुलुकको समृद्धिको भावनालाई प्राथमिकता दिएको बताए । “हाम्रा आयोजनाहरूमा स्थानीय र सर्वसाधारणको अपनत्व छ। हामीले २० हजारभन्दा बढी नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई रोजगारी दिएका छौं, जुन हाम्रो गर्वको विषय हो,” उनले थपे ।
हालैको आगजनी र तोडफोडका कारण अर्बौंको क्षति भएको र हजारौंको रोजगारी संकटमा परेको उल्लेख गर्दै ढकालले भने, “यो केवल भौतिक सम्पत्तिको क्षति मात्र होइन, यो हाम्रो मन, समर्पण र सपनामाथिको चोट हो। अब हाम्रो धैर्यता, मेहनत र साहस नै हाम्रो वास्तविक सम्पत्ति हो। आगोले हाम्रो आत्मबल जलाउन सक्दैन ।”
“हामीले हरेक संकटलाई अवसरमा बदल्दै आएका छौं। अहिले पनि हामी खरानी टक्टकाएर उठ्नेछौं,” उनले थपे । उनले नयाँ पुस्तालाई निजी क्षेत्रको महत्व बुझाउनुपर्ने बताउँदै भने, “निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन हो। यो बिना समृद्धि सम्भव छैन।”
उनले सबै उद्यमी–व्यवसायीहरूलाई एकजुट भएर पुनर्निर्माणमा लाग्न र मुलुकको आर्थिक सुधारमा योगदान गर्न आह्वान गरे । “आगोले इँटा र काठ जलाए पनि तपाईं हामीभित्रको हौसला र आत्मबल छँदै छन् । हाम्रो साहस र आत्मबलले भविष्यको पुस्तालाई प्रेरणा दिनेछ। हामीले सुनौलो नेपालको मार्गचित्र कोर्नुछ,” उनले भने।





























प्रतिक्रिया