काठमाडौँ । दसैं नजिकिएसँगै आजदेखि सहुलियत पसल सुरु भएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरमा यो पसल सुरु भएको हो ।
खाद्य कम्पनीले अघिल्ला वर्षहरूझैं तामझाम नगरी साधारण रूपमा बिक्री वितरण सुरु गरेको छ । जेनजीको आन्दोलनका क्रममा थापाथली क्षेत्रमा भएका तोडफोड र आगजनीका घटनाले विभिन्न व्यवसायमा क्षति पुगे पनि सहुलियत पसलको तयारी भने प्रभावित नभई सम्पन्न भएको कम्पनीले जनाएको छ ।
यो पसलमार्फत चामल, दाल, तेल, चिनी, नुनलगायतका आधारभूत वस्तुहरू सहुलियत मूल्यमा उपभोक्तालाई उपलब्ध गराइनेछ । दसैं–तिहारका लागि विशेष रूपमा तयारी गरिएको यो व्यवस्था चाडपर्वमा मूल्यवृद्धि रोक्न र उपभोक्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको हो ।
जेनजी आन्दोलन भदौ २३ गतेदेखि देशव्यापी रूपमा सुरु भएको हो, जसमा युवा पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्धको विरोध गर्दै प्रदर्शन गरेका थिए । खाद्य कम्पनीले आन्दोलनका कारण पसल सञ्चालनमा कुनै अवरोध नदेखिएको बताएको छ ।
अघिल्ला वर्षहरूमा यस्ता पसलहरूमा ठूलो भीडभाड र उद्घाटन समारोह हुन्थ्यो, तर यस वर्ष आन्दोलनको प्रभावले सादगीपूर्ण रूपमा सुरु गरिएको छ । उपभोक्ताहरूलाई तोकिएको समय र कोटामा मात्र सामान उपलब्ध गराइने कम्पनीले जनाएको छ। आन्दोलनको प्रभावका कारण खाद्य कम्पनीले अघिल्ला वर्षझैँ तामझाम नगरी बिक्री वितरण सुरु गरेको छ।































प्रतिक्रिया