काठमाडाैं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शपथ ग्रहण गरे लगत्तै उनले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका हुन् ।
खनालले भने, ‘अर्थतन्त्रका मुख्य संवाहक निजी क्षेत्रको मनोबल कम हुन दिँदैनौं । कर्जा पहुँच, विश्वास र उद्यमशीलता प्रवर्द्धनमार्फत यसलाई उकास्न सरकार प्रतिबद्ध छ ।’ उनले आफ्नो नेतृत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगले तयार पारेको ४४७ पृष्ठको प्रतिवेदनलाई आधार मानेर तत्कालीन र दीर्घकालीन सुधारका कदम चाल्ने जनाए ।
प्रतिवेदनमा सहकारीमा फसेका सर्वसाधारणको बचत फिर्ता, सार्वजनिक खर्च नियन्त्रण र निजीकरणमार्फत उत्पादन वृद्धिलाई प्राथमिकता दिइएको छ ।
जेनजी आन्दोलनका कारण ढलेका भवनहरू पुनर्निर्माण, बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनका चुनौतीहरू रहेको भन्दै खनालले अन्तरिम सरकारको ६ महिने कार्यकालमा आर्थिक स्थिरता कायम गर्ने लक्ष्य रहेको उल्लेख गरे । ‘निजी क्षेत्रलाई राज्यबाट चाहिने सहयोग उपलब्ध गराउनेछौं,’ खनालको भनाई छ ।
पूर्व अर्थसचिवका रूपमा लामो समय अर्थ मन्त्रालयमा कार्यरत खनाललाई प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय मन्त्रिपरिषद्मा अर्थमन्त्री बनाएकी हुन्।





























प्रतिक्रिया