काठमाडौं । जेन-जी प्रदर्शनका कारण चन्द्रागिरि केबलकारमा ठूलो क्षति पुगेको छ। प्रदर्शनकारीले मंगलबार केबलकारको बटम स्टेशनमा तोडफोड र आगजनी गरेपछि सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।
यसैबीच चन्द्रागिरि हिल्स लिमिटेडले चाँडै नै सेवा सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ । कम्पनीले चन्द्रागिरि केबलकार कुनै एकल व्यक्तिको लगानी नभई लाखौँ शेयरधनीको साझा सम्पत्ति भएको पनि स्पष्ट पारेकाे छ ।
विज्ञप्तिमा भनिएको छ, “हामी सबैलाई थाहा छ, चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था होइन। यो पब्लिक लिमिटेड कम्पनीका रूपमा लाखौँ शेयरधनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति तथा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्ने पवित्र सपनाको जगमा स्थापित भएको संस्था हो। नेपालको पर्यटन प्रवद्र्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्त्वपूर्ण योगदान पु-याउँदै आएको छ ।”
“हाम्रो अठोट कमजोर भएको छैन। यहाँहरूको सद्भाव र सहयोगले पर्यटन विकासमार्फत देशको मुहार फेर्ने हाम्रो सपना र अठोट अझै मजबुत बनेको महसुस गरेका छौँ।” थप भनिएकाे छ ।
कम्पनीले चाँडै नै सेवा सुचारु गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस कठिन समयमा सहयोग गर्ने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति आभार प्रकट गरेको छ। साथै, पर्यटक र दर्शनार्थीलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ।
कम्पनीले आगामी दिनमा व्यावसायिक वातावरण सहज बन्ने अपेक्षासहित थप लगानी र रोजगारी सिर्जना गर्न प्रतिबद्ध रहेको विश्वास दिलाएको छ।





























प्रतिक्रिया