आन्दाेलनमा घर र स्टाफ जलेपछि ध्रुव थापाको पीडा- ‘सबै उत्साह खरानी भयो’

आन्दाेलनमा घर र स्टाफ जलेपछि ध्रुव थापाको पीडा- ‘सबै उत्साह खरानी भयो’

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष ध्रुव थापाले हालैको जेनजी पुस्ताकाे प्रदर्शनमा भएका घटनामा आफ्नो घरमा भएको आगजनी र त्यसमा आफ्नो परिवारकी एक सदस्यको मृत्यु भएपछि गहिरो पीडा व्यक्त गरेका छन्।

उनले आफू र आफ्नो परिवार राजनीतिक वा भ्रष्ट नभएको र व्यवसायबाट मात्रै कमाएको प्रस्ट पारेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत भनेकी छन्, “आज आफू बस्ने घर अफिस जलाइँदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्।”

उनले यो घटनापछि नेपालमा व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागेको दुखेसो पोखेका छन् । उनले आफ्नो ३५ वर्षको मेहनत र पसिना एकैछिनमा खरानी भएकोमा चिन्ता व्यक्त गरे।

निवर्तमान अध्यक्ष थापाले घर जलेको पीडाभन्दा पनि आफ्नो घरमा काम गर्ने बहिनीलाई गुमाएकोमा धेरै पीडा भएको बताए। उनले भने, “हाम्रो परिवारकै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ।” घटना हुनु केही क्षणअघि मात्रै सबै परिवारलाई खाना खुवाएकी ती बहिनीलाई बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिएको कुराले उनलाई स्तब्ध बनाएको छ। उनले यस घटनामा संलग्न क्रूर अपराधीहरूलाई राजनीतिक आवरणमा उन्मुक्ति दिन नहुने माग गरेका छन्।

विज्ञप्तिमा, थापाले आफ्नो दाजु बिन्दु थापालाई हालको आन्दोलनसँग जोडेर लगाइएका आरोपको खण्डन गरेका छन्। उनले दाजु सफल व्यवसायी भएपछि मात्र राजनीतिमा लागेको र राजनीति गर्नु अपराध नभएको बताएका छन्। बिन्दु थापामाथि लागेको भ्रष्टाचारको आरोपलाई उनले ‘निराधार र कपोलकल्पित’ बताएका छन्। उनले भने, “उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो।”

थापाले आफ्नो परिवार पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा नरहेको र देश निर्माणमा पनि योगदान रहेको दाबी गरेका छन्। उनले दाजु बिन्दु थापाले सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि दान गर्दै आएको जानकारी दिएका छन्। उनले दाजुलाई ‘स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये एक’ भएको पनि बताएका छन्।

Skip This
Skip This
Logo